महिला दिवसको अवसरपारी मार्तडीमा महिला पुरुषबीच खुला देउडा प्रतिस्पर्धा हुने

उत्कृष्ठ महिला उद्यमी, सफल अभियान्तालाई सम्मान गरिने

नजिक न्युज संवाददाता    

महिला दिवसको अवसरपारी मार्तडीमा महिला पुरुषबीच खुला देउडा प्रतिस्पर्धा हुने

बाजुरा : यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरपारी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा महिला पुरुषबीच खुला देउडा प्रतिस्पर्धा हुने भएको छ । महिला पुरुष समानता, महिला अधिकार र सुरक्षा तथा सम्मानका विषयमा खुला महिला पुरुष देउडा प्रतिस्पर्धा हुने भएको हो ।

मार्च २४ तारिख अर्थात फागुन २४ गतेका दिन मनाईने दिवसमा देउडा खेलाडीहरु बीच खुला प्रतिस्पर्धा गराउने निर्णय गरिएको बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् । बाजुरा सहीत सुदूरपश्चिम र कर्णाली प्रदेशको ढुकढुकी देउडा सँस्कृतिको विकासमा समेत टेवा पुर्याउने लक्ष्य सहीत प्रतिस्पर्धा गर्न लागिएको हो ।

महिला पुरुष बीचका सुखदुख, माया प्रेम, हिंसा र असुरक्षा सबै प्रकारका विषयलाई देउडा गीत मार्फत पोख्ने लक्ष्य सहीत प्रतिस्पर्धा गर्न लागिएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

देउडा खेल संयोजनको जिम्मा सुदूर साहित्य प्रतिष्ठानलाई दिईएको छ । मार्तडमिा हुने खुला प्रतिस्पर्धामा देउडा खेलाडी सुना विक, राइकला बुढा, शंकर मल्ल, भुवन रोकाया सहीतका खेलाडी बीच प्रतिस्पर्धा हुने भएको हो ।

कार्यबहाक नगर प्रमुख रामबहादुर कार्कीको अध्यक्षतामा बसेको महिला दिवस आयोजना समिति बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकले बडिमालिका नगरपालिकाका उत्कृष्ठ महिला उद्यमी, सफल अभियान्तालाई समेत सोही दिवसको अवसरमा सम्मान गर्ने निर्णय गरेको छ ।

नगरपालिका र गैर सरकारी संस्था बीचको सहकार्यमा विहान प्रभात फेरि र दिउँसो कार्यक्रम गर्ने निर्णय गरिएको गैर सरकारी संस्था महासंघका बाजुरा जिल्ला अध्यक्ष अग्नीराज शाहीले बताएका छन् ।

यो वर्ष महिलाको सुरक्षा,सम्मान र रोजगारःसमृद्ध नेपालको आधार भन्ने नारा तय गरिएको छ । बडिमालिका नगरपालिकाले वडा स्तरमा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ । भने अन्य स्थानीय तहले पनि कार्यक्रम गर्ने भएका छन् । 



बिहिबार २०, फागुन २०७७ ०७:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.