पीएम कपमा एपीएफको लगातार दोस्रो जित, गण्डकी बाहिरियो

नजिक न्युज संवाददाता    

पीएम कपमा एपीएफको लगातार दोस्रो जित, गण्डकी बाहिरियो

 विभागीय टोली एपीएफले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । समूह ए अन्तर्गत बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

प्रतियोगितामा तेस्रो हार बेहोरेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पारेको थियो ।

बलिङमा कमल सिंह ऐरीको ४ विकेट र आसिफ शेखको ७८ रनको मद्दतमा एपीएफले गण्डकीलाई सहजै पराजित गरेको हो ।

गण्डकीले दिएको १०७ रनको लक्ष्य एपीएफले १७.४ ओभर खेल्दा ४ विकेट गुमाएर पूरा गरेको हो । ओपनर सुबा खकुरेल र रित गौतम खाता नखोली आएट भएपनि अर्का ओपनर आसिफले अर्धशतक प्रहार गर्दै एपीएफलाई जितसम्म पुर्‍याए ।

स्कोर बराबर हुँदा आसिफलाई गण्डकीका विशाल पौडेलले एलबीडब्लु गरेका थिए । आसिफले ५६ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै सुमित महर्जनले १८ रन बनाए । कप्तान शरद भेषावकर ५ र भुवन कार्की १ रनमा अविजित रहे ।

गण्डकीका चन्द्र पौडेलले र विशाल पौडेलले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभर खेल्दै १०६ रनमा अलआउट भएको थियो । गण्डकीका लागि ओपनर समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै विष्णु पाण्डेले र दिपेश खत्रीले समान १५ र दिनेश बुढामगरले १२ रन जोडे ।

बाँकी खेलाडी दोहोरो अंकमा रन नजोडी आउट भए ।

एपीएफका कमल सिंह भरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले ८ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । कप्तान शरद भेषावकरले २ र किशोर महतोले १ विकेट लिए ।

 


बिहिबार ०८, माघ २०७७ ०२:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.