सुदूरपश्चिममा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने, १० खोपकेन्द्र तोकियो

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने, १० खोपकेन्द्र तोकियो

संघीय सरकारले सुदूरपश्चिमका १६ हजार बढिलाई पुग्नेगरि कोरोना भाइरस विरुद्धको खोप पठाएको छ। संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यान मार्फत आइतबार प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरि कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।  

भोलि(सोमबार) वा मंगलबारसम्म खोप सुदूरपश्चिम पुग्ने भएकाले त्यसका लागि आन्तरिक व्यवस्थापनको काम समेत थालिएको उनले बताए।  

प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार पहिलो चरणमा खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ। उनीहरुलाई माघ १४ गतेदेखि १८ गतेसम्म पहिलो चरणको खोप लगाइने कार्कीले बताए।

यसअघि खोपका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी र १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क संकलन भएको जनाएको थियो। खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भएपनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी नहुने बताइएको छ। 

यस्तै प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र समेत तय गरेको छ। सामाजिक विकास मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुरलाई  खोप केन्द्र रुपमा तोकेको छ। अन्य जिल्लाको हकमा भने जिल्ला अस्पताललाई खोपकेन्द्र तोकिएको छ। 

प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले खोप भण्डारणको सबै तयारी सकिएको जनाएको छ। भारतले हालै अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप संघीय सरकारले सुदूरपश्चिमका लागि पनि पठाएको हो। सुदूरपश्चिम कोरोना फैलिएको झण्डै ११ महिनापछि खोप आउन लागेको हो।



आइतबार ११, माघ २०७७ ०९:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.