मनोविमर्शकता ओलीको सबैलाई अनुरोध !

नजिक न्युज संवाददाता    

मनोविमर्शकता ओलीको सबैलाई अनुरोध !

कमला बुढाथोकी, ओली 

यहाँ मलाई त जेनतेन सन्चै छ । तपाईहरु धेरै जनालाई सन्चो छैन भन्ने खबरहरु मैले पढीरहेकी छु र तरंगित भईरहेका तारहरुबाट सुनिरहेकी छु  । तर पनि तपाईहरुलाई छिट्टै नै सन्चो होस् भन्ने कामना गर्दछु, अरु त म केनै गर्न सक्छु र । गत सालदेखि नै हामी सबै जना कोरोनाको प्रभावबाट प्रभावित भइरहेका छौ । 

कती लामो समयसम्म त हामीले बन्दाबन्दीको अवस्था झेल्नु परेको अझै पनि विर्षेका छैनौं, मनमा ताजै छ फेरी पनि सोहि अवस्थामा पुगेका छौं । तर पनि सो समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियान्ता, राजनितिक प्रतिनिधि लगायतका व्यक्ति तथा संस्थाहरुले सकेको सहयोग गरि आफ्नो कर्तव्य निर्वाह गरेका थिए । भने कतिपयले त प्रत्यक्ष फ्रन्टलाईनमा नै बसेर सहयोग गरेको थिए । सो समूह भित्र पर्ने म पनि एक जना मनोविमर्शकर्ता थिए । 

कोरोनाको प्रभाव कम गर्न र प्रभावितहरुलाई सहयोग गर्नका लागी स्थानीय सरकारले स्थानिय स्तरमा क्वारेन्टीन र आईसोलेसन सेन्टरहरु स्थापना गरेर काम भईरहेको थियो । यसै क्रममा धनगढी उपमहानगरपालिका स्थित विभिन्न क्वारेन्टिन र आईसोलेसन सेन्टरमा गई प्रत्यक्ष रुपमा मैले पनि सेवा गर्ने मौका पाएकी थिए । मैले दिने सेवा अन्तरगत कोरोना प्रभाव कम गर्न तनाव व्यवस्थापन, मनोसामाजिक समस्या, कारण, लक्षण र कम गर्ने उपायका बारेमा मनोशिक्षा प्रदान गरेको थिए । सो समयमा र पछिसम्म पनि विभिन्न व्यक्तिहरुले हेल्पलाईनबाट मनोविमर्श सेवाबाट सेवा लिईररहेका थिए । मैले धेरै व्यक्तिहरुलाई सेवा दिने मौका पाएकी थिए । उक्त सहयोग पश्चात धेरैले मनोविमर्श सेवाको आवश्यकता महशुष पनि गरेका थिए र यस्तो हुँदा खुसी महशुष गरिरहेकी थिए । 

मैले सोचेकी थिएकी अव गत साल जस्तो भयाभह अवस्था आउदैन र विस्तारै परिस्थिति सामान्य हुदै जाने छ र मान्छेहरुले सामान्य तरिकाले जीवन निर्वाह गर्ने छन । तर, मेरो सोच र विचार बेलकुलै फरक रहेछ किनकी हाल आएर मेरो सोचाईमा धेरै फरक देखिएको पाए । गत साल जसरी तपाई हामीहरुले कोरोनाको प्रभाव गुजारेउ, त्यो भन्दा पनि यस वर्ष झनै कठीन अवस्था गुजार्नु परिरहेको छ, जसले गर्दा म जस्ता धेरै सामाजिक कार्यकर्ताहरु र गत साल जस्तै काम गर्ने विभिन्न निकायहरु पनि अततलिएको पाईएको छ । 

गत साल जेनतेन सामान्य हँदै गएको परिस्थिति हाल धेरै विग्रदै गएको छ । सुन्नमा आउछ बेला बेला ति काम गर्ने व्यक्ति र साधारण नागरिकहरुमा कडा खालको लक्षणहरु देखिएकोले अस्पतालमा भर्ना हुनु परेको, त्यहाँ पनि ठाउँ नपाएर छटपटाएको खबरहरु संचार माध्यामबाट सुन्न पाउदा र पढ्न पाउदा मलाई पनि यो अवस्थामा सेवा आवश्यकता भएका व्यक्तिहरुलाई सेवा दिन नपाएको महशुष भईरहेको छ । म बुझ्न सक्छु तपाईहरु विरामी भएर गाह्रो अवस्थामा कति तनावमा हुनु हुन्छ होला, कति रिस उठेको होला, मन आत्तिएको छ होला एक्लोपनको महशुष गरिरहनु भएको होला, मनमा अनेक खालमा विचारहरु आएका होलान । यति मात्र होईन चिन्ता लाग्ने, डर लाग्ने, छलपटी हुने, मुटु ढुकढुक हुने, शरिर काप्ने, चिटचिट पसिना आउने जस्ता विभिन्न खालका लक्षणहरु देखा परेका होलान । यस्ता समस्या आउदा तपाईहरुलाई विरक्त लागेर चाँडै मर्न पाए हुन्थ्यो भन्ने लागेको होला । यस्तो अवस्थामा म मनोविमर्शकर्ताको हैसियतले मैले प्रत्यक्ष सेवा दिन नसके पनि, म यति भन्न चाहन्छुकी, हामी जन्मदा नै संघर्षमा जन्मन्छौ र जीवन भरि नै संघर्ष गर्नु पर्छ, जीवनको आरोह अवरोहमा कठीन अवस्थालाई पार गर्नु पर्छ,यो यथार्थता हो । के हामीले आफ्नो आमाको कोखबाट नै संघर्ष गर्न सिकेका छैनौ र ? 

जब हामी हिड्न सिक्छौ र बढ्दै जान्छौ सो समयमा कति संघर्ष गर्छौं । तर पनि आफ्नो मन्जीलमा पुग्न हर प्रयास गर्दछौं । त्यसै गरि जीवनको हरेक अवस्थामा संघर्ष गरि विजय प्राप्तीका साथ यहाँसम्म पुगेको छौं । अब सोच्नुस त जीवन नै संघर्षमय छ भने के हामी यो कोरोनालाई जीत्न सक्दैनौैं र ? 

मेरो अनुरोध, हामी कसैका लागि महत्वपुर्ण व्यक्ति हौं र हामीले हिम्मतका साथ बाँच्नु छ र हामी हार मान्दैनौ र यो कोरोनालाई प्रास्थ गर्नेछौं । सिंगो संसार तपाईहरुकै अगाडी छ, तपाईहरुका आफन्त नातागोता पनि तपाईहरुकै साथमा छन्, हामीले मनाउने चाँडबाँडहरु पनि हाम्रै वरिपरि छन, तपाईहरुलाई सबै भन्दा बढी माया गर्ने मान्छे तपाईहरुको पर्खाईमा बसिरहेका छन, कोहि पनि तपाईहरुलाई गुमाउन चाहदैन । तपाईहरुका कति सपनाहरु होलान, ति तपाईको पर्खाईमा रहेका सपनाहरु पनि पुरा गर्नुछ, छोराछोरीहरुलाई राम्रो शिक्षा दिक्षा दिनुछ, ठूलो मान्छे बनाउनु छ, अहिलेसम्म पुरा गर्न नसकेका कुराहरु पुरा गर्नुछ । 

त्यसैले नआत्तिनुस कोरोनालाई प्रास्थ गर्नुस र फर्कनुस नियमित काममा र रमाईलो जिन्दगीमा । सबका सब चिज बस्तु आफन्त र तपाईहरुको बास स्थानले तपाईहरुको बाटो हेरिरहेका छन । निरास नहुनुस, आत्मबलले धेरै चिजलाई जितिन्छ आत्मबल बलियो बनाउनुस, आफु भन्दा ठूला व्यक्तिहरुले भनेको मान्नुस, औषधि नियमित खानुस्, शारिरीक व्यायाम गर्नुस्, खुसि रहनुस्, तनावमुक्त हुनुहोस् कोरोनालाई त्यसै प्रास्थ गर्नेछौं ।

अन्तमा, मेरो यहाँहरुलाई अनुरोध आफ्ना मनमा लागेका हरेक कुराहरु विभिन्न माध्यामबाट हामीलाई भन्नुस्, माथि भनिए जस्ता समस्याहरु देखा परेमा मेरो र हाम्रो संजालको आवश्यकता यहाँहरुलाई निरन्तर पर्नसक्छ, सेवा प्रवाह निशुल्क गर्नेछौं । सम्झनुस् हामीलाई हटलाईन मार्फत १६६००१०२००५ अथवा ११६६ । यो कुरा तपाईहरुको लागि आवश्यकता पनि हुनसक्छ । 
धन्यबाद 
कमला बुढाथोकी, ओली
मनोविमर्शकर्ता, टीपीओ, नेपाल  



शनिबार १८, बैशाख २०७८ ०१:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.