बर्दिया निकुञ्जको प्राविधिक टोली कैलालीको बाघ प्रभावित क्षेत्रमा

नजिक न्युज संवाददाता    

बर्दिया निकुञ्जको प्राविधिक टोली कैलालीको बाघ प्रभावित क्षेत्रमा

धनगढीः बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली कैलालीको बाघ प्रभावित क्षेत्र पुगेको छ।

नरभक्षी पाटे बाघलाई नियन्त्रण गर्न निकञ्जस्थित नेपाल प्राकृतिक संरक्षण कोषको प्राविधिक टोली मंगलबार कैलाली पुगेको हो।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलका अनुसार ४ जनाको टोली कैलालीको प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले बाघ देखिएको क्षेत्रको निरीक्षण थालेको छ। 

उनको अनुसार बाघ भएको क्षेत्र पत्ता लगाइसकेपछि टोलीले बाघलाई बेहोस बनाएर (डार्ट गरेर) नियन्त्रणमा लिने भएको छ। स्थानीयका अनुसार मंगलबार सो बाघ गौरीगंगा नगरपालिकास्थित शिवशंकर सामुदायिक वन क्षेत्रमा बाघ देखा परेको छ। 

पछिल्लो एक हप्तायता सो बाघ दिनहुँ देखिने गरेको बताइएको छ। आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको सोही बाघको आक्रमणबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि बाघले आक्रमण गरेको थियो। सोही क्रममा धामीलाई आक्रमण गरेको थियो।

गत शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बताएको थियो।

यसैबीच स्थानीय सामुदायिक वन समूहहरुले प्रभावित क्षेत्रको ठाउँ–ठाउँमा सचेतनामूलक बोर्ड टाँगेका छन्। ‘यस क्षेत्रमा बाघको ओहोरदोहोर भइरहेकोले सावधानी अप्नाएर यात्रा गर्न हुन अनुरोध छ’, लेखिएको बोर्ड टाँगिएको हो।



मङ्गलबार ०४, फागुन २०७७ ०७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.