उहिले र आजभोलीको तीज

सरिता नेपाली    

उहिले र आजभोलीको तीज

नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज हरेक वर्ष हर्षोल्लासका साथ एकचोटी आउँछ, अनि जाने गर्छ । तीज आउँन्छ तर कसैलाई हँसाएर जान्छ त कसैलाई रुवाएर जान्छ । कसैको मन प्रशन्न पार्छ त कसैको खिन्न । कुरा हो हुनेखाने र हुँदाखाँने महिलाहरुको पहिरन र लवाइखवाइको । तीजकै प्रसंगमा आज केहि लेख्ने प्रयास गर्दैछु । 

कुनै समयमा हुनेखाने मात्रै नभएर हुँदाखाने महिलाहरुले पनि सजिलै रमाउन सक्थे । सजिलै आफ्नो जस्तो पहिरन छ, त्यसैमा रमाउन सक्थे । वर्षभरीका पिरबेदना र दुखःसुखका कुराहरुलाई आफ्नो गितको शैलीमा गाएर थकाइ र दुःख भुल्ने गर्थे । गाउँका महिला होस् या बजार क्षेत्रका महिला होस्, सबै महिलाहरु गोलबद्ध अनुशासनमा बसेर सबैका सुरिला कोकिल कण्ठले एउटै आवाजमा सुनिएका शुरिला भाकाहरुको साथमा पालैपालो महिलाहरुले नाच्ने र रमाउने गर्दथे । एउटाले अर्कोलाइ साथ अर्कोले अर्कोलाई साथ दिएर भब्य र सब्य तरिकाले तीज सम्पन्न गर्थे । तर समय एकैनासको कहाँ हुँदोरहेछ । 

समयसंगै महिलाहरुका सोच, बिचार, लवाइखवाइ, पहिरन सबै बदलिएर गए । मैले यो भन्न खोजेकि होइन कि, महिला सबै बदलिए, सबैको सोच बिचार हुँने खानेको जस्तै छ भन्न खोजेकि होइन । हाम्रो यस्तो समुदाय पनि छ, बिहान खाए बेलुका के खाने भन्ने चिन्ताले बढीजसो घरको गृहणी महिलाहरुलाई पिर पर्ने गर्दछ । मैले गाउँमा एक उखान सुनेकि थिए, श्रीमान  ‘आनंन श्रीमती झानन’ । यो भन्न खोजेको अर्थ हो, श्रीमानले घरपरिवारलाई सम्मालेर खानेकुराको जोहो गरुन्, श्रीमतीले बनाउन् भन्ने हो तर पछिल्लो समय श्रीमतीले कमाएर श्रीमान र घरपरिवारको सबै जिम्मेवारी पुरा गरेका हुन्छन् । 

म त्यो समयको कुरा गर्दैछु । जुन बेला मेरी आमाले म पेटमा हुँदा मनाएको तीजको कुरा । म आजभोली सुन्ने गर्छु, उबेलाको तीज कस्तो र आजभोलीको कस्तो । उहिले र अहिलेकामा दाँज्न प्रयास गर्दैछु । कतिबेला म मेरी आमा अनि गाउँ–समुदायका पुराना महिलाका कुरालाई मनन गरेर सोच्ने गर्छु । कसरी बिते होलान् ति दिन, कसरी कटे होलान् हरेक बषझै मनाउने हरितालिका तीज । अच्चम्म लाग्छ, एकसरो लगाउने गुन्यीउको अभाबमा कटाएका तीज ।  अनि भात समेत नपाएर कोदोको ढिणो र खोले सिस्नो खाएर मनाएको  हरितालिका तीजको दर । कसरी खुसी र सन्तुष्ट भए होलान्, हरेक आमा । भात खायो भने दशैं आएजस्तो महशुस हुने गरेका आमाका पीडा बेदनाले भरिएका तीज पनि आखिर तीज नै हुन । एकसरो गुन्यी र चोली लगाएर पनि कुनैबेलाका नारीहरुले तीज पर्व मनाएका थिए । त्यतीबेलाको पनि आखिर तीज नै हो । फरक यत्ती हो मान्छेहरु कसरी रमाउन सक्छन्, कुन कुराले कती सन्तुष्ट प्राप्त गर्न सक्छन् भन्ने कुरामा भर पर्ने गर्दछ । त्यसैले म के पनि भन्न चाहन्छु, हामी सबै आखिर माटोमै मिल्ले हो । जती कमाउन सक्छौ त्यती नै खाउँ । जती नै गर्न सक्छौँ, त्यती नै गरौँ । तेरो मेरो नभनेर मेलमिलापको भावनालाई जगाउँ र हामीले मनाउँने हरेक पर्वहरु सभ्य र भब्य तरिकाले सम्पन्न गरौँ ।  अनि त्यसै म अनि तपाईहरु खुसी हुन सक्छौँ । नत्र जती नै कमाएपनि हामी सन्तुष्ट प्राप्त गर्न सक्दैनौँ । 

पछिल्लो समयमा नेपाली हिन्दु नारीहरुले मनाउने हरितालीका तीज पर्वमा पनि बिभिन्न खालका बिकृती बिसंगती भित्रीदै गैरहेका छन् । संंस्कारी पर्व तीज फेसन, भड्किलो, तडकभडक गरेर मनाइरहेका उदाहरण पनि हामी कयौँ देख्न र सुन्न सक्छौँ । त्यसैले हरेक वर्ष तीज हाम्रो संस्कारलाई बचाउँदै नारीहरुले सरल, सभ्य र भब्य रुपमा मनाउँने बानीको विकास गर्न जरुरी छ ।

वास्तवमा हामी महिलाहरू जतिसुकै आधुनिक बनौं, जतिसुकै अधिकार सम्पन्न बनौं, चाहे अमेरिकाका बासिन्दा होऔं, चाहे सोमालिया, युगान्डा वा नेपालका बासिन्दा होऔं संसारभरिका महिलाहरू भेषभूषा, खानपान, भाषा र रहनसहनले बाहिरी आवरणमा मात्र फरक छौं । भित्र हामी सबै उस्तै छौं । हामी भित्रको संवेदना उस्तै छ । मूलतः हामी प्रेम र ममताद्वारा नै सञ्चालित हुन्छौं र यसका लागि जस्तो त्याग गर्न पनि तत्पर हुन्छौं, जस्तो परिस्थितिको पनि दृढताका साथ सामना गर्न तयार हुन्छौं ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर पार्वती भने घर न थर भएका,  विष भाङ, धतूरो खाने दिगम्वर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन् । पार्वतीले चुपचाप आँशु  बगाएर बाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जली दिइनन् उनले विद्रोह गरिन् । आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गइ पानी पनि नखाइ व्रत  बसिन् । (’हरिता भनेको हरण गरिएकी र ’ अलिका“ भनेको साथीहरूबाट । हरितालिका भनेको साथीहरूबाट हरण गरिएकी भन्ने हुन्छ त्यसैले आज पनि यो पर्व साथीहरूसँग मिलेर मनाइन्छ।)

आफ्नो अडानमा दृढ भएकै कारणबाट पार्वतीको जित भयो र भोलेनाथसँग उनको विधिपूर्वक विवाह भयो। पार्वतीले सुखी दाम्पत्य जीवन भौतिक सुख सुविधा र ऐशआराममा हैन पति पत्नीबीचको सुमधुर प्रेम र समर्पणमा हुन्छ भन्ने कुरा प्रमाणित गरिदिइन्। खुला आकाश, हिउँको चिसो मझेरीमा नै उनले स्वर्गको भन्दा, वैकुण्ठको भन्दा बढी सुख अनुभव गरिन्। उनले प्रेमको दाम्लोले सिंह र साँढेलाई एउटै खावोमा बाँधिन्। एक अर्काका ’जानी दुस्मन’   सर्प, मुसा र मयूरलाई एउटै आँगनमा खेल्न सिकाइन्। महादेवका गण भूत, प्रेत, पिशाचलाई प्रेमले नै वशमा गरेर परिचर (सहयोगी) बनाइन् र त्यो हिउँ नै हिउँले ढाकिएको निर्जन कैलाश पर्वतलाई यति प्रेममय, आनन्दमय ‘कैलाश दरबार’ बनाइन्, देवताहरू समेत एकक्षणको कैलाश बासका लागि लालायित हुन थाले । पार्वतीको दया, प्रेम, करुणा वर्षाले शिव परिवार आदर्श परिवार बन्यो जसलाई विद्वानहरूले शिव संस्कृतिको रूपमा परिभाषित गरेका छन् ।

सबै देवीदेवतामध्ये शिव पार्वती नै यस्ता दम्पति हुन जसले सफल र सुखी दाम्पत्य जीवन पूर्णरूपले भोग गरेको पाइन्छ । त्यसैले आज पनि हामी सुखी दाम्पत्य जीवन र पारिवारिक सुखका लागि शिव पार्वतीको पूजा अर्चना गर्छौं ।
यो त भयो पार्वतीले दिएको प्रेमको शक्तिको सन्देश, उनले हामीलाई क्रोधको शक्तिको पनि सन्देश दिएकी छन् । हामी महिलाहरू यति शान्त र प्रेममयी हुन्छौं, हामीभित्र क्रोध दबिएर शक्तिको रूपमा सञ्चित भएर बसेको हुन्छ । एक पटक जब दानवहरूको आक्रमणबाट देवत्व खतरामा प¥यो, सम्पूर्ण देवताहरू पार्वतीको शरणमा आए र आफू भित्रको शक्तिद्वारा देवत्वको रक्षा गरिदिनको लागि प्रार्थना गरे । पार्वतीले पनि आफूभित्र सञ्चित रहेको शक्तिलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि हैन परोपकार एवम् लोककल्याणका लागि प्रयोग गरिन् र अशुरी शक्तिको विनाश गरी देवत्वको रक्षा गरिन् । यसरी देवी पार्वती प्रेम र क्रोधको सही उपयोगका कारण पूज्य र स्तुत्य बनिन् । भन्ने धार्मिक बिश्वास रहि आएको छ । 

हरितालिका तीज नेपाल आमाकी पुत्री हाम्री दिदी भगवती पार्वतीसँग जोडिएकोले यो हाम्रो मौलिक पर्व हो ।दिदीले तीजमार्फत् दिएको यो प्रेम र सद्भावको सन्देशलाई हामीले जीवन्त राख्नुपर्छ । तीजले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई सुमधुर बनाउँछ । साथी संगी, छिमेकीसँगको प्रेमलाई गाढा बनाउँछ । माइती र चेलीबीचको मनोमालिन्य हटाइदिन्छ । यिनै सब कारणले गर्दा पनि तीज हिजोभन्दा आज अझ बढी लोकप्रिय हुँदै गइरहेको छ । यो पर्व पतिपत्नी बीचको प्रेमको प्रतीक भएकोले यसमा माहिलाले सोह्र श्रृंगार गरेर आफूलाई सजाउनुलाई अचम्मले हेरिनु हुँदैन । तर, श्रृंगारको नाममा अनावश्यक गहना प्रदर्शन र प्रतिस्पर्धालाई भने बढवा दिनु हुँदैन ।

तीजको मूल मर्मलाई बुझेर यसलाई सभ्य र शालिनता पूर्वक श्रद्धा भक्तिका साथ मनाउने हो भने यसले अवश्य पनि समाजलाई सही बाटोमा डो¥याउने छ । आउनुहोस् यस वर्ष पनि एक आपसमा प्रेम बाँडेर तीज मनाऔं । पार्वतीको दृढता, स्वाभिमान, प्रेम, करुणा, विद्रोह, क्रोध र कुशल व्यवस्थापन सम्पूर्ण नेपाली महिलाका लागि महिला सशक्तीकरणको मूल मन्त्र बनोस् ।

सम्पूर्ण नेपाली आमा दिदी बहिनीको दाम्पत्य जीवन सुखमय होस्, परिवारमा सुख शान्ति छाओस् । समाज, राष्ट्र र विश्व प्रेममय होस्, आनन्दमय होस् हार्दिक हार्दिक शुभकामना । 



शुक्रबार २५, भदौ २०७८ ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.