एकल महिला राधिका अब्बल उपमेयर

नजिक न्युज संवाददाता    

एकल महिला राधिका अब्बल उपमेयर

सक्रिय राजनीतिमा आउने र नगरपालिकाको उपमेयर बन्ने कल्पना समेत सोचेकी थिइनन्, राधीका सुनारले । तर उनले जीवनमा सोचेको भन्दा ठिक उल्टो भयो । हाल उनी त्रिवेणी नगरपालिकाको उपमेयर बनेकी छन् । 

उपमेयर बन्ने, राजनीति गर्ने नत सपना देखेकी थिइन्, नत उनको कल्पना नै थियो । पार्टी र जनताको मायाले कसरी यो स्थानमा पुँगे आफैलाई थाह छैन्, राधिका भन्छिन् । राजनीतिमा झुकाव थियो । श्रीमानकै कारण पार्टी राजनीतिका केही कार्यक्रममा सहभागि पनि हुन्थ्ये । तर संघर्षको राजनीति धेरै गरेको थिएन् । 

तर उनका श्रीमान रामबहादुर सुनार भने नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए । काँग्रेस बाजुराको जिल्ला कार्य समिति सदस्य र जिल्ला दलित नेटवर्कको अध्यक्ष पनि । श्रीमानबाटै राजनीति, समाज सेवा बारे जानकारी पाएको सुनार बताउँछिन् ।   
उनी घरको काममा बढी व्यस्त हुने र दिउँसोको समय गाउँमै रहेको मष्टा बाल विकास केन्द्रमा सहजकर्ताको भूमिकामा थिईन् । २०७३ साल जेष्ठमा उनका श्रीमान रामबहादुर सुनारको मृत्यु भयो । उनी एकल बनिन् । 

एक्लो हुँदा उनले कसैलाई आफ्नो देखिनन् । असल श्रीमति बनेर जीवन बिताउने रहर टुट्यो भन्दै निरास थिईन् । सुरुमा जीवन सकिएको जस्तो महशुस भएको र केही गर्ने आँट र साहस पनि हराएको थियो । तर घरका आफन्तले भने हिम्मत नहार्न र श्रीमानको स्थान सम्हाल्न हौसला दिइरहेका थिए । 

श्रीमानको मृत्यु भएको वर्ष दिन नबित्दै स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भयो । निर्वाचनमा उनलाई नेपाली काँग्रेसबाट त्रिवेणी नगरपालिकाको उपप्रमुखको टिकट दिने सल्लाह भयो । त्यसपछि भने उनलाई सिंगो समाज आफ्नै लागि बाँचीरहेको जस्तो लागको सुनारको भनाई छ, सुनार उमेरले ३५ वर्ष पुगिन् । उनले १४ वर्षको उमेरमा बाल विहे गरेकी थिईन् ।

श्रीमान रामबहादुर सुनार नेपाली काँग्रेस जिल्ला कार्य समितिको सहसचिव थिए । भने जिल्ला दलित नेटवर्कको अध्यक्ष । प्रष्ट बोल्ने, अडान भएको र वौद्धीक व्यक्तित्व सुनारमा थियो । काँग्रेसले उनलाई पुजिँ सम्झीने गरेको थियो । 

सुनारको मृत्युपछि काँग्रेसले स्थानीय तह निर्वाचनमा राधिकालाई टिकट दियो । त्रिवेणी नगरपालिका काँग्रेसले सहजै जित्ने स्थान पनि हो । कुनै पनि निर्वाचनमा त्रिवेणीमा काँग्रेस बाहेक जितेको रेर्कड छैन् । तरपनि महिलाका हकमा भने चुनौति थियो ।

राधिकाका सामु निर्वाचन जित्नु मात्र चुनौति थिएन्, श्रीमानको राजनीतिक विरासत थाम्नु थियो, महिला माथि आएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नु थियो । त्यो बाहेक दलित महिला सामाजमा सबैले सहजै स्वीकार्ने होइनन् कि भन्ने चिन्ता पनि राधिकाको मनमा कम्ता थिएन् । 

सभामा जानु पर्ने, भाषण गर्नु पर्नेदेखि आर्थिक व्यवस्थापन भने जस्तै सहज थिए । पढाई पनि कक्षा १० सम्म मात्र थियो । बोल्नु कुरा, अघिल्लो दिन नै तयारी गर्नु पर्ने हुन्थ्यो, बिग्रीन्छ कि भन्ने डर पनि त्यत्ति नै हुने गरेको अनुभव राधिका सुनाउँछिन् । 

तरपनि उनले निर्वाचनमा एमालेको उम्मेदवार पार्वती विष्टलाई १२ सय बढी मत अन्तरले पराजित गरिन् । आमा बुबाको जबरजस्तीले चाँडो विहे भयो । राम्रो पढाई लेखाई पनि हुन पाएन् । श्रीमानको जबरजस्तीले एसएलसीसम्म अध्ययन गरिन् । उनले सोचेकी पनि थिईनन्, नगरपालिकाको उपमेयर बन्छु भन्ने । जब उपमेयरको टिकट पाएँ, अनि श्रीमानले अघि सारेका विषय बारे सम्झना आउँन थाल्यो, सुनार भन्छिन् । 
सुनारले गाउँमा खानेपानी निर्माण गर्ने, सडक बाटो गाउँ भएरै निर्माण गर्ने, काँसेगाड दोस्रो लघुजलविद्युत आयोजना बनाएर तोली छताराका स्थानीयलाई उज्यालो दिने योजना अघि सारेकी थिईन् । ती योजना पुरा गर्ने अभियानमा सक्रिय छन् । 

श्रीमान गुमाएको पीडा भुलेकै थिएन, जनताले ठूलो खुसी दिएका छन्, धेरै आशा भरोसा गरेर जिताएका छन्, त्यो सपना पूरा गर्नु पहिलो काम हुनेछ, राधिकाले भन्छिन् । एकल हुँदा महिला दिदि बहिनीले कति दुख सहनु पर्छ, मैले भोगेकी छु, त्यो समस्या समाधान गर्नु र दलित समुदायका समस्यालाई संवोधन हुने खालको नीति नियम बनाउने कार्यमा जुटिरहेको सुनार बताउँछिन् ।

सुनारका २ सन्तान छन् । घर परिवार र आफन्तले धेरै सहयोग गरेका छन् ।  बाल विकास केन्द्रमा बालबालिकासँग हुँदा राम्रा बनुन भनेर मेहेनत गरी पढाउँथ्ये, अब गाउँ समाज बनाउने जिम्मेवारी पाएकी छु, सबैको साथ सहयोग भए, काम पनि गर्न सक्छु भन्ने विश्वास छ, उनले भनिन् । 

उपप्रमुखको भूमिकामा राधिका अब्बल सावित भएकी छन् । नगरपालिका आउनेसँगको बोली व्यवाहारदेखि कार्यकर्ता व्यवस्थापन गर्न सक्ने राम्रो क्षमता राधिकासँग छ । शुन्यताको आधारबाट उठेको राधिकाको राजनीतिक जीवन अहिले प्रभावी उपप्रमुखको नामले परिचित छ । 

राधिका महिलाका लागि मात्र नभई दलित महिला र त्यसैमा एकल महिलाका लागि प्रेरणाको श्रोत हुन् । श्रीमान नहुँदा साथ छुटेपनि एक्लो नभइने रहेछ, चाहेभने महिलाले पनि गर्न सक्दा रहेछन् भन्ने आँट पलाएको छ, राधिकाले भनिन् । योजना छनोट, बजेट निर्माण देखि महिलामा पनि दलित र एकल महिलाका पक्षमा पहिलो निर्णय गर्न राजी हुने गरेको उनको भनाई छ । गर्न सकिदैन् कि भन्ने लाग्थ्यो, अब त्यो डर हटीसकेको र साहस थपिएको कुरा उनले सुनाउने गरेकी छन् । 

तीन वर्ष भयो, उपप्रमुख भएको । २ वर्ष बाँकी छन्, सकेजति राम्रो गर्छु र त्यसपछि पनि राजनीति र समाज सेवामा लाग्छु बिशेष गरी महिला पनि गर्न सक्छन्, भन्ने प्रेरणा बन्ने लक्ष्य सुनारको छ । महिला उद्यमविका, सीप तथा आर्यआर्जनका सुनारले बिशेष प्राथमिकता दिने गरेकी छन् ।

पछिल्लो समय त्रिवेणी नगरपालिकामा टेवा नेपाल र महिला विकास मञ्चको सयुक्त सहकार्यमा पेभ कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । महिला नेतृत्व क्षमता विकास र जनप्रतिनिधी महिलाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य परियोजनाको छ । त्यो कार्यक्रमले पनि क्षमता विकास, महिला जागरण र शसक्तिकरणमा सकारात्मक प्रभाव परेको सुनारको भनाई छ । 



बिहिबार ०६, फागुन २०७७ १२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.