बाबासँग ओठको भाषामै कुरा गर्थ्यौं

नजिक न्युज संवाददाता    

बाबासँग ओठको भाषामै कुरा गर्थ्यौं
भैरवनाथ रिमालसँग उनका छोरीहरु ।

पौष २५ गते अपरान्ह हाम्रो बाबा, भैरवनाथ रिमाल ‘कदम’को स्वर्गारोहण भयो । यसपछि जताततै उहाँका गीतहरूको फेरि एकपटक चर्चा हुन थाल्यो । उहाँको साहित्यको प्रशंसा  हुन थाल्यो  । शब्द, स्वर र संगीतले जन्माएको उहाँको परिचयको उचाइ अनन्त फैलियो ।

तर, हामीलाई भने त्यसबेला ती कालजयी गीतहरू कसरी सिर्जना भएका थिए भन्ने स्वर्णीम समयको स्मरण हुनपुग्यो । कुरा करिब चार दशक अगाडिको सेरोफेरोको हो । जतिबेला हाम्रो बाबा र स्वरसम्राट नारायण गोपालको गहिरो मित्रता थियो । उहाँ हाम्रो चाबहिल बुलबुलेस्थित घरमा प्रायःजसो आइरहनुहुन्थ्यो । नारायणगोपाल बाबाको कोठमा भएको हारमोनियम बजाइरहनुहुन्थ्यो । हामीलाई राम्रोसँग सम्झना छ- अरूणा लामाले गाएको ‘उदास मेरो जीवनकथा कसैलाई भनिनँ’ गीत रेकर्ड गर्नुअगाडि हाम्रो घरको त्यो सानो कोठामा नारायण गोपालले हारमोनियम बजाई अरुणा लामाले पटक–पटक अभ्यास गर्नुभयो ।

त्यो समयमा गीतको सिर्जना गर्न शब्द, संगीत र स्वरमात्र हुन्थ्यो । अभ्यासले गीतमा मिठास ल्याउँथ्यो । अन्य कुनै प्रविधि थिएन ।

त्यहीदिन हाम्रो आँगनमा खिचिएको फोटो हाम्रो सम्झनाको साक्षी बनेको छ । हामीहरू साना उमेरकै थियौं । रमाइलो लाग्थ्यो फोटो खिचेको ।  हामी ढोकाको चेपबाट चियाएर हेर्थ्यौं । संगीतकार, गायकहरू आउने दिन आमाले मीठा-मीठा खाजा बनाउनुहुन्थ्यो । हामी केटाकेटीलाई ती दिन असाध्यै रमाइलो लाग्थ्यो, किनकी मीठा परिकार खान पाउने अनि रेडियोमा स्वरमात्र सुनेका र तस्वीरमात्र देखेका व्यक्तिलाई हामी अंकल भनेर सम्बोधन गर्न पाउँथ्यौं । हामी बडो गर्वका साथ अरूहरूलाई घरको साहित्यिक कुरा सुनाउथ्यौं ।

जीवनभर कान नसुन्ने भएपनि हामी छोराछोरीले ठूलो आवाजमा बाबासँग कहिल्यै बोल्नुपरेन । उहाँ हाम्रो ओठको भाषा बुझ्नुहुन्थ्यो । आँखाको भाका बुझ्नुहुन्थ्यो, अनुहारको भाव बुझ्नुहुन्थ्यो । आवाज नै चाहिने थिएन बाबासँग बोल्न !

गायिका कोइलीदेवी कुनै समय हाम्रो घरको तल्लो तलामै बस्नुहुन्थ्यो । त्यहीबेला उदितनारायण झा भर्खर राजविराजबाट काठमाडौं आएका थिए । अनि रेडियो नेपालमा गीत रेकर्ड गर्न प्रयासरत रहँदा उहाँ पनि हाम्रो घरमा आउनुहुन्थ्यो । हामी उहाँलाई ‘उदित दाइ !’ भनेर आदरपूर्वक सम्बोधन गर्थ्यौं । उहाँ पनि हाम्रो बाबालाई दाइ नै भन्नुहुन्थ्यो । उहाँको काठमाडौं बसाइको कठिन समयमा हाम्रो बाबा–आमाले धेरै मद्दत गर्नुभएको थियो । उहाँले कोइलीदेवीको संगीतमा बाबाको गीत पनि गाउनुभएको थियो । हाल उहाँको परिचयको स्वरूप बदलिएको अवस्थामा यी कुराहरू सायदै मान्य होलान् ।

बाबाको मनपर्ने गायकमध्ये दीप श्रेष्ठ पनि एक हुनुहन्छ ।  उहाँसँगको मित्रताले दाइ–भाइको रूप लिएको छ । दीप श्रेष्ठले गाएको ‘हुँ यात्री एउटा’ बोलको गीत ‘दीप सरको प्रिय–गीत हो’ भनिरहनुहुन्थ्यो । यसो त बाबाको साहित्यिक तथा गीति–यात्राका सहयात्रीहरू स्रष्टासँगका अनमोल पलहरू हाम्रा मानसपटलमा अनगिन्ती छन् । ती सबै यसमा समेट्न सकेनौं । तर, बाबाको यात्रालाई अविस्मरणीय बनाउने कोसिसमा हाम्रा कर्म चलिरहनेछन् ।

सत्र वर्षअगाडि आमाले छोडेर गएपछि हाम्रा लागि बाबा नै आमासरह बन्नुभयो । हामीलाई आमाको अभाव नहोस् भनी उहाँ प्रयास गरिरहनुहुन्थ्यो । अनि आफ्नो एक्लोपनलाई सायद कविता तथा भजनमा व्यक्त गर्नुहुन्थ्यो बाबा । हरदम शब्दसँगै रमाउने बाबाको बानी थियो । कान नसुन्ने भएकोले उहाँसँग भेट गर्न आउने व्यक्तिहरूले उहाँसँग कापीमा लेखेर कुरा गर्थे । उहाँको नजिकै टेबलमाथि क्लिपबोर्ड, त्यसमा कागजका पानाहरू र एउटा कलम हुन्थ्यो । जसमा लेखेर उहाँसँग अरुले कुरा गर्थे । हामीलाई त्यो बेला हेक्का भएन तर अहिले लाग्छ ती अक्षर, ती कुराकानी विभिन्न कालजयी स्रष्टाहरूको इतिहास बन्दथ्यो । हस्तलिपीको नमुना बन्दथ्यो ।

सादा जीवन र उच्च विचारलाई पहिल्याई सरल जीवन जिउने, हरेक पल सकारात्मक सोच राखी कहिले नाति–नातिनासँग खेल्दै, कहिले शब्दसँग खेल्दै समय बितिरहेको थियो बाबाको । अचानक कोरोनाको कहरको कारण उहाँ घरभित्रै पर्नुभयो । विस्तारै–विस्तारै उहाँ आफैं बिरामी पर्न थाल्नुभयो । पहिला उहाँलाई विस्मृतिले पछ्याउँदै गयो, जसले गर्दा आफ्नो बाल्यकालमात्र सम्झना हुने तर वर्तमानका आफ्ना बालबच्चालाई नचिन्ने रोग भयो । तर जीवनभर कान नसुन्ने भएपनि हामी छोराछोरीले ठूलो आवाजमा बाबासँग कहिल्यै बोल्नुपरेन । उहाँ हाम्रो ओठको भाषा बुझ्नुहुन्थ्यो । आँखाको भाका बुझ्नुहुन्थ्यो, अनुहारको भाव बुझ्नुहुन्थ्यो । आवाज नै चाहिने थिएन बाबासँग बोल्न !

विस्मृति (बिर्सने रोग) अचम्मको रोग रहेछ । छोराछोरी बिर्सने, खान बिर्सने, भर्खर खाएको बिर्सने हुनेरहेछ । त्यही कारण उहाँले हामीलाई बिर्सनुभयो, खान बिर्सनुभयो, अनि हिँड्न पनि बिर्सनुभयो । हामी सानो हुँदा हात समाएर डोहोर्‍याउनुहुन्थ्यो । सधैं हाम्रो कुशल अभिभावक हुनुहुन्थ्यो । तर समयले कोल्टे फेर्‍यो । हामी उहाँको अभिभावकजस्ता बन्यौ । उहाँलाई खुवाउने, डोहोर्‍याउने, सुताउने आदि हाम्रो दिनचर्या बन्यो । हामीलाई आशा थियो– बाबालाई ठीक हुन्छ भन्ने । तर,  हामीले सोचेजस्तो भएन । उहाँको शरीर दिनदिनै कमजोर हुँदै गयो ।

कान त कमजोर छँदै थियो साथै संसार निहार्ने दृष्टि पनि कमजोर हुँदै गयो । अब उहाँ र हाम्रो कुरा गर्ने माध्यम स्पर्शमात्र भयो । हाम्रो हातको स्पर्श पाउँदा बलियोसँग समात्नुहुन्थ्यो बाबा । सायद उहाँलाई हाम्रो साथ छुट्ने डर थियो । तिनै औंलाहरूले कलम चलाएर लाखौंको मनमा बस्न सकेका बाबाको औंलाले हाम्रो हात मजबुत समाएका थिए, जीवनको अन्तिम समयमा । भगवानको इच्छा त्यही थियो सायद, उहाँको औंला हामीबाट फुस्कियो, स्पर्श छुट्यो, उहाँको स्वास रोकियो । हामी छोराछोरीका प्यारा बाबा, देशलाई औधी माया गर्ने साहित्यकारको अन्त्य भयो ।

बावाको जन्मदिन माघ–२ गते सधैं हाम्रो बुलबुलेको घरमा चहलपहल हुन्थ्यो । हामी छोराछोरी भेला भई बाबाको जन्मदिन मनाउँथ्यौं । उहाँ पनि खुसी हुनुहुन्थ्यो । यसपटक पनि त्यो दिन आउँदै थियो । उहाँको जन्मदिन मनाउने तयारीमा थियौं तर हामीलाई त्यो मौका भगवानले दिनुभएन । जन्मदिनको दिन उहाँको मृत्यु भएको सातौं दिन भएको थियो ।

बाबाको विछोडले अशान्त मन लिएर हामी उहाँको कोठामा पस्यौं । त्यहाँ उहाँले कविता लेख्ने कागजमा लेखेको एक कविता भेट्यौं, जुन हाम्रो अनुमानमा अन्तिम हुनुपर्छ भन्ने लाग्यो । त्यो कविता आफ्नो देहावसानको पूर्वआभास भएझैं गरी हाम्रो लागि लेखिएको रहेछ । जुन कवितामा  बाबाले हामी सन्ततिलाई छोडेर, आमासँग मिल्न जाने भाव व्यक्त गर्नुभएको पाइन्छ । त्यो कविताले हाम्रो विक्षिप्त मनभित्र भएको विछोडको पीडा झनै बल्झायो ।

हामीलाई मन छ, बाबाको इच्छाअनुसार आमासँग मिलन होस् । हामी तीन छोरीको तर्फबाट हार्दिक श्रद्धाञ्जली बाबा ! हार्दिक श्रद्धाञ्जली !

(कवि भैरवनाथ रिमाल कदमको १३ औं दिनको पुन्यतिथिमा उनका छोरीहरूको संस्मरण लेख)



बिहिबार ०८, माघ २०७७ ०३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.