काँग्रेस बाजुराका ९ वटै पालिकामा अधिवेशन सुरु, अनुकल नेतृत्व ल्याउन नेताहरुको दौडधुप

नजिक न्युज संवाददाता    

काँग्रेस बाजुराका ९ वटै पालिकामा अधिवेशन सुरु, अनुकल नेतृत्व ल्याउन नेताहरुको दौडधुप

बाजुरा : नेपाली काँग्रेस बाजुराले जिल्लाका नौ वटै स्थानीय तहमा एकसाथ पालिका अधिवेशन सुरु गरेको छ । पालिका अधिवेशनको मिति असोज ९ गते तोकिए बमोजिम नै बाजुराका नौ वटै स्थानीय तहमा औपचारिक रुपमा पालिका अधिवेशन एकै दिन सुरु गरिएको हो ।

काँग्रेसले जिल्लाका ६९ वटै वडामा अधिवेशन सकेर पालिका अधिवेशनमा जुटेको हो । ६९ वटा वडा मध्ये ६८ मा सहमतिमा नेतृत्व चयन भएको थियो भने १ वटामा मात्र चुनाव भएको थियो । पालिका अधिवेशनमा शिर्ष नेताहरु सहभागि भएका छन् । 

गृह पालिकामा पुगेका नेताहरुले आफ्नै स्थानीय तहको पालिका केन्द्रमा आयोजित अधिवेशनमा सहभागि जनाएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले हिमाली गाउँपालिकाको पालिका अधिवेशनको उद्घाटन गर्नु भएको छ ।

यस्तै भूमि सुधार सहायक पूर्व मन्त्री जनकराज गिरीले स्वामीकार्तिक खापर गाउँपालिकाको अधिवेशनको उद्घाटन गर्नु भएको छ । भने पार्टी सभापति कविराज पण्डितले बडिमालिका नगरपालिकाको अधिवेशनलाई संवोधन गर्नु भएको छ ।

यस्तै काँग्रेस नेता एव सभासद महा नेपालीले खप्तड छेडेदह गाउँपालिका, काँग्रेस नेता एवं सभासद देवराज जोशीले बुढीगंगा नगरपालिका, काँग्रेस नेता रामसिंह रावलले त्रिवेणी नगरपालिकाको अधिवेशन उद्घाटन गर्नु भएको छ । 

यसैगरी गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका, बुढीनन्दा नगरपालिकामा पनि पालिका अधिवेशन सुरु गरिएको छ । अधिवेशन उद्घाटन समारोहमा बोल्ने नेताहरुले सहमतिको नेतृत्व चयन गर्नु पर्नेका जोड दिएका छन् ।

भाषणमा सहमति र सहकार्यबाटै पार्टी सञ्चालन गर्नु पर्ने र सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने बताएपनि आफू अनुकुल नेतृत्व चयनका लागि पनि आन्तरिक दौड धुप जारी राखेका छन् । धेरैले आकाक्षा राखेपनि नेताहरुले मुख खोल्न पनि समस्या भएको छ ।



शनिबार ०९, असोज २०७८ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.