अमेरिकामा फुच्चे धावकको चर्चा, टोकियो ओलम्पिकमा स्वर्ण जित्ने अपेक्षा

नजिक न्युज संवाददाता    

अमेरिकामा फुच्चे धावकको चर्चा, टोकियो ओलम्पिकमा स्वर्ण जित्ने अपेक्षा

कृष्णराज खनाल
टोकियो ओलम्पिक नजिकिँदै जाँदा अमेरिकाका एकजना फुच्चे धावकले चमत्कारिक प्रदर्शन गरेर सबैको वाहवाही लुटेका छन् । इरियोन नाइटन नाम गरेका अमेरिकाको फ्लोरिडा राज्यका १७ वर्षे धावकले १०० र २०० मिटर दौडमा चमत्कारिक प्रदर्शन गरेपछि टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने अपेक्षा गरिएको छ । अमेरिकाको खेलकुद क्षेत्रमा आइतवार उनले देखाएको प्रदर्शनपछि उनको चरित्चर्चा हुने गरेको छ । सन् १९६४ पछि ट्रयाक एण्ड फिल्डमा यति कम उमेरका खेलाडी सहभागी हुने भएको यो पहिलोपटक हो ।

उनी वाधादौडका खेलाडी हुन् । वाधादौडमा संसारका सवैभन्दा चर्चित धावक उसिन वोल्टको कीर्तिमानलाई भंग गरेर उनी एकाएक चर्चामा आएका हुन् । आइतवार टोकियो ओलम्पिकका लागि ओरेगन राज्यको युजिनमा आयोजना गरिएको २०० मिटरको परीक्षणमा उनले १९ दशमलव ८४ सेकेण्डमा उक्त दूरी पूरा गरी तेस्रो स्थान प्राप्त गरेका थिए । हाल १८ र २० वर्षभन्दा मुनिको उमेर समूह अन्तर्गत २०० मिटर र १०० मिटर दौडमा उनको कीर्तिमान छ । १०० मिटर दौड उनले १० दशमलव १६ सेकेण्डमा पूरा गरेका थिए ।

नाइटनले उसिन वोल्टले युवा कालमा राखेका २०० मिटरका दुइवटा कीर्तिमान भंग गरिसकेका छन् । वोल्टले सन् २००३ र २००४ मा कायम राखेको १८ र २० वर्षभन्दा मुनिको समूहको कीर्तिमानलाई भंग गरेका थिए
स्कुल स्तरमा अमेरिकी फुटबलमा सहभागी नाइटनले फुटबलका प्रशिक्षकहरुकै कारण वााधादौडमा करिब दुइ वर्ष अघिमात्र पाइला चालेका हुन् । छ फिट तीन इन्च उचाइका नाइटनको एक सय ७० पाउण्ड तौल छ ।

नाइटनको दौडप्रति लगाव छ । उनी भन्छन् दौडमा जीवनको सफलता नितान्त मेरो हातमा छ र मलाई थाहा छ, म यो गर्न सक्छु । उनले आफ्नो इन्टग्राममा राखेका छन् मलाई मेरो महत्ता थाहा छ, मैले आफ्नो प्रतिविम्व देखेको बेलामा आफूलाई महान् देख्छु । हाल उनी इम्पोसिवल इस नथिंग भन्ने व्राण्डका हिस्सेदार हुन् ।

जापानको टोकियोमा आगामी जुलाई २३ तारिखदेखि ओलम्पिक खेल आयोजना हुँदैछ । यो खेलमा उनको प्रदर्शन कस्तो हुनेछ, त्यो त समयले नै बताउनेछ । साभार गाेरखापत्र अनलाइनबाट 

(खनाल पूर्व गाेरखापत्रकर्मी तथा हाल अमेरिकामा क्रियाशील पत्रकार हुनुहुन्छ।)



शनिबार १९, असार २०७८ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.