एमाले बाजुराको प्रतिनिधी छनोटमा सकस, पहिलो पुस्तालाई स्थान दिने बारे छलफल

नजिक न्युज संवाददाता    

एमाले बाजुराको प्रतिनिधी छनोटमा सकस, पहिलो पुस्तालाई स्थान दिने बारे छलफल

बाजुरा :  नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधीका लागि बाजुरामा सहमतिको प्रयास जारी रहेको छ । सहमतिका आधारमा प्रतिनिधी छनोट गर्ने गरी शिर्ष नेताहरु लागि परेको नेकपा एमाले बाजुराले बताएको छ ।

कात्र्तिक २७ गते भित्र सबै जिल्ला कमिटीले प्रतिनिधी छनोट गरि विवरण केन्द्रीय कमिटीलाई पठाइ सक्नु पर्ने निर्देशन अनुसार नै नेताहरु पनि सहमतिका लागि सक्रिय देखिएका छन् । 

सहमतिका लागि नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी, सहदेव बोगटी, कालिबहादुर शाही सहीत नेताहरु आपसी छलफल र परामर्शमा जुटेका छन् । 

बाजुराबाट १९ जनाले महाधिवेशनमा भाग लिन पाउने छन् । कुल ११ हजार ९ सय ६३ जना संगठित सदस्य मध्ये दलित, महिला र खुला गरी १९ जना प्रतिनिधी महाधिवेशनका लागि छनोट हुने पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । 

छनोट हुने प्रतिनिधी मध्ये ९ जना खुला, ४ जना महिला, ६ जना दलितबाट प्रतिनिधीत्व गर्ने छन् । ६ जना दलित प्रतिनिधी मध्ये २ जना दलित महिला सहभागि गराउनु पर्ने छ । केन्द्रीय प्रतिनिधीका लागि निकै साघुँरो संख्या राखेर मापदण्ड बनाएपछि नेताहरु आफ्नो लागि दौड धुपमा देखिएका छन् ।

 १९ जनाको कोटामा ६० बढीले रुचि देखाएपछि नेताहरुलाई मिलाउन सकस परेको छ । सहमतिकै आधारमा प्रतिनिधी छनोट गर्ने बताएपनि अवस्था जटिल बन्दै गएको श्रोतको दाबी छ । पहिलो र दोस्रो पुस्ता बीच प्रतिनिधीमा प्रतिस्प्रर्धा देखिएको छ ।

दोस्रो पुस्ताले जिल्लाको पहिलो पुस्तालाई समेट्दा आफूहरुलाई मान्य हुने बताएपनि सहमति हुन सकेको छैन् । नेताहरुले सामुहीक छलफल समेत बोलाएका छैनन् । आपसी समूहगत छलफलमा केन्द्रीत हुँदा छनोट प्रक्रियामा ढिलाई भएको देखिन्छ । 

तर एमाले बाजुराको दोस्रो पुस्ताले स्वीकार गरे खुला ९ जनाको कोटामा कालीबहादुर शाही, बल्देव रेग्मी, सहदेव बोगटी, रंगमान शाही, लालबहादुर ओली, चन्द्र बहादुर थापा, अजबहादुर मल्ल, मिन बहादुर विष्ट, दयाल बहादुर शाही, मनलाल खत्री र भरत बुढा मध्येबाट समेटिने संभावना बलियो छ । 

यो निर्णयले दोस्रो पुस्ताका रुपमा हेरिएका जनक कुमार बोहरा, भरत थापा, अमर खड्का, पेम्बा गुरुग भोटे, रामबहादुर बाँनीया, हरि रोकाया, अर्जुन रोकाया, दिपक रावत, दिलबहादुर रावत, जनक विष्ट, मेघराज शाही, वीरेन्द्र रोकाया, विष्णु अयडी, हिक्मत थापा सहीतलाई भने प्रतिनिधी जानबाट वञ्चित गर्ने देखिन्छ । 

यस्तै महिला तर्फको ४ जनाको कोटामा बसुन्धरा रोकाया, मन्देवी ओली, सृष्टी रेग्मी, सीता थापा, माया कुँवर, देवु खाती, माया शाह, रुक्मणी शाह, ऐना गिरी दुधकला ताम्राकार लगायतबाट नै प्रतिनिधी बन्ने छन् । 

यस्तै ४ जना दलित पुरुषको कोटामा काशी विक, विनोद बाजुराली मोहनलाल नेपाली, रमेश नेपाल, काल्चे दमाई, पदम नेपाली, शंकर चदारा मध्येबाट प्रतिनिधी बन्नेछन् । यस्तै २ जना दलित महिलाको कोटामा राजकला सार्की, दुधकला ताम्राकार, पारु विक, सुना विक मध्येबाट प्रतिनिधी बन्ने निश्चित छ । 

पहिलो पुस्तामा हेरिएका दयालबहादुर शाहीलाई केन्द्रीय कमिटीले मनोनीत गर्ने संभावना भए त्यो संख्या पनि घट्ने र मिलाउन सहज हुने अवस्था छ । भने पेम्बा गुरुग भोटेको हकमा जनजाती आदीबासी महासंघको पाँच जनाको कोटामा महासचिव भएकोले प्रतिनिधी पर्न सक्ने बलियो संभावना छ ।  

तर प्रतिनिधी हुनका लागि भने दाबी विरोध नपरे बाहेक संगठित सदस्यता लिएको ७ वर्ष पुग्नु पर्ने प्रावधान राखिएको छ । भोलिसम्म टुंगो लगाउने गरि छलफल अघि बढेको एमाले बाजुराले बताएको छ । 

१ हजार ९ सय ९९ जना मध्ये बाजुराबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय सदस्य कर्ण बहादुर थापा, लालबहादुर थापा र प्रकाश शाह भने स्वतः प्रतिनिधी हुन पाउने व्यवस्था छ । बाजुरा कैलाली पछि सबैभन्दा बढी प्रतिनिधी जाने जिल्लामा पर्दछ ।   



शुक्रबार २६, कार्तिक २०७८ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.