नेपाली जनजातिको मौलिकताले भरिएका परम्परागत नाचहरू

नजिक न्युज संवाददाता    

नेपाली जनजातिको मौलिकताले भरिएका परम्परागत नाचहरू

हरेक जातजातिको मौलिक संस्कृति आफ्नै किसिमको नृत्य र अन्य संस्कारसँगै सुरु हुन्छ । कुनै जातिले मान्छेको अन्तिम संस्कारमा नृत्यलाई प्राथमिकता दिने गर्छन् भने कतिपय कतिपयले अन्य सांस्कृतिक गतिविधिमा आफूलाई ढालिरहेका हुन्छन् ।

तर जुनसुकै जातिमा पनि नृत्यलाई भने विशेष महत्व दिइएको हुन्छ । जस्तै, घरभित्र २ लाइनमा मिलेर पुरुष र महिला भएर नाच्ने ल्होमी जातिको एउटा मौलिक नाच छ भने यसले छुट्टै इतिहास पनि बोकेको छ । यसरी आमाहरू मात्र नाच्ने नाचलाई ङिम टेशी भनिन्छ भने केटाहरूको नाचलाई रेसो भनिन्छ । अनि एउटा बोको, कुखुरा काटेर ढोकामा बसेर एक जना विजुवाले पूजा गर्छ अनि गीत गाउदै (पूजारीले भट्याउने र अरूले सोहाक भन्ने चलन यो जातिमा पाइन्छ । कुखुराको प्वाँखहरू उखेल्दै घरभित्र छर्दै नाचिने यो नाचलाई स्याया पनि भनिन्छ । 

त्यस्तै, मगर समाजमा विभिन्न संस्कार र चाडपर्वमा छुट्टै मौलिक नाच नाचिन्छ । उक्त नाचहरूमा सोरठी, घाटु, कोछा र यौनाच आदि पर्छन् । मगर जाति भित्र पनि विभिन्न थर र उपथरहरू हुन्छन् । जसमा आले मगर, घर्ती मगर, थापा मगर, पुन मगर र राना मगर आदि छन् । उनीहरुको आफ्नै मौलिक नाचहरु रहेको हुन्छ ।

गुरुङहरुको रोदी र घाटुनाच, थारुहरुको बड्का नाच र सखिया नाच, मगरको कौरा नाच र झ्याम्रा नाच, नेवारको लाखे नाच, घण्टा नाच र सिठी नखः, किराँत–राईको चण्डी नाच, लिम्बूहरुको धाननाच इत्यादि केही जातिहरुको मौलिक नाचहरु हुन् । त्यस्तै, चाडपर्वहरुमा थकालीको पितृपूजा ‘तोरन्लह’, राजवंशीको सिरुवा पर्व, लिम्बूहरुको बलिहाङ तङनाम, राईको देवा पूजा, साकेवा, आठपरिया राईको मंसिरे पर्व, थारुको माघी पर्व, सिरुवा पर्व, नागपञ्चमी, नेवारको म्हःपूजा र अनेक थरी जात्राहरू रहेका छन् ।

ह्योल्मो जातिको मौलिक नाच
गुम्बा वा गोठभित्र लामाद्वारा मृतकको लुगाबाट बनाइएको मृतकको प्रतीकलाई दिउसो ११ देखि १२ बजेतिर विधिवत् रुपमा लगेर पूजापाठ गरिन्छ । दिउसो ४ देखि ५ बजेसम्म मृतकको प्रतीक नेपारलाई जलाउने गरिन्छ । त्यस समयमा बाहिर ३ देखि ४ जना लामासहित उपस्थित भएका सबैजनाले“ॐ माने पद्मे हँु”मन्त्र भाका मिलाएर जप्ने वा गाउने कार्य सुरु गरी बेलुका ५ देखि ६ बजे सम्ममा सम्पन्न गरिन्छ । यो समयमा लामाहरु “ॐ माने पद्मे हुँ”मन्त्रलाई गीतको भाकामा गाउँदै झ्याम्टा र ढ्यांग्रो बजाउँदै नाच्ने प्रचलन छ ।

लामाको सुझावअनुसार मृतकको नाममा मूर्ति, ग्रन्थ, थाङ्का र स्तूप आदि धार्मिक सामानहरु तयार पारेको भए मृतकको प्रतीक नेपार जलाई सकेपछि उक्त सामग्रीहरुलाई बेलुका सात–आठ बजेबाट प्राणप्रतिष्ठा गरिन्छ । भोलिपल्ट लामाद्वारा पूजापाठ गरिसकेपछि अपारमिताको मन्त्र जप्दै कलशको पञ्चअमृतद्वारा सबैजनालाई शुद्ध गराइ आशीर्वाद प्रदान गर्दै घेवा विधिवत् रुपमा सम्पन्न भएको घोषणा गरिन्छ ।

त्यहाँ आएकाहरुलाई बिदा दिने बेलामा लामाहरुलाई दानदक्षिणासमेत दिएर बिदा गरिन्छ । त्यसपछि लामाहरुले पूजापाठ र नाच नाचेर मृतकको नाममा बनाइएको सामान घरमा लागिन्छ ।

हायु जातिको नाच
हायु जातिको विशेष चाड हो, देवी पूजा । यो पूजा माघको पूर्णिमापछिको पहिलो बिहीबारदेखि सुरु भएर आठ दिनसम्म मनाउने गरिन्छ । यो जातिको मूल घरमा पुस्तौंदेखिको एउटा सुप्रसिद्ध ढोल हुन्छ । उक्त ढोल राखिएको घरमा पहिलो चार दिन त्यसैलाई बजाएर परम्परागत नाचगान गरिन्छ । सातौं र आठौं दिनमा ढोल बजाउँदै दर्शकहरु सहित स्वजातीय बन्धुहरुको घरघरमा गएर नाचगान गरी देवीको आशीर्वाद बाँड्छन् ।

यस चाडको मुख्य दिन मंगलबार पर्छ । यस दिन सारा गाउँका मानिसहरु एउटा मूल घरमा जम्मा हुन्छन् र साँझ परेपछि नाचगान सुरु गर्छन् । त्यसमा साना ठिटाठिटीहरु भाग लिन्छन् । यो नाचमा हरेकले एकअर्काको पाखुरामा समाउने गर्छन् । अन्तिम बिहीबार र शुक्रबार सो नाच गाउँको सबै घरहरुमा पालैसित लगिन्छ । आँगन घरभित्र समेत नचाइन्छ । नाच सकिएपछि ढोल र झ्यालीलाई चोखो ठाउँमा राखिन्छ भने नाच्ने र गाउने दर्शकहरुलाई छ्याङ खान दिइन्छ ।

बादी समुदायको नाच

बादी समुदायको परम्परागत पेशा भनेको नाचगान गर्ने, बाद्यवादनका सामग्री (मादल, ढोल र तबला आदी) बनाउने तथा बिक्री वितरण गर्ने रहेको छ । त्यसैगरी उनीहरुले माछा मार्ने जाल बुन्ने, माछा मार्ने, सुल्पा, चिलिम र टरिया बनाउने पनि गर्दछन् । उनीहरुको नाचगानको मूल मर्म भनेको राजा महाराजहरुलाई विशुद्ध तरिकाले मनोरञ्जन गराउनु मात्र थियो । यसरी बादी समुदाय आफ्नो कला, कौशल र सीपका धनी थिए ।

छैठीमा बादी समुदायले रातभरि नाचगान गर्दै रमाइलो गरी रात कटाउने गर्छन् । राम्रो राम्रो गीत र सङ्गीतले भाग्य लेख्न आउने भाविनीलाई मोहित गर्छ भन्ने विश्वास उनीहरुमा रहेको छ । त्यसैले भाविनीले बच्चाको राम्रो भाग्य लेखोस् भन्ने उद्देश्यले रातभरि रमाइलो गरी रात कटाउने गरिन्छ ।

दंगाली थारु संस्कृतिको बड्का नाच

यो नाच दाङ क्षेत्रका थारुहरुले नाच्ने गर्छन् । यसमा महाभारतको कथामा आधारित भई पात्रको चरित्र चित्रण गर्ने गरिन्छ । यो नाचलाई थारु संस्कृतिमा सबैभन्दा महँगो नाचको रुपमा पनि लिने गरिन्छ । यसलाई बड्कीमार नाच पनि भनिन्छ । मुख्य धानबाली भित्रिएपछि यो नाच नाचिने भएका कारण पनि यसमा धेरै खर्च लाग्ने गर्छ । 



शुक्रबार १७, बैशाख २०७८ ०७:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.