नेकपा बाजुराले गर्यो ६०१ सदस्यीय जिल्ला कमिटी विस्तार

नजिक न्युज संवाददाता    

नेकपा बाजुराले गर्यो ६०१ सदस्यीय जिल्ला कमिटी विस्तार

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराले जिल्ला कमिटी विस्तार गरेको छ । पार्टी विभाजनको श्रृखला सुरुभएपछि नेकपा ओली पक्षले १ सय ५१ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेर ६ सय १ सदस्य जिल्ला कमिटी विस्तार गरेको हो । 

पार्टी जिल्ला कमिटीको चौथो बैठकबाट सबै क्षेत्र भूगोल, वर्ग र समुदायलाई समेट्ने र युवा पीडीलाई नेतृत्व हस्तान्त्रण गर्ने गरी कमिटी विस्तार गरेको प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् ।

पार्टी प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाको उपस्थितिमा बसेको बैठकले बैठकमा पेश गरिएका नामलाई जिल्ला कमिटी सदस्यको भूमिकामा अनुमोदन गर्ने निर्णय गरेको छ । यस अघि रहेको १ सय ५१ जना सदस्य रहेको जिल्ला कमिटी मध्ये ओली समूहमा १ सय २० जनाले हस्ताक्षर गरेका छन् ।

बाँकी ४ सय ८१ जना नयाँ थपिएको छ । प्रचण्ड माधव समूहले पनि यस अघि ५ सय १ सदस्यीय जिल्ला आन्दोलन समिति गठन गरेको थियो । पार्टी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले नौ वटै स्थानीय तहमा संगठन विस्तार अभियान सुरु गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कमिटी सदस्यहरुको नेतृत्वमा नौ वटै स्थानीय तहमा प्रशिक्षण तथा संगठन विस्तार गर्ने निर्र्णय बैठकले गरेको प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । जिल्ला कमिटीको कार्यालयमा गर्ने भनिएको बैठक भने नेकपा ओली समूहले अपि होटलमा राखेको थियो ।

पार्टी सचिव भरत बुढाले सञ्चालन गरेको बैठकले राष्ट्रपतिका विरुद्धमा प्रस्तुत भएका नाराहरुको विरोध सहीत दोषि माथि कारवाहीका लागि माग गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयको स्वागत सहीत चुनावी तयारीमा लाग्ने विषयमा समेत छलफल गरिएको छ ।

बैठमा पार्टी प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, पार्टी केन्द्रीय सदस्य लालबहादुर ओली, लोकेन्द्र शाही र मिनबहादुर विष्टले धारणा राख्नु भएको थियो । नेकपा नेतृ पवित्रा शाहीको निधन प्रति दुख व्यक्त गर्नुका साथै बैठकले बाजुरामा पार्टी विभाजनको कुनै असर नदेखिएको निष्कर्ष निकालेको छ ।
 



सोमबार २७, पुष २०७७ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.