काँग्रेस कार्यकर्ताले नै पत्याएनन बुढीगंगा र खप्तड छेडेदहका प्रमुख उपप्रमुखलाई, पार्टी चुनावमा चारैजना पराजित

रमित विक    

काँग्रेस कार्यकर्ताले नै पत्याएनन बुढीगंगा र खप्तड छेडेदहका प्रमुख उपप्रमुखलाई, पार्टी चुनावमा चारैजना पराजित

बाजुरा : नेपाली काँग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट नयाँ अनुहार राजनीतिमा देखिएका छन् । लामो समय युवा विद्यार्थीको राजनीतिमा सक्रिय नौला अनुसारको प्रवेशले काँग्रेस बाजुराको राजनीतिमा तरंग ल्याएको छ ।

राजनीतिमा कम चिनिएका र भूगोलको राजनीतिबाट टाढा रहेकाहरु चुनावमा जितिरहँदा केही स्थापित पुराना अनुसार भने पछारिएका छन् । स्थानीय तहका बहालवाला प्रमुख उपप्रमुख सहीत नेताहरु चुनावी प्रतिस्पर्धाबाट बाहिरीनु परेको अवस्था छ । 

काँग्रेस बाजुराको वडा देखि जिल्ला तहको राजनीतिमा युवा र त्यसैमा नयाँ अनुहारको बाक्लो उपस्थिति देखिएको छ । तर पुराना र स्थापितलाई भने कार्यकर्ताले किनारा लगाइदिएका छन् । पौडेल सिटौला पक्षको बलियो एकताले संस्थापन देयवा पक्षको आधार क्षेत्र भत्किएको मात्र छैन्, स्थानीय सरकार चलाइरहेकाहरु नै किनारा लागेका छन् ।

सबै दलका लागि उर्वरभूमि मानिएको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष चारै जनाले पराजित हुनु परेको छ । बुढीगंगा नगरपालिकाका नगर प्रमुख निवर्तमान समितिका सचिव र प्रदेश ख का सभापति समेत हुन् । तर कार्यकर्ताले शाहलाई महाधिवेशन प्रतिनिधी समेत प्रत्याएनन् । 

पार्टी र सरकार दुबैका कार्यकारी पद सम्हालेका शाह युवाले आश गरेका नेता मध्ये गनिथ्ये । जब नगर प्रमुखको जिम्मेवारीमा आएदेखि शाह निकै आलोचित र काम नै नगरेको आरोप लाग्ने गरेको छ । जस्का कारण शाहले पार्टी भित्रको जिम्मेवारीबाट चार वर्षका लागि हात धुनु पर्ने अवस्था आएको छ ।

यस्तै खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले पनि महाधिवेशन प्रतिनिधीमा हार्नु भएको छ । खस आर्य तर्फको चार वटा कोटाको चुनावामा गुरुदेव केसी, हर्क खडायत, योगेन्द्र रावल जस्ता नयाँ अनुहारले रावतलाई किनारा लगाएका हुन् । 

शाह र रावत गाउँ÷नगरका उपप्रमुख तारा खाती र उपाध्यक्ष कुन्तीबुढा साउँदले पनि महाधिवेशन प्रतिनिधीमा हार्नु परेको छ । खस आर्य तर्फको ३ जनाको कोटोमा लडेका उपप्रमुख खाती खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष कुन्तीबुढा साउँदलाई नयाँ अनुहारले हराइदिएका छन् ।

सत्ता हातमै भएको बेला थापा र साउँदलाई रिता शाही, विद्या तिमिल्सेना र सुभद्रा पाण्डेसँग हार्नु परेको हो । काँग्रेसले जितेका ६ वटा स्थानीय तह मध्ये बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम गिरी, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल महाधिवेशन प्रतिनिधीमा विजयी भएका छन् । 

त्रिवेण्ी नगपालिकाका प्रमुख रामसिंह रावलले पार्टी सभापतिमा बाजि मारेका छन् । भने बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले सर्वाधिक मत ल्याएर पार्टी उपसभापतिमा जितेका छन् । बडिमालिकाका नगर उपप्रमुख कविता विष्टले महाधिवेशन प्रतिनिधीमा जितेकी छन् । 

चार वटा स्थानीय तहका जनप्रतिनिधीले बलियो भूमिका भएको कार्यकारी पदमै विजयी भइरहँदा बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका चारै जनाले लज्जास्पद हार बेहोर्नु परेको छ । 

कार्यशैली र काम गराइले नै हारजितमा प्रभाव पारेको विश्लेषण कार्यकर्ता तहबाट हुने गरेको छ । तर उहाँहरुले भने चुनाव प्राविधिक विषय भएकोले पालिकाको काम कारवाहीसँग जोड्न नमिल्ने तर्क छ । 



शनिबार २३, असोज २०७८ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.