नेकपा नेताहरु भन्छन्, पार्टी फुटेको छैन्, व्यक्ति बाटो विराएर गएका हुन्

नजिक न्युज संवाददाता    

नेकपा नेताहरु भन्छन्, पार्टी फुटेको छैन्, व्यक्ति बाटो विराएर गएका हुन्

बाजुरा : नेकपाका नेताहरुले पार्टी विभाजन नभएको दाबी गरेका छन् । नेकपा बाजुराले मार्तडीमा आयोजना गरेको कार्यक्रममा नेताहरुले पार्टी विभाजन नभएको, बरु केही व्यक्तिहरु स्वार्थ सिद्ध गर्न नपाएपछि मात्र चोइटिएर गएको आरोप लगाएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पुर्व उद्योगमन्त्री कर्णबहादुर थापाले पार्टी विभाजनको दिशातिर गएपनि फुटि नसकेको बताएका छन् । पार्टी फुटाउन कोशिस भएपनि त्यो सपना पुरा नहुने बताएका छन् ।

भीम रावल प्रति बढी आक्रामक देखिएका थापाले सरकारले गरेको राम्रो कामको विरोध र पद नपाएको छटपटी मात्र देखाउने भीम रावलको समाप्तीको बाटो सुरु भएको बताएका छन् । २०५४ सालमा धरातल नै नबनाएर केन्द्रबाट नेता बनेर आएका रावलले कुरामा राष्ट्रवाद कराएर केही नहुने बताएका छन् ।

थापाले रावललाई चाकडी गर्ने, व्यक्ति स्वार्थमा केन्द्रीत हुने नवसामन्तको संज्ञा दिएका छन् । रावल पार्टी एकता भन्दा आफ्नो पद र प्रतिष्ठाका लागि लाग्ने व्यक्ति भएकाले त्यस पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

ओलीलाई राम्ररी बुझ्न र अध्ययन गर्न आग्रह गरेका थापाले सरकारले असहयोगका बीच पनि इतिहासिक काम गरेको र त्यो जनताले राम्ररी बुझेको बताएका छन् । थापाले बाजुरामा अब प्रचण्ड माधव समूहका नाममा जितेर वा राजनीति स्थापित गरेर देखाउन चुनौति समेत दिएका छन् ।

नेकपा केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले बाजुरामा पार्टी विभाजनको संकेत नदेखिएको बताएका छन् । पार्टीमा केही संख्यामा फरक मत राखेर प्रचण्ड माधव समूहतिर लागेपनि कुनै असर नपर्ने बताएका छन् । 

विघठीत प्रतिनिधी सभाका सदस्य समेत रहेका थापाले बाजुराली जनताको साथ र सहयोग ओलीकै पक्षमा रहेको र आफूहरुले मेहनत गरेर बनाएको संगठनमा आस्थावाना नेता कार्यकर्ता पनि ओली नेतृत्वकै नेकपामा लाग्ने बताएका छन् ।

थापाले आगामी बैशाखमा  १७ र २७ गते हुने मध्यावधी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । ओलीको अगुवाई र देश निर्माणको सपनामा चित्त दुखाई मान्नेहरु नै चोइटिएर गएको बताएका छन् ।

थापाले एमसीसीलाई राष्ट्रघाती भन्ने भीम रावललाई बोलीमा नभई व्यवाहारमा राष्ट्रवादी बन्न आग्रह गरेका छन् । थापाले एमसीसी बारे खुला बहस गर्न भीम रावलसँग चुनौति दिएका छन् । 

नेकपा केन्द्रीय सदस्य सहदेव बोगटीले पार्टी विभाजन नभइ शुद्धिकरण सहीत अघि बढेको बताएका छन् । ओलीलाई ढिलो चिन्ने अवसर मिलेको बताउँदै तत्कालिन माओवादी नेता समेत रहेका बोगटीले प्रचण्डलाई गद्दारको संज्ञा दिनु भएको छ ।

पहिले प्रचण्ड जनयुद्धका नायक थिए, नेपाली क्रान्तिका योद्धा थिए, तर अहिले राष्ट्रघाती र विकास विरोधी गद्दार भएको आरोप लगाएका छन् । प्रचण्डलाई चिनेर मात्र संगत गर्न आग्रह गरेका छन् । 

बोगटीले जनताको भाग्य र भविष्य नै ओली भएकोले निर्धक्क रुपमा लाग्न आग्रह गरेका छन् । बोल्ने अन्य बक्ताले पनि अलमलमा नपरी ओलीको पक्षमा समर्थन गर्न र सूर्यमा मतदान गर्न आग्रह गरेका छन् । 
 



सोमबार २७, पुष २०७७ ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.