राजनीति होइन, संकटमा सेवा नीतिको भावना राखौं : काँग्रेस नेता गिरी

बाजुरा जिल्ला स्तरीय सर्वपक्षीय संयन्त्र बनाउन आग्रह

नजिक न्युज संवाददाता    

राजनीति होइन, संकटमा सेवा नीतिको भावना राखौं :  काँग्रेस नेता गिरी

बाजुरा : नेपाली काँग्रेसका नेता एवम् भूमिसुधार तथा व्यवस्था पूर्व सहायक मन्त्री जनकराज गिरीले राजनीति, आस्था र विचार भन्दा माथी उठेर संकटलाई समाधान गर्नुको विकल्प नरहेको बताएका छन् । सिंगो सृष्टीलाई समान तरिकाको संकट आइलागेको बेला आपसी एकता र उच्चतम् मानवीय भावना देखिन आग्रह गरेका छन् । 

रेडियो बाजुराको कार्यक्रम कोरोना विरुद्धको संवाद र सहकार्यमा गिरीले राजनीतिको ‘र’ समेत उच्चारण गर्न संकट आवश्यक नरहेको बताएका छन् । राजनीति मानव जातिको अस्तित्व कायम हुन सकेमात्र हुने भएकोले मानव जातिको रक्षाका लागि कोरोनासँगको लडाइ जित्न आवश्यक रहेको बताएका छन् ।

तेरो, मेरो, आस्था र विचारको सम्बन्धले संकटमा कुनै अर्थ राख्ने अवस्था छैन्, महाशक्ति राष्ट्रलाई घुँडा टेकाएको कोरोना भाइरलाई सावधानी, सुरक्षा र सहकार्यले मात्र परास्त गर्न सकिने भएकोले सरकारले जारी गरेको लकडाउनको नियम मान्नु बाहेक अर्को विकल्प नरहेको बताएका छन् ।

सरकारले क्षमता अनुसारको तयारी र व्यवस्थापन गरेको बारे प्रंशसा गर्दै गिरीले केही थप सुधार र सुरुवाद गर्नु पर्ने काम अघि बारे सचेत हुन आग्रह गरेका छन् । अर्थतन्त्र र उत्पादन प्रति सरकार बेलैमा सचेत नभई रोग र भोक दुबैले समस्या निम्त्यान सक्ने भएकोले उत्पादन र कृषि क्षेत्रलाई जोगाउने नीति ल्याउन सुझाव दिएका छन् । 

विकासवादी चिन्तन र योजना बनाउन सक्ने नेताको छवी बनाएका गिरीले बाजुरा जिल्ला स्तरीय सर्वपक्षीय संयन्त्र बनाउन आग्रह गरेका छन् । अगुवाई जो कोहीले गरेपनि, अहिलेकै प्रविधीलाई उपयोग गर्दै लकडाउनकै बीच संयनत्र बनाएर भविष्यमा आईपर्ने संटक समाधानका लागि सबै पक्ष सचेत र सजग हुनु पर्नेमा जोड दिएका छन् । 

संकटसँग लड्न दीगो विकास र उत्पादन पहिलो विकल्प हुने भएकोले विदेशमा रहेको लाखौंको संख्यालाई समेत देशभित्र पाल्न र काम दिन सक्ने खालको नीति राज्यले अबलम्बन गर्न सुझाव दिएका छन् । राजनीतिक आस्था र विचारका आधारमा गिराउने र उठाउने अनि हर विषयमा विरोध मात्र गर्ने प्रवृत्तीको अन्त्य जरुरी रहेको बताएका छन् ।

गिरीले सरकारले संकटमा आलोचना र गुनासा सुन्न सक्ने क्षमता राख्नु पर्ने र आम नागरिकले सरकारका कदमलाई सहयोग गर्नु पर्ने सुझाव दिएका छन् । समस्यामा पर्दा सबैले पीडा सुनाउन सक्ने भएकोले अभिभावकीय जिम्मेवारीका साथ जनताका समस्या बारे राज्य बढी चिन्तीत हुनु पर्ने बताएका छन् । 

मान्छे बाँच्ने कुरामा सचेत रहनु पर्नेमा जोड दिएका गिरीले जिल्लामा स्थानीय तहले गरेको तयारी र व्यवस्थापन प्रशसनीय रहेको बताएका छन् । गिरीले फरक प्रंसगमा बोल्दै अध्यादेश जारी गर्ने उपयुक्त बेला नभएको बताएका छन् । लोकतन्त्रिक व्यवस्थामा अध्यादेश ल्याउन कुनै नौलो कुरा नभएपनि संकटको बेला ल्याउनु राम्रो नभएको बताएका छन् । गिरीले अध्यादेश दल बिशेष लक्षित गरेर आएको हुन सक्ने आंशका गरेका छन् । 



बुधबार १०, बैशाख २०७७ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.