बुढीगंगा नगरपालिका १ नम्बर वडा कार्यालयका विरुद्ध स्थानीय आन्दोलित

नजिक न्युज संवाददाता    

बुढीगंगा नगरपालिका १ नम्बर वडा कार्यालयका विरुद्ध स्थानीय आन्दोलित

बाजुरा : बुढीगंगा नगरपालिका १ नम्बर वडा कार्यालयको कार्यशैली प्रति स्थानीय असन्तुष्ट बनेका छन् । जनप्रतिनिधीले आफू अनुकुल र पक्षीय व्यवाहारले काम गर्ने गरेको आरोप सहीत वडा स्थित टागाउँ कुडी लगायतका बस्तीमा स्थानीय असन्तुष्ट बनेका हुन् ।  

वडा स्थित टागाउँ र कुडीका स्थानीयले वडाका जनप्रतिनिधीको कार्यशैलीमा सुधार आउनु गर्ने र जनताका माग प्रति उत्तरदायी हुनु पर्ने भन्दै वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । चार वर्षदेखिको माग प्रति जनप्रतिनिधी जिम्मेवार नबनेपछि कार्यालय तालाबन्दी देखि बाटो अवरुद्ध सम्मको कार्य गर्नु परेको लालबहादुर सिंहले बताएका छन् ।

स्थानीयले वडा कार्यालयमा तालाबन्दी र बल्दे आटीचौर सडकखण्डमा अवरोध समेत गरेका छन् । वडा सदस्य चक्र पाध्याय र अस्थायी प्रहरी चौकी आटीचौरको रोहबरमा सडक सञ्चालन गर्न स्थानीय सहमत भएपनि वडा कार्यालयमा भने ताला लगाएका छन् ।

बैशाख २३ गते आएको असिना पानी र बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन गर्न समेत स्थानीय जनप्रतिनिधी तयार नभएको, अनुगमनका लागि अनुरोध गर्दा पनि सुनुवाई नभएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

कार्यबाहक वडा अध्यक्ष लली थापाले माग बारे चासो नै नदिएको, राजनीतिक आग्रह जोडेर काम गर्ने गरेको, नगर प्रमुखलाई जानकारी गर्दा पनि हुन्छ भन्ने आश्वासन मात्र दिएको आक्रोश स्थानीयको छ । स्थानीयले बल्दे आटीचौर सडकले बस्ती नै उठिबासको अवस्थामा पुर्याएकोले ढल निर्माण गर्न माग गरेका छन् ।

चार वर्षदेखि अनुरोध गर्दा पनि वडा कार्यालयले माथिल्लो निकायमा सिफारिस पत्र समेत लेखिदिन नमानेको आरोप स्थानीयको छ । कुँडी र टागाउँ सहीतका गाउँहरु दशकदेखि नै पहिरोको उच्च जोखिममा छन् । बर्षादको समयमा स्थानीय पाल टाँगेर बस्ने गरेका छन् ।

तर वडा कार्यालयले भने आफूहरु जिम्मेवार भएर लागिपरेको र कार्यालयमा तालाबन्दी गर्नुको कुनै कारण नभएको बताएका छन् । लकडाउनको समयमा सामुहिक भेला गर्न नमिल्ने सबै सुरक्षित बस्नु पर्ने भएकोले केही ढिलाई भएपनि बाढी पहिरोको क्षति पूर्ति मूल्याकंनका भइसकेको दाबी गरेको छ । कार्यबाहक वडा अध्यक्ष लली थापा समेत अस्वस्थ भएकोले उपस्थित हुन नसकेको बुझीएको छ । स्थानीयले भने माग सुनुवाई नभएसम्म चरण बद्ध आन्दोलन गर्ने  बताएका छन् ।  



आइतबार २६, बैशाख २०७८ ०७:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.