सबै अट्ने काँग्रेस, सधैं खट्ने संगठन बनाउन फेरि सभापति बन्छु :  पण्डित

नजिक न्युज संवाददाता    

सबै अट्ने काँग्रेस, सधैं खट्ने संगठन बनाउन फेरि सभापति बन्छु :  पण्डित

बाजुरा : नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले थप एक कार्यकाल सभापति बन्ने इच्छा देखाएका छन् । काँग्रेसको विधानले नै दिएको अधिकार र एक कार्यकर्ता पार्टी संगठन निर्माणमा योगदान पुर्याउन सभापति बन्न चाहेको बताएका छन् ।

सातौ जिल्ला अधिवेशनलाई सहमतिको अधिवेशन बनाउने पहलमा रहेका पण्डितले वर्तमान कार्यकालको अनुभव र सिकाईलाई शसक्त र बलियो काँग्रेस बनाउनकै लागि सभापतिमा दोहोरीन खोजेको जिकिर गरेका छन् ।

रेडियो बाजुराको नियमित कार्यक्रम साझा सरोकारमा बोल्दै पण्डितले चुनावी प्रतिस्पर्धा भन्दापनि सहमति सहीत उम्मेदवार बन्ने खोजेको स्पष्ट पारेका छन् । आफ्नो कार्यकाल सफल र उपलब्धी मुलक रहेको दाबी गरेका पण्डितले सबै अट्ने काँग्रेस र सधैं खट्ने संगठन निर्माणका लागि एक कार्यकाल सभापति बन्न चाहेको धारणा राखेका छन् ।

तीन दशक लामो राजनीतिक पुष्टभूमि बनाएका पण्डितले अधिवेशन र अवसरका लागि जिल्ला फर्किने भन्दा पार्टी संगठन र जिल्लाका लागि काम गर्ने व्यक्तिलाई नै नेतृत्व दिनु पर्ने बताएका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका तर्फ लक्षित गर्दै पण्डितले काँग्रेस बनाउन रगत पसिना र जेल नेल बसेकाहरुले नै नेतृत्व पाउनु पर्ने दाबी गरेका छन् । 

काँग्रेस लोकतन्त्रमा विश्वास गर्छ, चुनावी प्रतिस्पर्धा सबैका लागि खुला छ, तर यसो भनिरहँदा काँग्रेस बनाउन खटिएकाहरुलाई किनारा लगाउनु हुदैन्, पण्डितले भन्नु भयो । पार्टी सञ्चालनको अनुभव पनि छ, सिकाइ पनि पहिलो कार्यकालबाट भएकोले अनुभव र सिकाइलाई बलियो काँग्रेस बनाउन सबैको सहयोगबाट एक कार्यकाल सभापति भएर काम गर्न अवसर पाउने विश्वास पण्डितको छ ।

मसँग पार्टी जिल्ला सभापति बाहेक केन्द्रीय सदस्य र सहमहामन्त्री पदका लागि दाबी गर्न सक्ने योग्यता क्षमता पनि छ । जिल्लामा साथीहरुले चुनावीकै अवस्था सिर्जना गरेको अवस्थामा त्यो पदमा मेरो उम्मेदवारी निश्चित हुन्छ नै तरपनि एक कार्यकाल जिल्लामै बसेर संगठन निर्माणमा लाग्नु पर्ने सुभेच्छा बहुसंख्यक नेता कार्यकर्ता रहेको बताएका छन् ।

पण्डितले नेपाल विद्यार्थी संघबाट खुला राजनीति सुरु गरेका हुन् । नेविसंघको केन्द्रीय सदस्य समेत भइसकेका पण्डितले आफ्नो कार्यकालमा पार्टीलाई कमजोर हुने, पार्टी हार्ने अवस्था आउन नदिएको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा भारी सफलता प्राप्त गरेको र संघ प्रदेशको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि हिसाबमा हारेपनि जनतको मत र विश्वासमा पार्टीले नहारेको दाबी गरेका छन् । पार्टीलाई संस्थागत बनाउन र विधिवत रुपमा सञ्चालनको सुरुवाद पनि आफूले नै गरेको पण्डितको दाबी छ । पार्टी भित्र अधिवेशनमा दुई धार जस्तो देखिनु अस्वभाविक जस्तो देखिएपनि त्यसले लोकतन्त्रलाई बलियो र्नै पार्ने धारणा राखेका छन् ।

नेताहरु बीच सामान्य बुझाइमा भिन्नता हुँदा मात्र पार्टी सदस्यता विवाद जस्तो देखिएपनि सामान्य रहेको दाबी पण्डितको छ । पार्टी कार्यालयमै केही गलत सन्देश जनो गरि भएको नाराबाजीको घटना अस्वभाविक भएको र त्यस्ता क्रियाकलाप सुधार गर्न सचेत गराइ सकिएको बताएका छन् ।



बुधबार ०६, असोज २०७८ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.