पीएम कप क्रिकेटमा लुम्बिनीको दोस्रो जित, सेमिफाइनल सम्भावना कायमै

नजिक न्युज संवाददाता    

पीएम कप क्रिकेटमा लुम्बिनीको दोस्रो जित, सेमिफाइनल सम्भावना कायमै

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियवगितामा लुम्बिनीले दोस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शनिबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको लुम्बनीले ३ खेलबाट ४ अंक जोडेको छ ।

साथै लुम्बिनीले सेमिफाइनल सम्भावना कायम राखेको छ । बागमती ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपाल पुलिसको पनि ३ खेलबाट ४ अंक छ । रनरेटमा पुलिसलाई पछि पार्दै लुम्बिनी दोस्रो स्थानमा उक्लेको छ ।

लगातार तेस्रो हारपछि सुदूरपश्चिम भने समूह चरणबाटै बाहिरिएको छ । सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीको लागि सौरभ खनालले अविजित १८ रन बनाए । यस्तै प्रकाश केसीले अविजित १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रन जोडे ।

सुदूरपश्चिमका शेर मल्लले २ र विनोद लामाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७.४ ओभरमा सबै विकेट गुमाएर ६२ रनमै अलआउट भयो । यस संस्करणको यो सबैभन्दा कम स्कोर हो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन बनाउनबेहक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई अलआउट गर्न लुम्बिनीका कप्तान कृष्ण कार्कीले १० ओभरमा ३ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अनिल खरेलले ७ ओभरमा ३ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । विक्रम भुषालले पनि २ विकेट लिए । यस्तै सन्दीप सुनार र दीपेन्द्र रावतले समान १ विकेट लिए ।



शनिबार १०, माघ २०७७ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.