सुजिता ठाकुर हत्या आरोपमा उनकै बाबु पनि पक्राउ

नजिक न्युज संवाददाता    

सुजिता ठाकुर हत्या आरोपमा उनकै बाबु पनि पक्राउ

जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ।

जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको हत्याका लागि देवर रुपेशलाई उक्साएको तथ्य फेला परेको बताए। ‘अनुसन्धानका क्रममा यस्तो अडियो फेला परेको छ,’ डीएसपी विष्टले भने।

सुजिताको हत्यापछि देवर रुपेशले जेठ २५ गते सुजिताका बाबु कामेश्वरलाई जानकारी समेत गराएको पाइएको प्रहरीको भनाइ छ। ‘मेरो छोरी बदमास भइसकेकी, इज्जत प्रतिष्ठा फाली, भनेर मार्ने काममा उनले सहमति दिएको जस्तो देखिन्छ,’ विष्टले भने।

रुपेशले हत्या गरेर जानकारी गराएपछि कामेश्वरले हत्याको घटना लुकाउन रुपेशसँग बार्गेनिङ गरेको देखिएको पनि विष्टले बताए। सुजिताको हत्याको खबर पाएपछि कामेश्वरले बच्चाको नाममा जग्गा राखिदिनुपर्ने भनेर बार्गेनिङ गरेको र केही सीप नलागेपछि अरु व्यक्तिमार्फत प्रहरीमा आएको देखिएको डीएसपी विष्टले बताए।

प्रहरीले सुजिताकी नन्द अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ कुटी पोखरी बस्ने ५५ वर्षीय प्रमोद मण्डललाई पनि पक्राउ गरेको छ। सुजिताकी नन्द अञ्जुलाई समेत रुपेशले हत्यालगत्तै फोन गरेर जानकारी गराएको र अञ्जुले पनि यो कुरा लुकाएको प्रहरीको भनाइ छ।

प्रमोदले भने हत्या गरिएकी सुजिताको शव खेतमा गाडेको र २९ गते त्यहाँबाट उत्खनन् गरी ५ सय मिटर टाढाको सेफ्टी ट्यांकीभित्र लुकाउन संलग्न देखिएको प्रहरीको भनाइ छ।



सोमबार १८, साउन २०७८ ०६:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.