काठमाडौँः वैदेशिक रोजगारीका लागि अफगानिस्तानको राजधानी काबुल पुगेर झन्डै एकदेखि १८ महिनासम्म कामविहीन भएका नेपाली कामदार अलपत्र परेका छन्। श्रम स्वीकृति नलिई भारतीय बाटो हुँदै काबुलमा पुगेर काम नपाएका नेपाली कामदार अलपत्र परेका हुन्। उनीहरुको उद्धारको जिम्मेवारी कसैले लिएका छैनन्। अलपत्र पर्ने नेपालीलाई होटल र घर भाडा लिई राखिएको छ।
कम्पनीमा काम गर्ने नेपालीको विषयमा खासै चिन्ता छैन। उनीहरुलाई कम्पनीले नै सुरक्षित ढंगले उद्धार गरिरहेको छ। हाम्रो कम्पनी पनि छैन। अफगानिस्तानमा बस्ने भिसा पनि छैन,'काबुलको गुजरागाँमा १९ महिनादेखि बस्दै आएका एक नेपालीले भने,‘हामी ३ जना एउटा पुरानो तीन कोठाको घरमा बसिरहेका छौं। एजेन्टले नेपाल पठाइदिन्छु त भनेको छ। तर उसले कसरी पठाउन सक्छ र ?’
विज्ञापन
उनी बसिरहेको ठाउँबाट काबुल विमानस्थलमा पुग्न गाडीमा ३० देखि ४५ मिनेट लाग्छ। उनी बाहेक दुई वटा होटल र एउटा घरमा २७ जना भिसा र कामविहीन नेपाली रहेका छन्। उनीहरु कसैले पनि सुरक्षाको कारणले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक गर्न चाहेका छैनन्। ‘काबुल आएदेखि नै सुत्ने र बस्ने मात्रै भएको छ। एकदिन काम गर्न पाइएको छैन,’ काबुलबाट उनले भने,‘ज्यानको माया लाग्न थालेको छ।’ अलपत्र पर्नेमा कास्की, गोरखा, कैलाली, स्याङ्जा, तनहुँ, लम्जुङ र चितवनका रहेका छन्।
उनीहरुले जतिसक्दो छिटो नेपालबाट उडान पठाएर आफूहरुलाई बाहिर निकाल्नको लागि आग्रह गरेका छन्। ‘हामीलाई यहाँबाट छिटो उद्धार गर्न उडान पठाउनको लागि सरकारलाई अनुरोध गर्दछौं,'एक होटलमा बसिरहेका अर्का नेपालीले भने,‘हामी होटलमा १३ जना छौं। हाम्रो जिम्मेवारी लिने कोही छैन।’ ती नेपालीका अनुसार काम नपाएका, भीसा नभएका र दुईदेखि १० जनासम्म समूह-समूहमा भएका नेपालीहरु एक सय ५० जनासम्म छन्।
प्रतिकृया दिनुहोस