घण्टाको जिन्दगी !

नजिक न्युज संवाददाता    

घण्टाको जिन्दगी !

कसैसंग समय रहेनछ आज
एक कविले कविता लेख्न छोड्यो समय नभएर
अर्को कविले कविताको आकार घटायो
पूरा कविता लेख्ने समय नभएर
पाठकले पढ्न छोडे 
पढ्ने समय नपाएर
विद्यार्थीले कक्षामा नोट गर्न सकेन
समय नभएर
यहाँ कसैलाई पनि समय छैन्
अब परोस रात होस चुपचाप ।।

कवि उमेश अवस्थी आदर्शका यी कविताका हरफले आजकाल समयको अभाव रहेको । दिनका २४ घण्टा पनि अपुग भएर कविले कविता लेख्न छोडे, लेखे पनि छोट्याउन थाले, पाठकले पढ्न छोडे, विद्यार्थीले नोट लेख्ने समय पाएनन् सवै सवैलाई समय अपुग भयो ! आखिर गर्न थाले के ? कसरी अपुग भयो समय ? हिजोका हाम्रा पुर्खाका लागि पनि त २४ घण्टा नै थियो सोही समयमा वेदव्यासले करिव १८ हजार श्लोक र १ लाख शब्द रहेको महाभारत ३ वर्ष अर्थात २५ हजार ९२० घण्टामा रचना गरे ।(महाभारत लेखन कार्य ईशा पूर्व ५०७८ वर्ष पूर्व प्रारम्भ गरी ५०८१ पूर्व लेखनकार्य सम्पन्न भएको मानिन्छ) त्यसपछीका समय पनि २४ घण्टा कै सदुपयोग गरी कयौं सिर्जना भएका छन् ।

कयौं आविस्कार गरिएका छन् । हामीलाई भने २४ घण्टाको समय अपुग भए जस्तो देखिन्छ । कोही कसैलाई मामाघर, ससुराली, गाउघर, विवाह, मलामी जाने फुर्सद छैन । जिन्दगी दिने बावुआमाको क्रियाकर्ममा बसेका छोराहरू घण्टा गनेर बसिरहेका देखिन्छन १३ कहिले पुग्ला भनेर । सडकमा गुड्ने सवारी साधन एम्वुलेन्सलाई ओभरटेक गर्दै दौडिदैछ । समय बचाउन हामी ज्यानको समेत प्रवाह नगरी कुदिरहेका छौ र पनि समय अभाव छ ।

बालक बाआमा आउने बाटो कुर्दाकुर्दै निदाउछ र विहान उठ्दा पनि बाआमा भेटदैन उनीहरू काममा हिडिसकेका हुन्छन । बुढा बाआमा छोराछोरी आउने बाटो कुर्दाकुर्दै स्वर्गवास हुन्छन र पनि छोराछोरीको मुख देख्न पाउदैनन् । आखिर गडबड कहां छ ? विकसित मुलुकका मान्छेहरू न्युनतम् ८ घण्टा काम गरेर खानलाउ पुर्याएकै छन् । महिनौं दिन घुम्न फिर्न हिडे कै छन् । उनीहरूको देशमा पनि उही २४ सै घण्टाको दिन हो । विदेश भएका साथीहरूलाई फोन गर्यो मेरो काम छ ९ देखि ५ सम्म ८ घण्टा त्यसपछी वटी हुन्छ भन्छन । हाम्रो पनि सरकारले कार्यालय समय निर्धारण गरेको छ १०–५ सम्म ( कार्तिक १५ देखि माघ १५ सम्म १०–४ सम्म) र अन्य निकायले पनि आफु अनुकुल समय निर्धारण गरेको पाइन्छ ।

समयको व्यवस्थापन
सामान्यतया २४ घण्टालाई ८ घण्टा काम, ८ घन्टा मनोरन्जन र ८ घण्टा आराम गरी ३ भागमा विभाजन गरेको देखिन्छ । अवस्था र कार्य प्रकृति अनुसार आ आफ्नै समय तालिका वनाउने प्रचलन पनि छ । कागजमा कोरिएको टाइम टेवल अनुसार हाम्रो दैनिकीको सुई घुमेको छ त ? छैन नि । हामी समय कटाउने मेसो खोजिरहेका हुन्छौं । दिनभर क्यारेम बोर्ड, तासपत्ती खेलेर लाजै नमानि चुल्हो बाल्ने बेला घर पस्ने कति छौं कति । कार्यालय जाने भनेर भट्टी पसेर हल्लिदै घर पस्नेको संख्या पनि कम छैन । हाम्रो औषत आयु ७१ वर्ष ( पुरूष ६९ र महिला ७२ वर्ष) ६ लाख १३ हजार ४४० घण्टा छ ।

कुल आयुको १६ वर्ष अर्थात १ लाख ३८ हजार २४० हुर्कदै सकिन्छ । उमेरको ६५ देखि ७१ सम्मको ६ वर्ष अर्थात ५१ हजार ८४० घण्टा मरणको पर्खाई खर्चिन्छौं भने हामीसंग बांकि रहने भनेको १६ देखि ६४ वर्षसम्मको ४९ वर्ष अर्थात ४ लाख २३ हजार ३६० घण्टा बांकी रहन्छ । जसमध्ये कुललाई ३ भाग लगाउदा १६ वर्ष ३ महिना अर्थात १ लाख ४१ हजार १२० घण्टा मात्र कामका लागि वांकी रहन्छ । सारा जिन्दगी भरका लागि चाहिने स्रोत साधनको जोह गर्ने समय यही हो । यही समयको उचित ब्यवस्थापन गरी उपयोग गर्न सक्नेहरूले मात्र समृद्वी हासिल गरेका हुन ।

समयको मौद्रिकरण
हाम्रो नेपालमा बिहान ठिक १०ः०० बजे लेखिएको कार्यक्रमको १ पछाडीको शुन्य हराएर ठिक १ः०० प्रारम्भ हुन्छ । कम्तिमा ३० जना सहभागी रहेको कार्यक्रममा १ जनाको ढिलाईका कारण २९ जनाको ३ घण्टा दरले ८७ घण्टा खर्च हुन्छ जो हालको न्यूनतम पारिश्रमिक १५ हजारको प्रतिघण्टा ५७७ का दरले ४५ हजार हुन जान्छ । बैठक वा भेलाका लागि निर्धारित समयमा नटुगिंने हो भने यसरी नै उत्पादनशील समय क्षय हुदै जान्छ । जसरी हामीले दिन कटाउने हालका फेसवुक, टिकटक, ट्विदर, ईन्स्टाग्राम लगायतका सामाजिक सन्जालमा जति समय व्यतित गर्यौ त्यति नै कोही न कोहीले कमाएका हु्न्छन र छन । हामीले ब्यतित गरेको समयलाई मौद्रिकृत गरी सदुपयोग गर्न जरूरी देखिन्छ ।

उपसंहार
हिजो हामीसंग घडी थिएन र पनि समय थियो साथी थिए तर आज सवैको हातहातमा घडी छ र पनि कसैसंग न समय छ न त साथी छन् । हाम्रालागि सवै हरेक दिनका सवै घण्टा उत्तिकै महत्वपूर्ण र अमुल्य छन । कुन घण्टा जिन्दगीको टर्निगं प्वाईन्ट हुन्छ कोही कसैलाई थाहा छैन ! कुन घण्टा हाम्रो अन्तिम हो त्यो पनि थाहा छैन । लगन हेरेर कामको थालनी गर्ने होइन सवै काममा लगन खोज्ने हो । समय कहिल्यै पक्ष र विपक्षीमा हुदैन । हामीले कार्य गर्ने सवै २४ घण्टा ६० मिनेट ६० सेकेण्ड उत्तिकै महत्वका छन् । हाम्रो जिन्दगी घण्टाको जिन्दगी हो । मिनेटको हो । सेकेण्डको हो ।

लेखक: विरबहादुर बिष्ट 



बुधबार २९, मङि्सर २०७८ १०:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.