आफ्नैले नपत्याएपछि अछामको साँफेबगरका मेयर कुँवर अल्पमतमा

नजिक न्युज संवाददाता    

आफ्नैले नपत्याएपछि अछामको साँफेबगरका मेयर कुँवर अल्पमतमा

बाजुरा : निर्वाचित वडा अध्यक्ष लगायत सदस्यले नपत्याए पछि साँफेबगरका मेयर कुल बहादुर कुँवर अल्पमतमा परेका छन् । नगरपालिकाका जितेका आठ ओटा वडाका चार जना सदस्य बाहेक कुनै पनि मेयरलाई साथ नदिए पछि कुँवर अल्पमतमा परेका हुन् ।

साँफेबगर नगरकार्यपालिकामा जम्मा २४ जना सदस्य रहेका छन् । जस मध्ये १४ जना नेकपा एमाले, ५ जना नेपाली कांग्रेस ५ जना नेकपा समाजवादीका रहेका छन् । नगर कार्यपालिकामा नेकपा एमालेबाट निर्वाचित ४२ जना जनप्रतिनीधि मध्ये ६ जना समाजवादी र बाँकी सबै नेकपा एमालेमै रहेका छन् ।  

मेयर कुँवरले विगत ४ बर्ष झैँ एकात्मक निर्णय गरे पछि सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले मानि हाल्छन् भन्ने सोच्नु भयो, तर हामी पार्टीले बनाएका जनप्रतिनीधि हौँ, मेयरले बनाएका हाईनौ नाम नखुलाउने शर्तमा एक वडा अध्यक्षले भन्नु भयो ।

आज सम्म मेयरले गरेका हरेक निर्णयमा हामीले समर्थन जनायौँ तर पार्टी नै परिवर्तन गर्ने कुरामा स्वविवेक प्रयोग गरेका छौँ । साँफेबगरका केहि जनप्रतिनीधिहरुले नेकपा एमाले टुक्रिए पछि बनेको माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी पार्टीलाई रोजे पनि नेकपा एमालेबाट निर्वाचित सम्पूर्ण वडा अध्यक्षहरुले भने नेकपा एमाले पार्टीलाई नै रोजेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले पनि माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी पार्टीलाई रोज्नु भएको छ । तर नेकपा एमालेबाट उम्मेदवार भई नगर प्रमुख बन्नु भएका कुँवरलाई एमालेबाटै उम्मेदवार भई निर्वाचित भएका वडा अध्यक्षहरुले भने साथ दिएका छैनन् ।

साँफेबगर नगरपालिकामा एमालेबाट आठ जना वडा अध्यक्षहरु निर्वाचित भएका थिए। वडा अध्यक्षहरुले नगर प्रमुख कुँवरले रोजेको नेकपा समाजवादी पार्टी रोज्नुको साटो आफू र आफू निर्वाचित वडाका वडा सदस्यहरु नेकपा एमालेमै रहेको भन्दै भदौँ १८ गते नै विज्ञप्ती समेत जारी गरेका थिए ।

विज्ञप्तीमा साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालगिरी कुँवर, ५ का अध्यक्ष उजिर सिंह साउँद, ६ का अध्यक्ष प्रेमराज शर्मा, ८ का अध्यक्ष टंक बहादुर कुँवर, ९ का अध्यक्ष धु्रब बहादुर थापा, १० अध्यक्ष लाल बहादुर खड्का, १३ का अध्यक्ष सागर सिंह बाब्ली र १४ का अध्यक्ष कर्ण बहादुर साउँदको हस्ताक्षर छ । 

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुँवरलाई नेकपा एमालेबाट निर्वाचित कुनै पनि वडा अध्यक्षले साथ नदिए पनि उपप्रमुख बिर्मला देवी बुड्थापाले भने साथ दिनु भएको छ। उपप्रमुख बुड्थापासंगै नगर कार्यपालिका सदस्य जयन्ती बोगटी र जित बहादुर निशानीले पनि साथ दिनु भएको छ ।

साँफेबगरका साथै जिल्लाका २१५ जना निर्वाचित जनप्रतिनीधिहरु मध्येबाट २७ जना जनप्रतिनीभिले नेकपा समावादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिएका छन् ।



बिहिबार २४, भदौ २०७८ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.