सुरक्षित गर्भपतन सेवा थप सहज बनाउने गौमुलको तयारी

नजिक न्युज संवाददाता    

सुरक्षित गर्भपतन सेवा थप सहज बनाउने गौमुलको तयारी

बाजुरा : गौमुल गाउँपालिकाले सुरक्षित गर्भपतन सेवालाई सहज र थप प्रभावकारी बनाउने योजना अघि सारेको छ । गाउँपालिकाको केन्द्र घटमुना र मानाकोट स्वास्थ्य चौकीलाई सूचीकृतको अनुमति मागेरै भएपनि सुरक्षित गर्भपतन सेवालाई सहज र प्रभावकारी बनाउन लागिएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । 

हाल गौमुल गाउँपालिका स्थित दहकोट स्वास्थ्य चौकीमा मात्र सञ्चालनमा रहेको छ । जिल्लाका १६ वटा सूचिकृत स्वास्थ्य संस्था मध्ये दहकोटबाट सेवा प्रवाह भएपनि थप सहज र प्रभावकारी बनाउन पालिकाको केन्द्र र मानोकाट स्वास्थ्य चौकीबाट पनि सञ्चालन गर्न लागिएको गाउँपालिकाले बताएको छ ।

सेवा सञ्चालनका लागि सम्बन्धीत निकायमा आवश्यक प्रक्रिया सहीत माग गरिएको र स्वास्थ्य कर्मीलाई समेत तालिम दिइ सकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिश चन्द्र विकले बताएका छन् । गाउँपालिकाले हाल ७ जना स्वास्थ्य कर्मीलाई सुरक्षित गर्भपतन सम्बन्धी तालिम दिएर जनशक्ति तयार पारिसकेको छ ।

पीसविन र आइपासको सहकार्यमा सञ्चालित कार्यक्रमको पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष हरिबहादुर रोकायाले आवश्यक जनशक्ति समेत तयार पारिसकिएकोले केही समय भित्रै थप स्थानमा सेवा विस्तार गरिने जानकारी गराएका छन् ।

दहकोट स्वास्थ्य चौकीमा मात्र सेवा सुचारु हुँदा सबैका लागि सहज नभएकोले पालिकाको केन्द्र र मानाकोट स्वास्थ्य चौकीबाट पनि सेवा सञ्चालन गर्न लागिएको अध्यक्ष रोकायाको भनाई छ । उहाँका अनुसार आवश्यक औजार उपकरण र संरचना समेत निर्माण गरिसकिएको बताएका छन् ।

पुरानो सामाजिक मान्यता र लाज मान्ने मानसिकताले पनि स्वास्थ्य संस्थामा खुलेर गर्भपतन गराउनेको संख्या कम देखिएकोले त्यसको सुधारमा लाग्ने सहभागि स्वास्थ्य कर्मी रमा रोकायाले बताएकी छन् । स्वास्थ्य मेडिकलबाट औषधी सेवन गरेर गर्भपतन गराउने दर समेत नघटेकोले त्यसको रोकथामका लागि पनि सेवा सहज बनाउनु पर्ने सुझाव स्वास्थ्य कर्मीको छ । 

अध्यक्ष हरि बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले गरेका हुन् । स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले गाउँपालिकाको अवस्था बारे जानकारी गराएको पीसविन सामाजिक परिचालक जानकी खत्रीले बताएकी छन् ।

६ वटै वडाका अध्यक्ष, पालिका सदस्य, स्वास्थ्य कर्मी, गाउँपालिकाका कर्मचारी, सेवा ग्राही सहीत कार्यक्रममा सहभागि थिए । सार्वजनिक सुनुवाइका सहभागिले महिलाको स्वास्थ्य अवस्थाको जोखिम कम गर्न पनि सेवालाई गुणस्तरीय बनाउन जरुरी रहेको बताएका छन् । जवाफमा अध्यक्ष हरि बहादुर रोकायाले बजेट नै संवोधन गरेर सेवा प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

जिल्लामा पीसविन, आइपास र सम्बन्धी स्थानीय तहस्थित स्वास्थ्य संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालनमा रहेको छ । जसका कारण अवैध गर्भपतन गराउनेको संख्या घटेको छ । भने महिलाहरुको आर्थिक नोक्सानी घटेको छ । 

No description available.राज्यले पनि कानुनी रुपमा गर्भपतन सेवा महिलाहरुको अधिकारको रुपमा लेखिएको छ । राज्यले सूचीकृत गरेका स्वास्थ्य संस्थाबाट गोपनीयता सहीत निशुल्क गर्भपतन गराउन पाउने व्यवस्था गरिएको छ । 



सोमबार ०६, मङि्सर २०७८ ०७:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.