श्रीमतीसँगै सुतेकी छोरीलाई बलात्कार गरी बुवाले गर्भवती बनाएपछि...

नजिक न्युज संवाददाता    

श्रीमतीसँगै सुतेकी छोरीलाई बलात्कार गरी बुवाले गर्भवती बनाएपछि...

सरेन जैरु/विन्दु चन्द, धनगढी:   कञ्चनपुरकी एक १३ वर्षीया बालिका आफ्नै बुवाको गर्भ बोक्न बाध्य छिन्। जिल्लाको बेदकोट नगरपालिका–३ की १३ वर्षीया बालिका आफ्नै ५५ वर्षीय बुवाको गर्भ बोक्न बाध्य भएकी हुन्। बुवाले पटकपटक बलात्कार गरेर गर्भवती बनाएको उनको आरोप छ।  

यसरी भयो घटना
ती बालिकाका बुवा किसान हुन्। उनी खेतीपातीको काम गर्दै आएका थिए। पीडित बालिकाका अनुसार उनको ६ जनाको परिवार छ। 

बालिका भन्छिन्, ‘मलाई थाहा छैन, पहिले ममाथि बुवाको दृष्टि राम्रै थियो। तर घटना कसरी घट्न पुग्यो थाहा छैन। गर्मीको समय थियो। हाम्रो सानो घर छ। भित्री तलामा दाईको परिवार बस्छन्। बहिनी, म, आमा र बुवा भुँईतलामा सँगै सुत्थ्यौँ। अलग–अलग सुत्न ठाउँ छैन। त्यसैले एउटै ओछ्यान लगाएर सुत्ने गर्छौँ। छेउमा बाबा सुत्नुहुन्थ्यो। त्यसपछि बहिनी, आमा अनि म लहरै सुत्ने गथ्यौँ।' 

तर रातिको समयमा बुवा उठेर आफू भएको ठाउँमा आउने गरेको उनी बताउँछिन्। ‘राति सुतेपछि बुवा उठेर मेरो छेउमा आउनुभयो। अनि मसँग गलत हर्कत गर्न थाल्नुभयो।’ जवरजस्ती गर्न थालेपछि म चिच्याउन थालेँ...’ उनी भक्कानिइन्, ‘पीडा हुन थालेपछि म जोरले कराएँ। बुवाले मुख थुनेर ममाथि जवरजस्ती गर्न थाल्नुभयो।’ 

जवरजस्ती करणी भएको ३/४ दिनपछि पीडित बालिकालाई उनका बुवाले कसैलाई भने, पिट्ने र ज्यान मार्ने धम्कीसमेत दिएका थिए। उनी भन्छिन्, ‘घटनाको ३/४ दिनपछि कसैलाई भनिस् भने, तँलाई हान्छु र मार्दिन्छु भनेर बुवाले धम्काउनुभयो। डरले मैले त्यो कुरा कसैलाई पनि भनिन्।’ त्यसपछि हरेक दिन आफूमाथि बुवाले बलात्कार गर्ने गरेको उनी बताउँछिन्।

आमासँगै सुत्ने उनले आफ्नै बुवाबाट बलात्कृत भएको कुरा आफ्नै आमालाई पनि भन्न सकिनन्। ‘आमासँगै सुतेका बेला त्यस्तो हुन्थ्यो। म कराएको आमाले सुनेको होला भनेर मैले भनिन्। त्योमाथि बुवाको धम्की सम्झदाँ कसैलाई भन्ने आँट पनि गर्न सकिन्’  उनले भनिन्, ‘म पीडाले कराउँदा पनि आमालाई थाहा भएन्। मलाई त लाग्छ, आमाले जानीजानी नजानेको जस्तो गरेकी हुन्।’ 

समाजमा इज्जत जाने डरले घटनालाई परिवारले लुकाएको देखिन्छ। पीडितका दाईले पनि आफूलाई ८ महिनासम्म घटनाबारे थाहा नभएको बताए। उनी भन्छन्, ‘छिमेकमा हल्ला सुनेपछि परिवारका अन्य सदस्यलाई सोधेँ। बहिनीले बताएपछि घटनाबारे थाहा पाएको हुँ।’

भारतमा रोजगारी गर्दै आएका उनी केही दिन अघि मात्रै कञ्चनपुर फर्केका हुन्। 

यसरी बाहिरियो घटना
पीडित बालिकाको शरीरमा परिवर्तन देखिन थालेपछि छिमेकीमा गाँइगुँइ हुन थाल्यो। र छिमेकीले शंकाका आधारमा शान्ति पुर्नस्थापना गृह कञ्चनपुरलाई जानकारी गराए। 

२०७८ जेठ १६ गते शान्ति पुर्नस्थापना गृहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा पीडित बालिकालाई उद्दार गरेको थियो। बालिकाको उद्दार गरे लगत्तै दोस्रो दिन जेठ १७ गते कञ्चनपुर प्रहरीले पीडित बालिकाका ५५ वर्षीय बुवालाई पक्राउ गर्यो। 

पीडित बालिकाले गर्भमा रहेको बच्चा आफ्नै बुवाको भएको भन्दै आरोप लगाएपछि प्रहरीले पीडितका बुवालाई पक्राउ गरेको थियो। पीडकले पनि आरोप स्विकार गरिसकेका छन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आरोपित पुरूषलाई जिल्ला अदालत कञ्चनपुर चलान गरिएको छ। 

के हुन्छ पीडित बालिकाको भविष्य ?
पीडित बालिकाको गर्भमा ८ महिनाको बच्चा छ। उनलाई अहिले शान्ति पुर्नस्थापना गृह कैलालीको संरक्षणमा राखिएको छ। 

शान्ति पुर्नस्थापना गृह कञ्चनपुरले प्रसुतिका लागि उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याएको थियो। शल्यक्रियामार्फत प्रसूति गराउने भनिएपनि डाक्टरको सल्लाहअनुसार उनको एक महिनापछि सामान्य प्रसुति गरिने शान्ति पुर्नस्थापना गृह कञ्चनपुरका प्रमुख सञ्जित सिँहले बताए।

प्रसूतिपछि जन्मेको शिशुलाई राष्ट्रिय बालबालिका आयोगको जिम्मा लगाइने र पीडित बालिकालाई २० वर्ष पुगुञ्जेलसम्म बस्न र पठनपाठन गराउन कुनै सामाजिक संस्थालाई जिम्मा लगाइने सिँहले बताए।

 पछिल्लो समय बालबालिकाहरू आफन्तबाटै बलात्कारको शिकार बन्न पुगेका छन्। यस्ता घटनाहरुबाट बालबालिकाहरूलाई बचाउन परिवारजनले विशेष सावधानी अपनाउन जरूरी छ।( दिनेश खबर)



आइतबार ०६, असार २०७८ ०७:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.