बुढीगंगा नदी थुनिएपछि...

नजिक न्युज संवाददाता    

बुढीगंगा नदी थुनिएपछि...

बाजुरा : मंगलबार रातिदेखिको अविरल वर्षाका कारण बाजुराको गौमूल गाउँपालिका हुँदै बग्ने बुढीगंगा नदी केही घण्टा थुनिएको गौमुल गाउँपालिका–२ का वडाध्यक्ष चक्रबहादुर बोहराले बताएका छन् । 

उनका अनुसार बेला–बेला पहाडमा जाने पहिरोका कारण बुढीगंगा नदी थुनिने र आफैँ खुल्ने क्रम जारी रहेको छ । सोहीअनुसार बुधबार थुनिएको बूढीगंगा नदी आफैँ खुलेको छ ।  

नदी खुलेसँगै बढेको बहावले एउटा जलविद्युत् आयोजना र त्योसँगै बनेको सिँचाइको नहर बगाएको बोहरालाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए । 

यस्तै विस्तारै थुनएको नदी खुल्दै गएपछि बाढीको बहावका कारण स्थानीय स्तरमा खुलेको लोक्ता उद्योग र अर्को एउटा जडीबुटी प्रशोधन केन्द्र बगाएको उहाँले बताए । 

नदी थुनिएपछिको अवस्था अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको टोली बिहानै त्यसतर्फ गएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट त्यस स्थानमा पुग्न ६ घण्टा बढी समय लाग्छ । जसका कारण बिहान गएको टोली अपराह्नमात्र गाउँ पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

बूढीगंगा थुनिने र खुल्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बस्ती जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउनु पर्नेमा जोड दिइएको छ ।  



बिहिबार १४, साउन २०७८ ०२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.