बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले कोल्टीमा जनसभा आयोजना गरेको छ । पार्टी बुढीनन्दा नगर कमिटीको आयोजनामा जनसभाको आयोजना गरी नगर स्तरीय आफ्नो शक्ति प्रर्दशन गरेको हो ।
पार्टी विभाजनको असर नगरपालिकामा नपरेको र जनताको समर्थन नेकपा ओली समूहतिरै रहेको सन्देश प्रवाह गर्न जनसभा आयोजना गरेको पार्टी नगर कमिटी अध्यक्ष जंगवीर रोकायाले बताएका छन् ।
१० वटै वडाबाट भव्य जनमास कोल्टीमा उतारेर पार्टी विभाजनको असर नपरेको र बहुसंख्य सबैको आकर्षण ओली नेतृत्वको नेकपामा बढेको सन्देश दिन जनसभा मार्फत सफल भइएको पार्टी जिल्ला कार्यालय सदस्य जनक कुमार बोहराले बताएका छन् ।
प्रचण्ड माधव समूहले आयोजना गरेको बैठकमा सीमित केहि व्यक्तिहरुको उपस्थिति रहेपनि ओली पक्षको कार्यक्रममा सबैजसो नेता कार्यकर्ता सहभागि रहेका थिए । ओली पक्षले मार्तडीपछि कोल्टीमा कार्यक्रम आयोजना गरेर आफ्नो उपस्थिति पुरानै अवस्थामा रहेको सन्देश दिन सफल भएको नेकपा केन्द्रीय सदस्य लालबहादुर थापाले बताएका छन् ।
थापाकै प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रीय सदस्य सहदेव बोगटी, दयाल बहादुर शाही, नेकपा नेता रामलाल कार्की, मानबहादुर कार्की, कार्यालय सदस्य जनक कुमार बोहरा, सचिवालय सदस्य पेम्बा गुरुग भोटे, जनक विष्ट, सृष्टी रेग्मी, राजन रोकाया, युवा संघका गणेश थापा, गणेश बोहरा, विद्यार्थी नेता चेतनदीप अयडी लगायतले संवोधन गरेका छन् ।
बक्ताहरुले पार्टी विभाजनको कुनै संकेत नदेखिएको र केही पार्टी विभाजनको मानसिकता बोकेका मान्छेहरु फरक कित्तामा उभिएपनि त्यसले असर नपार्ने दाबी गरेका छन् ।
सिंगो बाजुरामा फुटको र विभाजनको कुनै संकेत नदेखिने र सिंगो पार्टी पुरानै अवस्था र आकारमा रहने नेकपा केन्द्रीय सदस्य सहदेब बोगटीले दाबी गरेका छन् । कार्यक्रम कोल्टीको शिवपार्कमा आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस