सुदूरपश्चिममा जडिबुटी प्रशोधन कारखाना स्थापना गर्न प्रदेश सरकार असफल

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा जडिबुटी प्रशोधन कारखाना स्थापना गर्न प्रदेश सरकार असफल

वीरेन्द्र भट्ट, धनगढीः  जडिबुटी प्रशोधन कारखाना स्थापना गर्न सुदूरपश्चिम प्रदेश सरकार असफल भएको छ। चालु आर्थिक वर्षका लागि कञ्चनपुरमा जडिबुटी कारखाना स्थापनाका लागि भन्दै १२ करोड विनियोजन गरिएकोमा प्रदेश सरकारले कुनै काम गर्न नसकेपछि बजेट फ्रिज भएको हो। 

जडिबुटी प्रशोधन कारखाना स्थापनाका लागि यसअघि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल सरकारबाट स्थापित र सञ्चालित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडबीच सहमति भएको थियो।

उच्च सम्भावना भएको जडीबुटीको उत्पादन, संकलन र प्रशोधन तथा विकासका लागि प्रदेश जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी स्थापनाका लागि सम्झौता मात्र भयो, काम केहि पनि हुन सकेन मन्त्रालयका एक अधिकारीले भने।

सुदूरपश्चिम जडीबुटीको भण्डार भएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुरमा जडीबुटी प्रशोधन कारखाना स्थापनाको प्रक्रिया कोरोना भाइरसको दोस्रो लहरका कारण प्रभावित बन्न पुगेको बताए।

प्रदेशभित्र वनमा आधारित उद्योगहरुबाट २९ लाख ७७ हजार क्युफिट काठ उत्पादन भएको प्रदेश सरकारले दाबी गरेको छ। प्रदेशका ९ ओटै जिल्लामा गरी वनमा आधारित उद्योग लगायत गरी झण्डै ११ हजार उद्योग दर्ता भएको पाइएको छ।

प्रदेश सरकार गठनयता मात्र ९ हजार ८५४ नयाँ उद्यमी सृजना भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ। प्रदेश सरकारले यो अवधिमा ६९१ उद्यमीलाई विभिन्न प्रविधि हस्तान्तरण गरेको दाबी गरेको छ।

२ हजार ३६३ लघु उद्योग, २०८ घरेलु उद्योग, ८ हजार ३५६ साना उद्योग र एउटा मझौला उद्योग गरी १० हजार ९२८ उद्योग दर्ता भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरतबहादुर श्रेष्ठले जानकारी दिए।

मन्त्रालयका अनुसार ५ हजार ७१८ उद्योगको नवीकरण, ९ हजार ८५४ जना नयाँ उद्यमी सृजना, एक हजार ९०४ जना पुराना उद्यमीलाई पुनर्ताजगीकरण र ६९१ उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको उल्लेख छ। 

वनमा आधारित उद्योगबाट २९ लाख ७७ हजार ८० क्युफिट काठ र ३ हजार ४४७ चट्टा दाउरा उत्पादन भएको मन्त्रालयको दाबी छ। विभिन्न प्रजातिका जडीबुटी उत्पादनबाट २६ लाख २० हजार ५७६ किलो निकासी भएको तथ्यांक छ। त्यस्तै जडीबुटीका ९ लाख २६ हजार ५०० बिरुवा उत्पादन गरिएको उल्लेख छ।

विभिन्न प्रजातिका ४० लाख ३१ हजार ५५४ बिरुवा उत्पादन, १५ हजार ९३८ हेक्टर वन क्षेत्रमा १४४ ओटा सामुदायिक समूह गठन गरी वन हस्तान्तरण, ७५२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै २०२ हेक्टर अतिक्रमित वन क्षेत्रलाई खाली गराई वन क्षेत्र कायम, वन अपराध सम्बन्धी २७१ जनामाथि वन मुद्दा दायर र जिल्ला वन पैदावार समितिमार्फत ७९ हजार ७३७ क्युफिट काठ संकलन गरी एक हजार २८१ घरधुरीलाई घर निर्माण तथा मर्मतका लागि वितरण गरिएको छ। साथै वन पैदावार विक्रीबाट ३४ करोड १८ लाख राजस्व संकलन भएको तथ्यांक छ।



शनिबार ०५, असार २०७८ ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.