मेलम्ची सुरुङ परीक्षण गरिँदै

नजिक न्युज संवाददाता    

मेलम्ची सुरुङ परीक्षण गरिँदै
फाइल तस्बिर

काठमाडौँ : मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ ।

मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय गरिएको छ ।

मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो । मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।

मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “यसलाई पुनः परीक्षणका रूपमा लिइएको छ । विगतमा परीक्षण गर्दा दुर्घटना भयो, अहिले पुनः निर्माण गरी पथान्तरण गरिम्दै छ । विज्ञ समूहको अनुगमनले दिएका सुझावअनुसार थप काम गरेर परीक्षण गर्न लागेका हौँ । प्राविधिक रूपमै करिब दुई महिना परीक्षणको समय लाग्छ, त्यसपछि सुन्दरीजलमा पानी ल्याउन सकिन्छ । ”

गत असारमा पानी पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । आयोजनाले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरेको हो । हेडवक्र्स निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको प्रवक्ता शाक्यले जानकारी दिनुभयो । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ ।

काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर मात्रै आपूर्ति गर्दै आएको छ । निजी क्षेत्रबाट करिब दैनिक चार लाख लिटर आपूर्ति भएको छ । काठमाडौँ उपत्यकामा दैनिक ३१ करोड लिटर खानेपानीको अपुुग रहेको छ । याे समाचार लक्ष्मण दर्नालले गाेरखापत्र दैनिकमा लेखेका छन् । 



सोमबार १०, फागुन २०७७ ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.