स्वास्थ्य अधिकार परियोजनाले देखायो समाज सुधारमा सकारात्मक प्रभाव

नजिक न्युज संवाददाता    

स्वास्थ्य अधिकार परियोजनाले देखायो समाज सुधारमा सकारात्मक प्रभाव

बाजुरा :  स्वास्थ्य अधिकार सुधार परियोजनाका कारण सामाजिक रुपान्तरण र सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव देखिएको छ । परियोजनाले सार्वजनिक गरेको बार्षिक प्रगति विवरणका आधारमा सामाजिक जागरण र किशोरीको सचेतना अभिवृद्धिमा उल्लेख्य सुधार भएको देखिएको छ । 

कोइका, पीसविन, किडाक र जिएनआइ को सयुक्त सहकार्यमा सञ्चालन परियोजना जिल्लाका पाँच वटा स्थानीय तहमा २ वर्ष देखि सञ्चालनमा छन् । स्वास्थ्य अधिकार किशोरी शिक्षा, महिलावारी स्वच्छता र सरसफाइका क्षेत्रमा कार्यरत परियोजनाले जिल्ला स्तरीय समीक्षा तथा योजना बैठक मार्फत प्रगति सार्वजनिक गरेको छ । 

पहिलो चरणमा तीन वर्षका लागि सञ्चालिन परियोजनाले १४ करोड, ४४ लाख ७१ हजार बजेट लगानी गर्ने जनाएको छ । विद्यालय, स्वास्थ्य संस्था सार्वजनिक सेवा क्षेत्रहरुमा सरसफाइ र स्वच्छताका लागि संरचना बनाउने, सचेता फैलाउने र शसक्तिकरणका अभियान सञ्चालन गर्ने कार्य गरिरहेको जिल्ला परियोजना संयोजक देवेन्द्र शाहले बताएका छन् ।

बाजुरा निर्वाचन क्षेत्र ख मा पर्ने पाँच वटा स्थानीय तहका ४१ वटा वडा, ४० वटा विद्यालय र १६ वटा स्वास्थ्य संस्थामा प्रत्यक्ष काम गरिरहेको छ । बिशेष गरि किशोरी जागरण र स्वास्थ्य अधिकारसँग सम्बन्धीत भएर काम गरिरहेको पीसविन महिनावारी स्वच्छता एमएएम परियोजना संयोजक महेशराज जैशीले बताएका छन् ।

नियमित सेनिटरी प्याडको प्रयोग, लजाउने बानीमा परिर्वतन, समस्या शिक्षकलाई बताउने विषयमा सुधार देखिएको छ । सहभागिले परियोजनाको निरन्तरता जरुरी रहेको र स्थानीय तहलाई थप जिम्मेवार बनाउनु पर्ने सुझाव दिएका छन् ।

परियोजनाले यो वर्षमात्र ६६ लाख बढीको स्वास्थ्य सुरक्षा सामाग्री मात्र स्वास्थ्य संस्था, विद्यालय र अन्य सर्वसाधारणलाई सहयोग गरेको छ । कोरोना जोखिम कम गर्ने अभियान देखि महिनावारी भएको समयको सुरक्षा, संरक्षण र सरसफाइ बारे काम गरिरहेको छ ।

सन् २०२२ सम्म सञ्चालन  हुने परियोजनाले त्यस पछिको कार्य योजना बारे पनि सरोकारवाला निकायसँग सुझाव लिएको छ । पाँच वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा विकास समन्वय इकाइ, सुरक्षा निकाय सरोकारवालासबैको उपस्थितिमा बैठक आयोजना गरिएको हो ।

परियोजना सल्लाहकार एवं कोरियन नागरिक जियोङ व्हा लीले जिल्लाको विकासमा बिशेष केटी मान्छेकलाई सँगसगै लैजानु पर्ने र त्यसका लागि परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । बडिमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले पीसविनले सञ्चालन गर्ने गतिविधीले न्याय र शसक्तिकरणको पक्षमा पनि सकारात्मक प्रभाव परेको बताएका छन् । 

कार्यक्रममा खप्तड छेडेदह शिक्षा शाखा प्रमुख सहीत जिल्ला शिक्षा विकास समन्वय इकाइका रमेश जनाल, पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह सहीतले कार्यक्रम बारे भनाई राखेका थिए । पीसविन कोषाध्यक्ष पार्वती जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण देवेन्द्र शाहले गरेका हुन्, भने सञ्चालन महेश जोशीले गरेका छन् ।



बिहिबार ०१, पुष २०७८ ०५:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.