धनगढी: बिरालो प्रजातिको सबैभन्दो ठूलो जीव पाटे बाघ पृथ्वीको खाद्य चक्र अर्थात ‘फुड चेन’को सबैभन्दा शीर्षस्थान अर्थात माथि रहेको जनावर भएकोले बाघले लगभग सबैजसो जनावरलाई मारेर खानसक्ने समार्थ्य राख्दछ।
मांसाहारी भएकोले पाटे बाघले आफू बाच्न र जीवन धान्न अन्य जनावरलाई मारेर तिनको रगत मासु खाने गर्दछ किनभने पाटेबाघले घाँस पात वा कुनै अन्न खाँदैन।
स्वस्थ पाटे बाघले आहाराका लागि मानिसलाई आक्रमण गर्दैन। स्वस्थ पाटे बाघले प्रायजसो वनमा पाइने मृग, हरिण, जरायो र ठूला आकारका पक्षी जस्ता जीवजन्तु मारेर खाने गर्दछ। नेपालको खासगरि तराई भेगका निकुञ्ज र वरपरका वन जङ्गलमा पाइने पाटे बाघले प्राय हरिण मृग वा बँदेल जस्ता जनावर मारेर खाने गर्छ।
तर बिरामी, घाइते, अपाङ्ग वा बूढो भएको अवस्थामा पाटे बाघ गाउँ घरमा पाइने चौपाया, मानिस जस्ता सजिलै सिकार गर्न सकिने जीवजन्तुलाई पछ्याउँन थाल्दछ र तिनको सिकार गरेर आफ्नो पेट पाल्न थाल्दछ।
कतिपय विज्ञहरूका अनुसार मानिसको रगतमा हुने नुनका कारण पाटे बाघले एक पटक मानिसलाई आक्रमण गरेर उसको रगत, मासु खाएपछि फेरि मानिसकै खोजीमा लाग्न सुरु गर्छ। त्यसपछि पाटे बाघ नरभक्षी बन्न थाल्छ।
कतिपय अवस्थामा पाटे बाघलाई जिस्काउँदा वा कुनै प्रकारको खतरा महसुस गराउँदा पनि उसले आत्मरक्षाको लागि मानिसलाई आक्रमण गर्ने गरेको पाइन्छ।
भर्खरै बियाएकी वा आफ्ना छाउरासँगै रहेको बघिनीले आफूहरू असुरक्षित महसुस गरको अवस्थामा पनि मानिसहरू बाघको आक्रमणको सिकार हुने गरेको पाइएको छ। त्यसैले विज्ञहरू भन्छन् बाघको नजिक पुगिहालेको वा जम्काभेट भएको अवस्थामा उसलाई तर्साउँने, ढुङ्गा हान्ने वा असुरक्षित बनाउने वा खतरा पुर्याउँने काम गर्नुहुँदैन।
चितुवा जस्ता बिरालो प्रजातिका अन्य ठूला मांसाहारीको हकमा पनि त्यस्तै हुने गरेको पाइएको छ। उदाहरणका लागि चितुवा पनि नरभक्षी बनेपछि उसले प्राय: मानिसकै सिकार गर्ने गरेको पाइएको छ।
प्रतिकृया दिनुहोस