बाजुरामा फैलियो बालबालिकामा ज्वरोको संक्रमण, विरामीमा देखिए कोरोनासँग मिल्ने लक्षण

नजिक न्युज संवाददाता    

बाजुरामा फैलियो बालबालिकामा ज्वरोको संक्रमण, विरामीमा देखिए कोरोनासँग मिल्ने लक्षण

बाजुरा : बाजुरामा पछिल्लो समय बालबालिकामा ज्वरोको संक्रमण देखिएको छ । ६ महिना देखि १० वर्ष उमेर समूहका बालबालिकामा ज्वरो र निमोनियाको संक्रमण देखिएको स्वास्थ्य कर्मीले बताएका छन् । 

ज्वरोको संक्रमण देखिएका बालबालिकामा कोरोनासँग मिल्ने लक्षण देखिएको र अधिकांशमा निमोनियाको समेत समस्या देखा परेको आरसी मेडिकलका सञ्चालक रामचन्द्र यादवले बताएका छन् ।सदरमुकाम आसपास मात्र नभएर संक्रमण जिल्लाका सबैजसो गाउँमा देखिएको छ । 

मेडिकलमा दैनिक ४० देखि ६० जना बालबालिका मात्र उपचारका लागि आउने गरेको यादवको भनाई छ । यादवका अनुसार उपचारमा आउने मध्ये ६० प्रतिशचत बढीमा ज्वरोको संक्रमण देखिने गरेको र ती मध्ये पनि अधिकांशमा निमोनियाँको संक्रमण देखिएको बताएका छन् । 

जिल्ला अस्पतालमा पनि दैनिक २० देखि ३० जना विरामी ज्वरोकै आउने गरेको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताएका छन् । ज्वरो र झडापखालाका विरामी बढेको अस्पतालले बताएको छ । 

कोरोनाको दोस्रो भेरियन्ट देखा परे जत्तीकै विरामीको चाप बढेको र विरामी मध्ये पनि बालबालिकामा बढी देखिएको स्वास्थ्य कर्मीले बताएका छन् । दोस्रो भेरियन्ट देखा पर्दा युवाहरुमा बढी समस्या र संक्रमण देखिएको थियो । यो पटक बालबालिकामा बढी समस्या देखिएको पूर्व स्वास्थ्य कार्यालय बाजुराका कर्मचारी समेत रहेका रामचन्द्र यादवले बताएका छन् ।

निजि मेडिकलमा उपचारका लागि आउने मध्ये बालबालिका नै बढी छन् । मार्तडीमा सञ्चालित सबैजसो मेडिकलमा ज्वरोका विरामी आउने गरेको पाइएको छ । जिल्ला अस्पतालमा पनि विरामी बालबालिकाको चाप बढेको छ । 

एन्टीजोन किट जाँचमा नेगेटिभ देखिएपनि लक्षण अधिकांशमा कोरोना कै देखिएको छ । जिल्ला अस्पतालले विरामी बालबालिकाको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि धनगढी पठाइएको छ । धनगढी पठाएका मध्ये ४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

तेस्रो चरण अन्र्तगत बालबालिकालाई बढी जोखिम रहेको स्वास्थ्य विज्ञहरुले पूर्व अनुमान गरिसकेका छन् । जिल्ला अस्पतालमा ५ जना ज्वरोका विरामी बालबालिकालाई उपचारका लागि भर्ना गरिएको छ । ती मध्ये २ जनालाई आकस्मीक कक्षमा राखिएको कार्यालय प्रमुख प्रकाशराज जोशीको भनाई छ । जिल्लामा फेरि कोरोनाको जोखिम बढेको अनुमान गरिएको छ । 

जिल्लामा पिसीआर मेसिन जडान र अक्सीजन पलान्ट सञ्चालनमा भइरहेको ढिलाईका कारण थप समस्या थपिने देखिएको छ । स्वाब जाँचकै लागि धनगढी पुग्नु पर्ने बाध्यता नहट्दा स्थानीय हैरान बनेका छन् । 



बुधबार २०, साउन २०७८ ०७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.