बाजुराका ९ वर्षीय सुप्रिमकाे ‘द भ्वाइस’मा इन्ट्री

नजिक न्युज संवाददाता    

बाजुराका ९ वर्षीय सुप्रिमकाे ‘द भ्वाइस’मा इन्ट्री

धनगढी : उनले ३ वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थाले। आमाबुवाले पनि उनको गीत गाउने कलाबारे खबर पाए। परिवारबाट संगीत सिकाउने प्रयत्न त भएन। तर उनको गायन कला परिपक्क बनाउन सघाउन थाले।

गाउँमा सास्कृतिक कार्यक्रम आयोजना हुन्थे। ती कार्यक्रममा उनको गायन कला खुलेरै प्रस्फुटन हुन्थ्यो। उनी अर्थात बाजुराका ९ वर्षीय सुप्रिम मल्ल ठकुरी। सुप्रिमकी आमा उर्मिला भन्छिन्, ‘कोठामा बसेर ३ वर्षको उमेरदेखि नै गीत गाउथ्यो। हामीले पनि गाउँका कार्यक्रममा नछुटाइकन सहभागिता गराउन थाल्यौं।’

तिनै सुप्रिमले अहिले ‘द भ्वाइस अफ किड्स’मा इन्ट्री पाएका छन्। भ्वाइस अफ किड्सको ब्लाइन्ड अडिसनमा सुप्रिमले दिएको प्रस्तुतीको अहिले चर्चा हुन थालेको छ। शनिबार राति प्रशारण भएको ‘द भ्वाइस अफ किड्स’को दोस्रो इपिसोडमा सुप्रिमले ब्लाइन्ड अडिसन दिएका छन्।

कोच प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीले उनको गायन कला मन पराए। चारै जनाको कुर्सी घुमेसंगै सुप्रिम आगामी यात्राका लागि प्रतिस्पर्धी बनेका छन्। उनी राजु लामाको टिमबाट ‘द भ्वाइस अफ किड्स’को यात्रा अगाडि बढाउने छन्।

हुन त सुप्रिमले स्वर दिएको गीत यसअघि पनि सार्वजनिक भइसकेको छ। गायक पशुपति शर्मा, शान्ती श्री परियारसंगै उनले स्वर दिएको ‘तालाबाजी लै’ गीत दुई महिना अगाडि सार्वजनिक भएको थियो। उक्त गीतमा १९ लाख ८० हजार भ्युज छ।



सोमबार २९, कार्तिक २०७८ ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.