बेलौरी: सुदूरपश्चिममा लागुऔषधको कारोबार गर्ने दुई जनालाई कंचनपुरको इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको छ। आइतबार साँझ ६ बजे बेलौरी प्रहरीका प्रमुख कमलकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका-६, नकैया नाकाबाट दुई जना भारतीय नागरिकलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो।
उनीहरू सुदूरपश्चिममा लागुऔषध बिक्री गर्ने मुख्य डिलर हुन् भन्ने बुझिएको छ। पक्राउ पर्नेमा जिल्ला पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजार घाट बस्ने वर्ष १९ को राम सिंह र उध्दमसिंह नगर थाना नानक मत्ता ग्राम ज्ञानपुर बस्ने वर्ष २३ को धरमवीर सिंह रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक खड्काले जानकारी दिए। पक्राउ परेका दुबै जनाबाट १० ग्राम ४२ मिलिग्राम खैरो हिरोईन बरामद गरेको प्रमुख प्रहरी निरीक्षक खड्काले बताए।
प्रहरी निरीक्षक खड्काका अनुसार एक वर्षको कार्यकालमा लागुऔषधमा २४ मुद्दा दर्ता गरी ५४ जनामाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। लागुऔषध नियन्त्रणमा बेलौरी प्रहरीको सक्रियता उच्च देखिएपनि सुदूरपश्चिममा लागुऔषध सेवन गर्ने युवाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
प्रतिकृया दिनुहोस