कैलालीमा विद्यालय खोल्न प्रशासन लचिलो, के भन्छन् सिडिओ ?

नजिक न्युज संवाददाता    

कैलालीमा विद्यालय खोल्न प्रशासन लचिलो, के भन्छन् सिडिओ ?

धनगढी : कैलालीमा विद्यालय सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक देखिएको छ। सरोकारवाला निकायसंग छलफल सुरु गरेको जिल्ला प्रशासन कार्यालय कैलाली विद्यालय सञ्चलन गर्न सकारात्मक देखिएको हो।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विद्यालय सञ्चलन गर्ने विषयमा भोलि स्थानीय तहसंग बैठक राख्ने तयारी भइरहेको बताए। ‘अन्य सबै क्षेत्र लगभग खुला छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘शैक्षिक संस्था पनि सञ्चालनको माग भइरहेको छ। त्यसको प्रभावबारे छलफल गरेर निर्णय गर्छाै। स्थानीय प्रशासन भने विद्यालय सञ्चालन गर्न सकारात्मक छ।’

अन्य सबै क्षेत्र खुलिसकेको अवस्थामा कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै कैलालीसहित देशभरका अधिकांश जिल्लाका विद्यालय बन्द गरिएका छन्। तर विभिन्न जिल्लामा भने विद्यालय सञ्चलनको निर्णय भइसकेको छ।

बझाङका सम्पूर्ण विद्यालय सञ्चालन भएका छन् भने आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय सञ्चलनबारे निर्णय गरेको छ।

नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही स्थानीय तहहरुको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरि विद्यालयहरु सञ्चालन गर्न पाउने आदेश जारी भएको छ। 



बुधबार १६, भदौ २०७८ ०६:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.