संकटमा साथ नदिने नेपाली नागरिक नै होइनन् : निर्देशक अवस्थी

सरकारकाे निर्देशन नमान्ने जाेकोहीलाइ कारवाही गर्ने चेतावनी

नजिक न्युज संवाददाता    

संकटमा साथ नदिने नेपाली नागरिक नै होइनन् : निर्देशक अवस्थी

बाजुरा : सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सिंगो सृष्टीलाई परेको संकट समाधान गर्न सबै मानव जातिको एकता र सहकार्य आवश्यक रहेको बताएका छन् । जाति, भूगोल र कुनै देश बिशेष समस्या नभई सिंगो सृष्टिलाई नै आक्रान्त बनाएकोले साधानमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् ।

रेडियो बाजुराको कार्यक्रम कोरोना विरुद्धको संवाद र सहकार्यमा डाक्टर अवस्थीले विधी, व्यवस्था सबैले मान्नु पर्ने र संकटको समयमा झनै नागरिक थप जिम्मेवार र उत्तरदायि हुनु पर्ने बताएका छन् । कुलश प्रशासक र इमान्दार कर्मचारीको छवि बनाएका डाक्टर अवस्थीले संकटको समयमा देशलाई साथ नदिने व्यक्ति वा पेशाकर्मीलाई देशको नागरिक भन्ने अधिकार नभएको बताएका छन् । 

संटकको समयमा स्वतन्त्रता खोज्नु गैर जिम्मेवारी कदम हुने अवस्थीको भनाई छ । संविधान सबैले मान्नु पर्छ, हामी कोही पनि संविधान र राज्यको व्यवस्था माथि छैनौ, यस्तो संकटमा पनि स्वतन्त्रता खोज्ने र सहयोग नगर्ने नेपाली नागरिक नै होइनन, अवस्थीले भन्नु भयो ।

युद्धमा सेना अघि सर्नु पर्छ, यतिबेला स्वास्थ्य कर्मीले अघि सर्ने र संकट समाधानमा इमान्दारपूर्व सेवा प्रवाह गर्ने बेला स्वतन्त्रता खोज्ने र बाहना बनाउने राज्यको कानुनले कसैलाई छुट नदिने चेतावनी दिएका छन् । निर्देशनालयले पठाएको चिठीको जिल्ला अस्पतालमा कार्यरत डाक्टर राजुराज जोशीले नमानेको तर्फ संकेत गर्दै अवस्थीले निर्देशन नमान्नेको हकमा कारवाही गराएरै छोड्ने बताएका छन् ।

सरकारले पठाएका ३३ जना चिकित्सकहरुको टोली प्रत्येक जिल्लामा बस्ने गरि माग गरिएकोले सोही बमोजिम कार्यक्षेत्रमा खटिन सुझाव दिएका छन् । हामीले कम्तीमा १ महिनाका लागि नौ वटै जिल्लामा पठाउन विज्ञ टोली माग गरिएकोले अन्य जिल्ला गईसकेकोले ३ जना बाजुरा बस्नु पर्ने बताएका छन् । 

आवश्यकता पर्दा बाजुरा सदरमुकाम मार्तडी मात्र नभई कोल्टी र क्वारेन्टाइन स्थल निर्माण गरिएका क्षेत्रमा पनि पुग्ने पर्ने अवस्थीको धारणा छ । देशमै सबैभन्दा बढी किट मगाएर परिक्षण र तयारी व्यवस्थापनमा सुदूरपश्चिम प्रदेश पहिलो नम्बरमा रहेको दाबी गरेका छन् । 

सामाजिक सञ्जालमा के लेखियो भन्ने विषयले अर्थ नराख्ने भएकोले सरकारको योग्यताले भ्याएसम्मको सबै प्रकारको तयारी गरिरहेको र स्वास्थ्य कर्मी, स्वास्थ्य सामाग्री कमी नहोस भन्ने पक्षमा निर्देशनालय रहेको बताएका छन् । औषधी अभाव, स्वास्थ्य कर्मीको खर्च व्यवस्थान र राहत वितरणमा स्थानीय तह जिम्मेवार हुनु पर्ने सुझाव अवस्थीको छ ।

बजेट स्थानीय तहमा आएको छ, त्यसको सहीत ठाउँमा समयमै खर्च गर्ने नीति स्थानीय तहको हुनु पर्ने, श्रोत आफूसँग भएकोले प्रदेश र संघकै भर पर्नु पर्ने अवस्था छैन्, बरु खरिदका लागि समन्वय निर्देशनालय गर्न सक्ने बताएका छन् । 

महामारीमा जातजाती धर्म राजनीतिक विचार नहुने भएकोलाई मानवीय व्यवाहार गर्न अपिल गरेका छन् । निर्देशक डाक्टर अवस्थीले र्यापिड टेष्टमा आशंका नगर्न आग्रह गरेका छन् । स्वास्थ्य विज्ञानले नै प्रमाणित गरेकोले पोजेटिभ देखिनु कुनै न कुनै प्रकारको कोरोना थियो भन्ने संकेत गरेकोले सचेत हुन समेत आग्रह गरेका छन् । 



शुक्रबार १२, बैशाख २०७७ ०३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.