चीनमा युवाले विवाह गर्न छोड्दा सरकारलाई चिन्ता

महिलामा विवाह अनिवार्य होइन भन्ने धारणा व्याप्त हुँदै गएको छ

एजेन्सी    

चीनमा युवाले विवाह गर्न छोड्दा सरकारलाई चिन्ता

दुईवर्ष अघिसम्म जोएन सु ३० वर्षको उमेर पुग्नेबारे चिन्तित थिइन् । उनी ग्वाङजाउस्थित एक विदेशी व्यवसायिक कम्पनीमा काम गर्छिन्, आफूलाई पुग्ने कमाउँछिन् । बिदामा साथीहरुसँग भेटेर रमाइलो गर्छिन् र सामान्य जीवन बिताउँछिन् । यस्तोमा जोएन र उनको परिवारलाई एउटै मात्र समस्या भनेको उनी अझैसम्म एक्ली थिइन्, अविवाहित थिइन् । 

उनी भन्छिन्, “त्यसबेला मलाई ३० वर्षको उमेर महत्वपूर्ण हो र सम्बन्धमा बाँधिने अन्तिम सीमा हो जस्तो लाग्थ्यो । र त्यसको नजिक पुग्दै जाँदा म सही व्यक्ति खोजेर विवाह गर्न आफैँबाट र बुवाआमाका तर्फबाट पनि ठूलो दबाबमा थिएँ ।” हाल जोएन ३१ वर्षकी भइन् र अझैसम्म पनि अविवाहित छिन् तर उनलाई अहिले यसको कुनै चिन्ता छैन । उनी भन्छिन्, “दबाबमा परेर आफूलाई चित्त नबुझेको मान्छेसँग विवाह गरि केही वर्षमै डिभोर्स गर्नुको के अर्थ ? त्यो केबल समयको बर्बादी मात्र हो ।”

यसरी विवाहको उमेरका युवा चिनियाँहरुमा जोएनको जस्तो सोच अहिले व्यापक बन्दै गएको छ जसमा धेरैले विवाहलाई जीवनबाट पूर्ण रुपमा हटाइसकेका छन् । चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले सार्वजानिक गरेको आंकडा अनुसार पछिल्लो ६ वर्षमा पहिलोपटक विवाह गर्ने युवामा ४१ प्रतिशतको गिरावट आएको छ । २०१३ मा २ करोड ३८ लाख बाट २०१९ मा केबल १ करोड ३९ लाखले मात्र विवाह गरेका हुन् । 

यसको प्रमुख कारण जनसङ्ख्या नियन्त्रण गर्न चीनमा लागु दशकौँ लामो एक सन्तान नीति भएको बताइएको छ । यसका साथै अर्को कारण भनेको विवाह सम्बन्धी बदलिँदो सामाजिक धारणा पनि हो । विशेषगरी महिलाहरुमा यो बढ्दो रुपमा देखा परेको छ । लिङ्ग भेदप्रतिको चासो अनि वैवाहिक सम्बन्धमा महिलाहरुको भूमिकालाई लिएर उनीहरुको सोच परिवर्तन भइरहेको पाइएको छ । 

यसमा एउटा उदाहरण हो, चीनमा श्रीमतीहरुलाई अपमान गरि ‘विवाहित गधा’ पनि भन्ने गरिएको छ । यसले विवाहप्रति महिलाहरुको बलियो भाव प्रस्तुत गर्दछ । उनीहरुले विवाह भनेको, पति र पत्नी दुवै पक्षका लागि अन्यायपूर्ण हुने आभास गरिरहेकाले पनि यसबाट पछि हट्न थालेको महिलावादी अभियन्ता शिआओ बताउँछिन् । 

यसकारण पनि बेइजिङमा विवाह अस्वीकार गर्ने दर ठूलो समस्या नै बनेको छ । युवाले विवाह नगर्नु अनि बच्चा नजन्माउनुले जनसङ्ख्यात्मक हिसाबमा संकट निम्त्याउन सक्छ । यसले अर्थतन्त्र र सामाजिक स्थिरता दुवैमा अवरोध पुर्याउन सक्ने हुँदा सरकारलाई नै सम्भावित जोखिममा पार्ने डर रहेको छ । 

चिनियाँ मन्त्रालयका अधिकारी याङ जोङताओले गत वर्ष एक समाचार सम्मेलनमा भनेका थिए, “विवाह र प्रजनन दरको एकदम नजिकको सम्बन्ध छ । त्यसैले विवाह दरमा गिरावट आउनुले जन्मदरमा पनि कमी ल्याउँछ । यसको नतिजा आर्थिक र सामाजिक विकास प्रभावित हुन्छ । यसकारण पनि हामीले यो समस्यालाई अगाडि ल्याउन जरुरी छ । मन्त्रालयले प्रेम, विवाह अनि परिवार सम्बन्धी सकारात्मक जनधारणा अविवृद्धि गराउन अनि समस्यामा सुधार ल्याउन सबै किसिमले प्रयास गर्नेछ ।”

त्यस्तै यसअघि राष्ट्रिय संचारले वैवाहिक जोडीहरुलाई बच्चाको जन्म पारिवारिक मामिला मात्र नभएर देशका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गरेको थियो । दुई सन्तान नीतिसँगै सरकारले सुत्केरी बिदा पनि बढाएको छ । यता कम्युनिस्ट युथ लिग, सीपीएलले ठूलो स्तरमा जोडीहरुलाई मिलाउन र भेट गराउन अविवाहितहरुको भेला गराउने कार्यक्रम आयोजना गर्ने गरेको छ । सरकारी निकायहरुले अविवाहितहरुलाई विवाह गर्न प्रोत्सान गर्नुका साथै पहिले नै विवाह गरिसकेकालाई पनि साथ राख्ने प्रयास गरिरहेको छ । 

तर, एक सन्तान नीति हटाएदेखि महिलाहरुको जागिर जोखिममा पर्न थालेको छ । जहाँ कम्पनीले उनीहरुले अब दोस्रो सन्तान पाउन सक्ने हुँदा फेरि सुत्केरी बिदा लिनेबारे चिन्ता मान्ने गरेका छन् । यस किसिमका समस्याहरु राम्ररी समाधान नहुँदा महिलाहरुमा विवाह गर्ने, विवाहित रहने, बच्चालाई जन्म दिने सम्बन्धी झन ठूलो दबाब उत्पन्न हुन्छ  । जसले उल्टै उनीहरुलाई विवाहबाट टाढा लैजाने विज्ञहरु बताउँछन् । त्यसैले सरकारले महिलाहरुलाई विवाहका लागि प्रोत्साहन गर्दैगर्दा तिनका अधिकारको सुरक्षा पनि सुनिश्चित गर्न जरुरी रहेको छ । 

चिन्ताजनक तथ्याङ्क 
२०१९ मा चीनको विवाह दरमा लगातार छैटौँ वर्ष ठूलो गिरावट आएको थियो । प्रति हजार व्यक्तिमा त्यहाँ केबल ६.६ प्रतिशतले मात्र विवाह गर्ने गरेका छन् । जुन १४ वर्षकै सबैभन्दा कम हुन्छ । विवाह गर्न योग्य मानिसहरुको सङ्ख्या कम भएकाले पनि यो समस्या गम्भीर बन्न थालेको बताइएको छ । २०१४ मा दशकौँपछि पहिलोपटक चीनमा काम गर्ने उमेरको जनसङ्ख्यामा कमी महसुस भएको थियो । त्यसको एक वर्षपछि नै चिनियाँ सरकारले एक सन्तान नीति हटाएर दुईवटासम्म बच्चा जन्माउन मिल्ने नीति ल्याएको थियो । तर, यसले पनि घट्दो विवाह दर र जन्मदरलाई सन्तुलनमा ल्याउन सकेन । २०१६ देखि २०१९ का बीचमा मात्र जन्म दर प्रति १ हजारमा १३ बाट झरेर १० पुगेको हो । यसमा अहिलेका युवा युवतीको जीवनको मूल्यमान्यतामा परिवर्तन आएकाले पनि यस्तो भइरहेको बताइएको छ । 

तर, अझैपनि पूर्वी एसियाका अन्य मुलुक, जापान, दक्षिण कोरिया, हङकङ र ताइवानको तुलनामा चिनियाँ समाजको विवाह दर उच्च नै छ । तर, अन्य कुनैपनि देशले चीन जसरी जनसङ्ख्यामा कडा नियन्त्रण राख्ने प्रयास गरेको छैन । एउटा मात्र सन्तान पाउन मिल्ने नियमका कारण धेरै परिवारले छोरालाई मात्र जन्म दिने गर्नुले महिला र पुरुषको सङ्ख्यामा ठूलो अन्तर देखिएको छ । हाल चीनमा महिला जनसङ्ख्या भन्दा ३ करोड धेरै पुरुष छन्  । जसकारण नै उनीहरुलाई श्रमती खोज्न कठिन हुने गर्दछ । 

त्यसैगरी महिलाहरु आर्थिक रुपमा स्वतन्त्र बन्दै जानु, शिक्षित हुनुजस्ता कारणले पनि समाजमा परिवर्तन ल्याइरहेको छ । १९९० को दशकमा चिनियाँ सरकारले सबैका लागि नौ वर्ष अनिवार्य शिक्षाको नीतिलाई कडाइपूर्वक लागु गरायो । यसले विपन्न परिवारका छोरीहरुलाई पनि कक्षा कोठासम्म पुर्यायो । यसपछि १९९९ मा सरकारले फेरि उच्च शिक्षालाई पनि विस्तार गर्दै युनिभर्सिटीमा भर्ना गराउनतर्फ बढावा दियो । २०१६ सम्म आइपुग्दा उच्च शिक्षाका कार्यक्रममा पुरुषभन्दा महिलाको सङ्ख्या धेरै पुग्यो । आधिकारिक तथ्याङ्कका अनुसार ५२.५ प्रतिशत कलेजका विद्यार्थी र ५०.६ प्रतिशत पोस्ट ग्राजुएट विद्यार्थी महिला रहेका थिए । यसरी शिक्षासँगै महिलाले प्राप्त गरेको आर्थिक स्वतन्त्रताले विगतमा जस्तो विवाहको आवश्यकता हटाइदियो । अहिले त्यहाँका महिला विवाह गर्नु अघि आत्मविकास अनि करिअर स्थापित गर्न चाहन्छन् । 

उता, परम्परागत पुरुषप्रधान संस्कृति भने अझै नहटेको हुँदा बुहारीले ‘फुल टाइम’ बाहिर काम गरे पनि परिवारले घरका कामकाज अनि बालबालिकाको हेरचाहका लागि उनैको बाटो हेर्ने गर्दछन् । त्यसैले पनि विवाह गरेपछि कामको बोझ बढ्ने, करिअरमा अनि आफूमा ध्यान दिन नपाइने हुँदा महिला विवाह गर्नुअघि धेरैपटक सोच्न बाध्य हुने गरेका छन् । विवाह आफ्ना लागिमात्र नभएर पतिको परिवारको अनि छोराछोरीको जिम्मेवारी पनि हुनेछ । अर्कोतर्फ रोजगारको क्षेत्रमा पनि महिलालाई उत्तिकै बेफाइदा छ । जसमा उनीहरुले करिअर र छोराछोरी दुवै एकैचोटी प्राप्त गर्ने अवस्था छैन । 

यसकारण धेरै महिलाले, म यो किन गर्दैछु ? मेरा लागि यसमा के छ ? भनेर सोच्न थालेको न्युयोर्क युनिभर्सिटी सांघाइकी प्रोफेसर लि सुआन बताउँछिन् । 

त्यस्तै काम गर्ने समय धेरै लामो अनि तनावपूर्ण हुने गर्दा यसले पनि महिलामा नयाँ सम्बन्ध बनाउन र पारिवारिक जीवन कायम राख्न अत्यन्तै कम ऊर्जा दिलाउँछ । यस्तो अवस्थामा महिला र पुरुष दुवैतर्फ विवाह गर्ने उमेर पनि विगतको तुलनामा बढेको छ । १९९६ देखि २०१६ का बीच महिलाले, २२–२५ मा र पुरुषले २४–२७ सम्म विवाह गर्ने गरेका थिए तर अहिले पहिलो विवाहको उमेर दुवैका लागि ३० पुगेको छ । 

३१ वर्षीया जोएनले बताए अनुसार उनले धेरैपटक आफ्ना विवाहित साथीहरुबाट वैवाहिक जीवनका बोझ अनि चुनौतिबारे सुनेकी छन् । उनी भन्छिन्, “हिजोआज महिलाको आर्थिक क्षमता निकै सुध्रिएको छ । त्यसैले एक्लै गुजारा गर्नु वास्तवमा राम्रो अनुभव हो । यदि हामीले कोही पाइहाल्यौँ र विवाह गर्यौँ भने परिवारका कारण धेरै तनाव हुनेछ र जीवनस्तरमा गिरावट आउनेछ ।”

अर्को कुरा महिलाको बढ्दो जीवनस्तरले पनि उपयुक्त पार्टनर खोज्नमा झन कठिन बनाइदिएको छ । जस्तै विवाहका लागि योग्यहरुमा उच्च शिक्षा हासिल गरेका, उच्च आय भएका महिला धेरै छन् भने पुरुषहरुमा चाहिँ कम पढेका अनि कम आय भएका धेरै सङ्ख्यामा छन् । परम्परागत चिनियाँ समाजमा महिलाले आफूभन्दा धेरै पढेको र धेरै कमाउनेसँग विवाह गर्ने गरेका छन् भने पुरुषले आफूभन्दा कम पढेको र कम आय स्तरयुक्त महिला खोज्छन् ।

अहिलेका महिलाले विवाह एक मात्र विकल्प होइन भन्ने बुझेका छन् र एक्लै हुनु, धेरै साथी बनाउनु, आफ्नो करिअरमा केन्द्रित रहनु अनि आफ्नो र बुवाआमको ख्याल राख्नुले पनि जीवनको उपलब्धी हो भन्ने आभास गरिसकेका छन् । – सीएनएन 



बुधबार २१, माघ २०७७ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.