रानीवनले राजधानी पुगेर रच्यो इतिहास, पायो सि डिभिजनको मान्यता

नजिक न्युज संवाददाता    

रानीवनले राजधानी पुगेर रच्यो इतिहास, पायो सि डिभिजनको मान्यता

बाजुरा :  देशकै गरिब तथा सर्वाधिक विकट जिल्लामा जन्मेको क्लब रानीवन । जुन क्लबले विश्व खेल क्षेत्रको महाराजा खेल फुटबलमा नयाँ इतिहास रचेको छ । रानीवनले बाजुराबाट चालेको यात्रा राजधानीमा पुगेर सफलता प्राप्त गरेको छ ।  

रानीवन स्पोर्टस क्लब सि डिभिजन छनोट खेलको विजेता बनेको छ । ७ दर्जन बढी सहभागि टिम मध्ये रानीवन शिर्ष तीन क्लबको सूचीमा अटाएको छ । तीन वटा टिम छनोटमा पर्ने मापदण्ड अनुसार नै रानीवनले आफ्नो यात्रामा सफलता हात पारेको क्लबका अध्यक्ष धुब्र बहादुर रोकायाले बताएका छन् ।

रानीवनले फाइनलमा नुवाकोट फुटबल क्लबलाई १–० को गोल अन्तरले खेल जितेको छ । फाइनल खेलको सफलतासँगै रानीवनले सि डिभिजन को मान्यता पाएको छ । नेपाली फुटबलमा सि डिभिजन पहिलो आधार स्तम्भ हो । सि डिभिजन छनोटसँगै अब रानीवन र खेलमा सहभागि खेलाडीले बि डिभिजन खेल खेल्न पाउने छन् ।

यो खेल जीवनकै खुसीको क्षण र ठूलो सफलता मिलेको क्लबका संरक्षक एवं सल्लाहकार नरेश रोकायाले बताएका छन् । रानीवन पश्चिम नेपालको सि डिभिजन मान्यता पाउने पहिलो क्लब बनेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका कुनै क्लबले पनि सि डिभिजन को मान्यता पाएका छैनन् ।

टेलिभिजनमा फुटबल खेलेको देखेर बढेको आकर्षणबाट रानीवनको स्थापना गरिएको संस्थापकहरुले बताउने गरेका छन् । सबैभन्दा पुरानो क्लबका रुपमा स्थापित रानीवन जिल्ला प्रशासन कार्यालय बाजुरामा भने २०७७ मा दर्ता भएको हो ।

दर्ता मान्यता पाएको एक वर्ष नपुग्दै रानीवनले इतिहासिक सफलता प्राप्त गरेको छ । क्बलले जितसँगै बाजुराको शान बढेको र इतिहास रच्न सफल भएको भन्दै नेकपा एमाले प्रदेश अध्यक्ष कर्ण थापा सहीत सयैले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।

दुई दशकअघि बाजुरामा फुटबलको सपना देख्नेहरुकै सहकार्यमा टिम काठमाडौं पुगेको हो । काठमाडौं सबैका लागि सपनाको शहर हो । कयै रहर पुरा हुने, कयै सपना जल्ने ठाउँ हो, राजधानी । रानीवनले राजधानी पुगेर पहिलो पल्ट नै ठूलो सफलता हात पारेको छ ।

विना प्रशिक्षण, मैदानको अभावमा फुटबल खेलाएका खेलाडीले नै विना लगानीको उपाधी हात पारेका छन् । शहरका नामी क्लबलाई समेत पछि पार्दै रानीवनले ठूलो सफलता हात पारेको छ । अधिकांश बाजुराकै खेलाडी सहभागि टिमले पाएको सफलतामा अखिल नेपाल फुटबल संघ एन्फाले चकित देखिएको छ ।

बाजुराबाट आएर खेलमा सहभागि हुने कुरा नै धेरैका लागि अनौठो जस्तै थियो । खेल खेल्ने र खेलेरै जित्ने कुरा कतिपयले कल्पना समेत गरेका थिएनन्, तर रानीवनले त्यो भ्रम चिरिदिएको छ । सोच भन्दा फरक प्रर्दशन गरेर इतिहास रचिदिएको छ । जुन सफलतालाई क्लबले इतिहास भनेको छ । 



सोमबार २५, असोज २०७८ ०६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.