अधिबक्ता हर्क खडायतको ‘बाजुरा घाम छ की’ बजारमा

नजिक न्युज संवाददाता    

अधिबक्ता हर्क खडायतको ‘बाजुरा घाम छ की’ बजारमा

बाजुरा : अधिवक्ता एवं साहित्यकार हर्क खडायतको ‘बाजुरा घाम छ की’ नामक देउडा गीत बजारमा आएको छ । जिल्ला भित्रकै परिवेश र माया प्रेमको विषय बस्तुमा तयार पारिएको देउडा गीतको भिडियो शुक्रबारबाट सार्वजनिक गरिएको हो ।

सुदूर साहित्य प्रतिष्ठानले औपचारिक कार्यक्रमको आयोजना गरी देउडा गीतको भिडियो विमोचन गरिएको गायक तथा सर्जक हर्क खडायतले बताएका छन् । गीतको विमोचन साहित्यकार मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले गरेका हुन् ।

राजेन्द्र शाह बीपीका शब्द, विनोद बाजुरालीको संगीत रहेको गीतमा हर्क खडायत र चर्चित गायीका शान्तिश्री परियारको स्वर रहेको छ । भीम थापाले निर्देशन गरेको गीतको छायाकंन डीबी रौलेले गरेका हुन् । खप्तड डिजिटल प्रालिबाट सार्वजनिक गरिएको गीतमा जीवन भट्ट र पुजा विष्टले अभियनय गरेका छन् । 

प्रेम गरेको मान्छेलाई नपाउँदाको बिलौना गीतमा समेटिएको छ । बाजुराकै कोल्टी क्षेत्र र बार्जु क्षेत्रबीचको भौगोलिक र मानवीय प्रेमलाई गीतका शब्दमा उल्लेख गरिएको अधिवक्ता एवं देउडा सर्जक पुरबहादुर रावतको भनाई छ । रावतले नै गीतको समीक्षा गरेका हुन् ।

सबै प्रेम सम्बन्धहरु सफल नभए जस्तै गीतले पनि माया प्रेम गरिएको, सँगै जीउने र मर्ने कसम खाएको तर अन्तिममा आएर एक हुन नपाएको बिलौनालाई गीतमा पोखिएको छ । आफ्नो मान्छे नपाउँदाको गीतको अनूभूतिसँगै छायाकंन गरिएको भिडियो र देउडा खेलमा पहिरिएको पहिरनले मौलिकता संरक्षणमा पनि योगदान पुग्ने विश्वास पुरबहादुर रावतको छ ।

गीतको खेल छायाकंन बुढीनन्दा नगरपालिका ४ सिम कुरुमा गरिएको हो । गीत संगीतले पनि बाजुरालाई चिनाउन महत्वपूर्ण योगदान पुर्याएको अधिवक्ता एवं जिल्ला बार एसोसिएसन इकाइ बाजुराका उपाध्यक्ष जनक कुमार बोहराले बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि शुभराज पाध्यायले बाजुराको मौलिकता संरक्षण गर्न र साहित्य क्षेत्रमा नयाँ उचाइ थप्न गीतले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

चर्चित गायक प्रकाश थापा र लक्ष्मी नेपालीले कार्यक्रममा गीत समेत गाएका थिए । २०५६ साल देखि साहित्य र संगीत क्षेत्र रोजेका खडायतले आधा दर्जन आफ्नै गीती एल्बल बजारमा ल्याएका छन् ।

सिरु एल्बमबाट संगीत यात्रा रोजेका खडायतले हिरालाल जोखौकी, एक सुवा दुधका चुवा जस्ता गीतबाट चर्चा कमाएका छन् । भने देशले हारेको युद्ध नामक उपन्यास पनि लेखेका छन् । 

प्रतिष्ठानका सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक सहीत सहभागि थिए । बडिमालिका नगरपालिकाको हलमा आयोजित कार्यक्रममा स्रष्टा सर्जक र पत्रकार सहीत ६० बढी सहभागि थिए । 



शुक्रबार २१, फागुन २०७७ ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.