बुटवलमा कर्फ्यु कायमै

नजिक न्युज संवाददाता    

बुटवलमा कर्फ्यु कायमै

काठमाडौंः रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा आइतबार अपराह्न ४ बजेदेखि कर्फ्यु जारी छ। निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रहरीले हटाउन खोज्दा आइतबार दोहोरो झडप भएको थियो। घटनाले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ। ‘‘अहिले यहाँको अवस्था नियन्त्रणमै छ। हटाइसकेका सुकुम्बासी आउन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी नै रहन्छ। घटनाले उग्ररूप लिँदा चारजनाको मृत्यु भयो।

मृत्यु भएका मध्ये कपिलवस्तुको वाणगंगा नगरपालिका–१० का २० वर्षीय रमेश परियारको सनाखत भइसकेको छ। अन्य तीनजनाको आज दिउँसो सनाखत हुनेछ,” सूचना अधिकारी थापाले भने।

झडपमा परी प्रहरी र नागरिक गरी ४७ जना घाइते भएका उनले जानकारी दिए। ‘‘१६ जना सर्वसाधारण घाइते भएका छन। १५ जना सशस्त्र प्रहरी घाइते भए। १६ जना नेपाल प्रहरीबाट घाइते भएका छन्। घाइतेहरूको नेपाल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

अहिले प्रजिअ यही घटनालाई लिएर बुटवल जानुभएको छ । सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल गर्न जानुभएको हो,” उनले भने। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सो क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।



सोमबार २५, असोज २०७८ ०१:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.