उद्योग वाणिज्य संघ बाजुराका द्धितीय उपाध्यक्ष रोकायाको कोरोनाका कारण मृत्यु

बुधबार मार्तडी बजार बन्द हुने

नजिक न्युज संवाददाता    

उद्योग वाणिज्य संघ बाजुराका द्धितीय उपाध्यक्ष रोकायाको कोरोनाका कारण मृत्यु

बाजुरा : उद्योग वाणिज्य संघ बाजुराका द्धितीय उपाध्यक्ष धर्मबहादुर रोकायाको कोरोनाका कारण मृत्यु भएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार गराइरहेका रोकायाको आज दिउँसो मृत्यु भएको अस्पतालले बताएको छ । 

कोरोनो संक्रमण देखिएलगत्तै जिल्ला अस्पताल बाजुरामा भर्ना भएका रोकायालाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो । आइसीयुमा राखेर उपचार गराउनु पर्ने अवस्था आएपछि अस्पतालले दुई साता अघि रिफर गरेको हो ।

गौमुल गाउँपालिका २ घर भएका रोकायामा निमोनियाको संक्रमण बल्झीएको थियो । बाजुरा जिल्ला अस्पताल बाजुराले रिफर गरेका चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमै उपचारका क्रममा र एक जनाको बीच बाटोमै मृत्यु भएको हो ।

बुधबार बजार बन्द हुने 

मार्तडी बजार बुधबार दिनभर बन्द हुने भएको छ । निषेधआज्ञा भएपनि विहान ६ देखि ९ बजेसम्म खुल्ने बजार भोलिदिनभर बन्द हुने भएको हो । उद्योग वाणिज्य संघ बाजुराका द्धितीय उपाध्यक्ष धर्म रोकायाको मृत्यु पछि शोक मनाउन एक दिन बजार बन्द गरिने बताईएको छ ।  

रोकायाको डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणका कारण लामो समय देखि आइसीयुमा उपचार गराइरहेका थिए । उद्योग वाणिज्य संघको अनुरोधमा बजार बन्द गर्न लागिएको संघका कार्यालय सचिव टेकबहादुर धामीले बताएका छन् ।

गौमुल गाउँपालिका २ घर भएका रोकाया लामो समयदेखि व्यापार व्यवसायमा आवद्ध थिए । बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ सहीतका निकायले रोकायाको मृत्यु प्रति दुख व्यक्त गरेका छन् । 



मङ्गलबार १८, जेठ २०७८ ०८:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.