बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

नजिक न्युज संवाददाता    

बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

बाजुरा : लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन। गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन्। उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन्।

हिमाली–४ फैतीको दलित बस्तीका २५ परिवार र वडा नम्बर ६ को बोल्डिकका १५ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए। 

गाउँभन्दा तलबाट पहिरो बग्न थालेपछि फैतीका चार घर पूर्णरूपमा क्षति भएको र २१ घरमा आंशिक क्षति पुगेको अध्यक्ष मल्लले बताए। फैति र बोल्डिकमा गाउँभन्दा तलबाट जमीन भासिएपछि उक्त गाउँमा स्थानीयवासी विस्थापित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले जानकारी दिए। जमीन भासिएर घरमा क्षति पु¥याएपछि स्थानीयवासीको उद्धार गरी सुरक्षित ठाउँमा लगिएको उनको भनाइ छ। 

यस्तै सोही गाउँपालिका–६ बोल्डिकमा पनि कर्णाली करिडोरको सडकमा पहिरो गएर गाउँको जमीनसमेत भासिएपछि स्थानीयवासीलाई उद्धार गरी आफन्त र सुरक्षित ठाउँमा सारेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए। जोखिममा रहेका ४० परिवारलाई विद्यालय र आफन्तकोमा सारेर गाउँपालिकाले खाद्यान्नलगायतका राहत सामग्रीसमेत उपलब्ध गराएको धिकृत भण्डारीले बताए। 

बोल्डिकका विस्थाापित परिवारलाई त्रिपाल, भाँडाकुँडा, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको छ। फैतीका विस्थापित २५ परिवारलाई पनि राहत वितरणका लागि त्रिपाल, खाद्यान्न, भाँडाकुडालगायतका सामग्री लिएर गाउँपालिकाको टोली फैती गएको गाउँपालिकाले जनाएको छ। 

स्वामीकार्तिकमा घर माथिबाट पहिरो बग्न थालेपछि १२ परिवार विस्थापित 

जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक गाउँपालिका–१ चिसापानी जोरुमा घर माथिबाट पहिरो बग्न थालेपछि शुक्रबार १२ परिवार विस्थापित भएका छन्। घरभन्दा माथिबाट लगातार पहिरो बग्न लागेकाले जोरुका ती परिवार घर छाडेर आफन्तको घरमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए।  

लगातारको अविरल वर्षाका कारण जिल्लाका दर्जनौँ बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन्। भिरालो जमीन र खुकुलो माटो भएका कारण जिल्लामा पहिरो जाने गरेको छ। त्यस्तै स्वामीकार्तिककै ३ मा पनि घर तलबाट पहिराे बग्न थालेपिछ पुरै गाउँनै पहिराेका उच्च जाेखिममा रहेका बताइएकाे छ । पहिराे बग्न थालेपिछ उक्त्त ठाउँका स्थानीय स्कुलमा बसिरहेका छन् । 

May be an image of outdoors



शनिबार ०५, असार २०७८ १०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.