क्लिनिकको लापरबाहीले भारतमा बाजुराका दुई जना बालकको ज्यान गयो

नजिक न्युज संवाददाता    

क्लिनिकको लापरबाहीले भारतमा बाजुराका दुई जना बालकको ज्यान गयो

बाजुरा :  भारतको नयाँदिल्लीमा एउटा क्लिनिकको लापरबाहीका कारण आइतबार साँझ एक नेपाली दम्पतीका कलिला दुई सन्तानको ज्यान गएको छ । बाजुरा बुढीगंगा नगरपालिका–५, नुवाघरका मनबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको स्वास्थ्यकर्मीको गलत औषधिका कारण मृत्यु भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको छ । 

मनबहादुरले दिल्लीमा १५ वर्षदेखि चौकीदार पेसा गर्दै आएका छन् । आइतबार अपराह्न दुवै बच्चाले बान्ता गरेपछि मनबहादुरले शालिमारबागस्थित शुभम डाइग्नोस्टिक सेन्टरमा लगेर जँचाएका थिए । 

‘क्लिनिकका स्वास्थ्यकर्मी वेदकुमार गर्गले दिएको औषधि खाएपछि दुई बालबालिकाले झनै धेरै बान्ता गरे,’ घटनापछि प्रहरी र नेपाली दूतावाससँग समन्वय गरेका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरवी खड्काले दिल्लीबाट टेलिफोन मार्फत बताएका छन् । 

‘दोस्रोपटक क्लिनिक लगेपछि बच्चालाई सुई लगाइएको र सुई लगाएपछि १०÷१० मिनेटको फरकमा दुवै बच्चाको मृत्यु भएको बुझीएको छ । दुवै बालबालिकाको मृत्युपछि मनबहादुरका आफन्तजन र नेपालीहरूले क्लिनिकबाहिर नाराबाजी गर्दै स्वास्थ्यकर्मीलाई कारबाहीका लागि माग गरेका थिए ।

लापरबाहीपूर्ण तरिकाले गलत औषधि दिएका कारण छोराछोरीको मृत्यु भएको भन्दै मनबहादुरले उनीविरुद्ध कडा कारबाहीका लागि सोमबार माग गरिएको खड्काले बताएका छन् । ‘बच्चाहरूलाई सुई लगाइदिने र औषधि दिने प्रहरीको निगरानीमा छन्, तर पक्राउ नगरिएको बुझीएको छ । 

प्रारम्भिक अनुसन्धानमा स्वास्थ्यकर्मी गर्ग एमबिबिएस डाक्टर नभएको खुलेको छ । ‘हाम्रा सिएमए टाइपका स्वास्थ्यकर्मी रहेछन्, उनको २५ वर्ष पुरानो सर्टिफिकेटमाथि प्रहरीले छानबिन थालेको छ, क्लिनिक बन्द गरिएको बताइएको छ । 

खड्काका अनुसार मृतक बालबालिकालाई आइतबार झांगिपुरी लगिएको थियो । ‘सफ्दरजंग अस्पतालसहित तीनवटा अस्पतालका डाक्टरलाई राखेर उनीहरूको शव पोस्टमार्टम  भएको हो । मृतकको १५ जना प्रहरीको उपस्थितिमा हैदरपुरस्थित घाटमा उनीहरूको दाहसंस्कार भयो ।’ मनबहादुर चौकीदार हुन् भने उनकी श्रीमती घरेलु कामदार हुन् । नेपाली दूतावासले पनि दिल्ली प्रहरीसँग समन्वय गर्दै मेडिकल ऐनअनुसार कडा कारबाहीका लागि आग्रह गरेको छ ।



बुधबार २०, साउन २०७८ ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.