बाजुरामा छैन पिसिआर प्रयोगशाला, सञ्चालनमा सरोकारवाला मौन

प्रयोगशाला सञ्चालनमा जनशक्ति र भवनको पनि अभाव

नजिक न्युज संवाददाता    

बाजुरामा छैन पिसिआर प्रयोगशाला, सञ्चालनमा सरोकारवाला मौन

बाजुरा :  कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेपनि बाजुरामा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापनाका लागि पहल गरिएको छैन् । बुढीगंगा नगरपालिका लगायत केही स्थानीय तहले जिल्ला मै पिसिआर प्रयोगशाला राखेर कोरोना परीक्षण गर्ने व्यवस्थाका लागि प्रस्ताव गरिपनि कार्यान्वयनमा ढिलाई भइरहेको छ ।

आर्थिक श्रोत र दक्ष जनशक्तिको अभाव देखाएर जिल्लामा प्रयोगशाला स्थापनाका प्रक्रिया नै सुरु हुन सकेको छैन् । गएको वर्ष जिल्ला प्रशासन कार्यालयको पहलमा स्थानीय तहको लगानीमा प्रयोगशाला स्थापनाको तयारी थालिएको थियो । 

त्यसमा सबै स्थानीय तह तयार नहुँदा प्रक्रिया बीचमै रोकिएको थियो । बुढीगंगा नगरपालिकाले ३० लाख रुपैया दिने समेत निर्णय गरेको थियो । अन्य स्थानीय तह तयार नभएपछि र जिल्ला अस्पतालले समेत चासो नदेखाएपछि निर्णय कार्यान्वन नभएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

जिल्ला बाहिर जानु पर्ने बाध्यता हटाउन जिल्लामा पीसीआर प्रयोगशाला आवश्यक रहेकोले बुढीगंगा त्यस कार्यमा सहयोग गर्न तयार रहेको शाहको भनाई छ । जिल्ला अस्पतालमै राख्ने गरी सबै स्थानीय तहले लगानी गर्नु पर्ने शाहको सुझाव छ ।

बडिमालिका नगरपालिकाले जिल्लाका नौ वटै स्थानीय तहले १० लाखका दरले रकम दिनु पर्ने र आफूले २० लाख लगानी गर्ने प्रस्ताव अघि सारेको थियो । एक्लैलै ठूलो लगानी गर्न नसक्ने र मेसिन खरिद पछि पनि जनशक्ति र अन्य प्राविधिक खर्चको व्यवस्थापन आवश्यक हुने भएकोले नौ वटै स्थानीय तहबीचको सहकार्य जरुरी हुने बडिमालिका नगरपालिकाको भनाई छ ।

हामीले सबैसँगै अनुरोध गरेका हौं, हामी भागमा परेको भन्दा थप लगानी गर्न पनि तयार छौं, तर अन्य स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्थानीय प्रशासन तयार हुनु पर्ने भनाई बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टको छ ।

मेसिन अनिवार्य जस्तै भइसकेको छ । अन्य जिल्लामा गएर, लाइनमा बसेर पीसआर जाँच गर्नु राम्रो हुदैन्, भन्ने मान्यताकै कारण मेसिन खरिद प्रक्रियाका लागि नीतिगत निर्णय गर्ने तयारी समेत बडिमालिका नगरपालिकाले थालिसकेको उपप्रमुख विष्टको भनाई छ ।

पीसीआर जाँचका लागि बाजुराको हकमा अछाम, डोटी, डडेल्धुरा र धनगढी जानु पर्ने बाध्यता छ । छिमेकी जिल्ला अछाम, बझागमा स्थानीय तहकै लगानीमा प्रयोगशाला सञ्चालन गरिएको छ । प्रयोगशाला नै अभावका कारण बाजुरामा कोरोना जाँच हुन सकेको छैन् ।  

लक्षण नदेखिएसम्म स्वाब संकलन गरेर अर्को जिल्ला पठाउनु भएन, लक्षण नदेखिएकै अवस्थामा संक्रमण हुने सक्छ, त्यो मेसिन अभावकै कारण जोखिम हुने स्वास्थ्य कर्मीको भनाई छ । 

मेसिन बाहेक २ जना ल्यावमा स्नातक गरेको जनशक्ति र ४ कोठाको भवन आवश्यक हुने जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जैशीको भनाइ  छ । 

जिल्ला अस्पताल बाजुरामा जनशक्ति र भवन दुबैको अभाव छ । मेसिनकै लागि मात्र ५० लाख बढी खर्च लाग्ने गर्दछ । स्थानीय तहले खर्च व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए जनशक्ति र भवनको व्यवस्थापन गर्न सकिने कार्यालय प्रमुख डाक्टर जैशीको भनाई छ । 

बाजुराका जनताको सुरक्षाका लागि पनि प्रयोगशाला आवश्यक देखिन्छ । स्थानीय तहले लगानी गरे व्यवस्थापन गर्न जिल्ला अस्पताल तयार रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत थापाको भनाई छ ।

स्थानीय तहकै खर्चमा जिल्ला बाहिर जान तयार देखिएपनि प्रयोगशाला थापनामा ध्यान नदिएको प्रति सर्वसाधारणको गुनासो छ । स्थानीय तहले आइसोलेशन कक्ष निर्माणमा ध्यान दिएपनि पीसीआर जाँचमा चिन्ता राखेको देखिदैन् । उसोत यसमा स्वास्थ्य कार्यालय बाजुराले पनि खासै चासो देखाएको छैन् । 

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पनि पीसीआर जाँच मेसिन जिल्लामा आवश्यक भएकोले स्थानीय तहका प्रतिनिधीसँग छलफल गर्ने बताएका छन् । स्थानीय तह लगानी गर्न तयार भए प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या नहुने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।



बिहिबार ०९, बैशाख २०७८ ०७:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.