काँग्रेस बाजुराको चियापानमा नेताहरुको निष्कर्ष : जिल्लाको विकास र समृद्धिमा सहकार्य चाहिन्छ

नजिक न्युज संवाददाता    

काँग्रेस बाजुराको चियापानमा नेताहरुको निष्कर्ष : जिल्लाको विकास र समृद्धिमा सहकार्य चाहिन्छ

बाजुरा :  नेपाली काँग्रेस बाजुराले मार्तडीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । काँग्रेसको सातौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कार्य समितिले दशैं तिहारको अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

जिल्लामा क्रियाशिल सबै राजनीतिक दलका नेताहरुलाई समेत सहभागि गराएर नेपाली काँग्रेसले चियापान सहीत शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको पार्टी सचिव तिलक पुरीले जानकारी दिएका छन् । आपसी सद्भाव, सहकार्य र समन्वयका लागि कार्यक्रम आयोजना गरिएको हो ।

पार्टी सभापति रामसिंह रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे रहनु भएको थियो । कार्यक्रममा काँग्रेस नेता जनक कुमार गिरी, मनबहादुर रावल, जुना दानी, नेकपा एमालेका नेता अमर खड्का, समाजवादीका जिल्ला अध्यक्ष गगन रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा नेताहरुले जिल्लाको विकास र समृद्धिमा सहकार्य आवश्यक रहेको बताएका छन् । बाजुराको विकास मुल एजेण्डा बनाएर दलहरु बीचको आपसी सहकार्य र समन्वय हुनु पर्नेमा नेताहरु एकमत देखिएका छन् ।

दशैं तिहासको समयमा सबैले गाउँ समाजमा जिम्मेवार भएर काम गर्नु पर्ने र असल नागरिकको भूमिका निर्वाह गर्नु पर्ने सन्देश नेताहरुले दिएका छन् । पार्टी उपसभापति पदम बडुवालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पनि नयाँ निर्वाचित समितिलाई बधाई सहीत शुभकामना दिनु भएको छ । 

पाटी सचिव तिलक पुरीले सञ्चालन गरेको कार्यक्रममा काँग्रेसका निवर्तमान सभापति कविराज पण्डित, नेताहरु राधिका देवी सिंह, विद्या तिमिलसेना, चक्र बहादुर शाह,नरेन्द्र रोकाया लगायत नवनिर्वाचित जिल्ला कार्य समिति सदस्यहरु र महाधिवेशन प्रतिनिधी सहभागि थिए ।



आइतबार २४, असोज २०७८ ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.