बाजुरामा दुध, मासु र अण्डा उत्पादन ७ प्रतिशतले वृद्धि

नजिक न्युज संवाददाता    

बाजुरामा दुध, मासु र अण्डा उत्पादन ७ प्रतिशतले वृद्धि

बाजुरा : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले आर्थिक वर्ष २०७७।७८ को बार्षिक प्रगति समीक्षा गरेको छ । कार्यालयका तर्फबाट वर्षभरी सञ्चालन भएका गतिविधी र उपलब्धी बारे समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरेको हो ।

प्रदेश सरकार अन्र्तगत बाजुरा र अछाम जिल्लामा सेवा प्रवाह गरिहेको कार्यालयले बाजुरामा ७ करोड ४२ लाख बढी रकम बराबरको काम गरेको कार्यालय प्रमुख सिद्धराज जोशीले बताएका छन् ।

प्राप्त ८ करोड १९ लाख १९ हजार बजेट मध्ये ७ करोड ४२ लाख को काम गरेको छ । कार्यालयले ९५ प्रतिशत बजेट खर्चमा प्रगति देखाएको छ । २ वटा कार्यक्रम स्थानीय तहसँग प्रक्रियागत विषयमा कुरा नमिल्दा खर्च गर्न नसकिएपनि अन्य कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको प्रगतिमा देखाइएको छ ।

कार्यालयले यो वर्षमात्र ७ प्रतिशतले दुध, मासु र अण्डा उत्पादनमा वृद्धि भएको बताएको छ । विगतका वर्षको तुलनामा पशु विमा कार्यक्रम र अनुदानमुखि पशुपालन कार्यक्रमले गर्दा दुध, मासु र अण्डामा उल्लेख्य सुधार भएको कार्यालय प्रमुख सिद्धराज जैशीले बताएका छन् । 

बाजुरा केही समयमै अण्डा, दुध र मासुजन्य पदार्थमा आन्मनिर्भर हुने कार्यालयले प्रगतिमा देखाएको छ । जिल्लामा मात्र ९ करोड बढीको पशु विमा गरिएको छ । १ हजार ४ सय ५१ वटा पशु चौपाया जिल्ला बाहिर पठाईएको छ । ती मध्ये ५ सय १३ वटा भेडा च्याग्रा मात्र काठमाडौं पठाइएको तथ्याक कार्यालयसँग छ ।  

कार्यालयले यो वर्ष १ लाख ५५ हजार राजस्व संकलन गरेको छ । भने ५० हजार बढी पशु चौपायाको उपचार तथा खोप लगाउने कार्य गरेको प्रगतिमा देखाएको छ । बाख्रा फर्म, कुखुरा खोर सुधार देखि एकल महिलालाई बाख्रा वितरण, कुखुरा पालनमा उल्लेख्य सुधार देखाएको छ ।

प्रदेश कार्यालयबाट व्यक्ति, स्थान र फर्महरुको नाम नै तोकेर आउँदा वास्तविक किसानले सुविधा नपाएको गुनासो किसानहरुको रहेको छ  । पशु पालन गर्ने, खेती किसानी गर्नेले अनुदान नपाएर महलमा बस्नेलाई पावर र पहुँचको आधारमा अनुदान दिने गरेको आरोप टेकबहादुर बडुवालको छ । 

व्यक्ति, कम्पनी र स्थान तोकेर दिँदा वास्तविक किसानले राज्यको सुविधा लिन नपाएको र व्यवसायीक रुपमा पशुपालन क्षेत्रको विकास हुन नसकेकोले त्यस्ता गतिविधी रोक्न एमाले नेता काशी विकले समीक्षामा सुझाव दिएका छन् ।   

  कार्यालय प्रमुख सिद्धराज जैशीले प्रगति प्रतिवेदन प्रस्तुत गरेको समीक्षा कार्यक्रमको प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी रहनु भएको थियो । कार्यक्रममा उहाँले तोकीएका क्षेत्रमा गरिखाने किसानलाई समेटेर लगानी गर्न सके व्यक्ति र समाज दुबैको पक्षमा हित हुने बताएका छन् ।

कार्यालयमा नै आयोजना गरिएको समीक्षा कार्यक्रममा नेकपा एमाले नेता काशी विक, काँग्रेस नेता धनराज पण्डित, माओवादी केन्द्रका मनबहादुर विक, सरकारी कार्यालयका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आगामी वर्षको बार्षिक बजेट र कार्यक्रम शिर्षक पनि प्रस्तुत गरिएको थियो । यो वर्ष प्रदेशले कोरोनाका कारण बजेट घटाएर पठाएको बताएको छ । अघिल्लो वर्ष करिब ९ करोड बजेट आएकोमा यो वर्ष ६ करोड मात्र बजेट आएको र त्यो मध्ये १ करोड ९ लाख व्यवसाय सञ्चालन अनुदानका लागि आएको बताइएको छ । कार्यक्रमको सञ्चालन जगत थापाले गरेका हुन् । 

 



बुधबार १६, भदौ २०७८ ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.