घरेलुको बार्षिक समीक्षा : ८४ प्रतिशत बजेट खर्च, ५०१ नयाँ उद्योग दर्ता

नजिक न्युज संवाददाता    

घरेलुको बार्षिक समीक्षा : ८४ प्रतिशत बजेट खर्च, ५०१ नयाँ उद्योग दर्ता

बाजुरा : घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७७।७८ को बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ । वर्षभरी कार्यालयले सम्पादन गरेका कार्यक्रम र प्रगति बारे जानकारी दिन समीक्षा कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख मानबहादुर चाडले बताएका छन् ।

कार्यालयले प्राप्त २ करोड १० लाख बार्षिक बजेट मध्ये १ करोड ८१ लाख ८५ हजार ९३ रुपैया खर्च गरेको छ । कुल बजेटको ८४ प्रतिशत बजेट खर्च गरेको देखाएको छ । नयाँ उद्योग सञ्चालन र उद्यम विकास सीप अभिवृद्धी कार्यमा राम्रो प्रतिफल हासिल गरेको कार्यालयले बताएको छ ।

गत आर्थिक वर्षमा मात्र ५ सय १ वटा नयाँ उद्योग दर्ता भएको र १ सय ५५ जना व्यवसायी थपिएका छन् । हालसम्म बाजुरामा २ हजार १ सय ९९ वटा उद्योग र ३ हजार १ सय ९६ वटा व्यवसाय दर्ता भएका छन् ।

गएको वर्ष मात्र २ सय बढीले विभिन्न सीप मुलक तालिम लिएको छन् । यो वर्ष २ करोड २९ लाख बार्षिक बजेट आएको छ । त्यो मध्ये ८० लाख प्रदेश सरकारबाटै व्यक्ति र फर्मका नाममा तोकेर आएको छ । समीक्षा कार्यक्रमका सहभागिले प्रदेश बाटै व्यक्ति र फर्मका नाममा बजेट तोकेर आउनु आर्थिक नियमावली विपरित कार्य भएको बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले आर्थिक ऐन नियमसँग नमिल्ने गरि आएका योजना कार्यान्वयनमा समस्या हुने भएकोले त्यसमा स्थानीय राजनीति दल तथा अन्य सामाजिक संयन्त्रले नै सुधारका लागि पहल गर्नु पर्ने बताएका छन् ।

यसैगरी नेकपा एमाले नेता काशी विकले व्यक्तिका नाममा योजना तोकेर आउने कार्य गलत भएकोले सुधार गरिनु पर्ने सुझाव दिएका छन् । कर्मचारी तहबाटै छानवीन गरेर मात्र अनुदान दिनु पर्ने बताएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका पदम ऐरले सहजिकरण गरेको समीक्षा गोष्ठीमा सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, नेकपा एमाले नेता काशी विक, नेपाली काँग्रेसका वीरबहादुर विक,, नेकपा माओवादी केन्द्रका गोरख सार्की सहीत सरकारी कार्यालयका प्रमुख सहीत सञ्चार कर्मीको उपस्थिति रहेको थियो ।  



बिहिबार १७, भदौ २०७८ ०७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.