संघ र प्रदेश सरकारले विकासमा समन्वय नगरेको स्थानीय तहका जनप्रतिनिधीको गुनासो

नजिक न्युज संवाददाता    

संघ र प्रदेश सरकारले विकासमा समन्वय नगरेको स्थानीय तहका जनप्रतिनिधीको गुनासो

बाजुरा : स्थानीय तहका जनप्रतिनिधीले विकासमा संघ र प्रदेश सरकारले प्रभावकारी समन्वय नगरेको गुनासो सुनाएका छन् । योजना गाउँ बस्तीमै कार्यान्वयन गर्नुपर्ने भएर पनि कुनै जानकारी विना नै योजना आउने र कार्यान्वयन झ्यालबाट गराउने प्रवृत्तिको अन्त्यको माग गरेका छन् ।

संघिय र प्रदेश सांसदको उपस्थितिमा मार्तडीमा आयोजिक विकास निर्माणको अवस्था बारे समीक्षा छलफलमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षले विकासका लागि आउने योजनामा स्थानीय तहलाई समन्वय गरेर मात्र कार्यान्वयन गर्न माग गरेका छन् ।

त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कर्मचारी दरबन्दी माग अनुसार नदिँदा काममा बाधा पुगेको बताएका छन् । संघिय र प्रदेश सरकारले स्थानीय तहको माग र चाहनालाई संवोधन गर्न चुकेको र खल्तीका योजना ल्याउने गरेकै कारण लगानीको सही सदुुपयोग नभएको बताएका छन् । 

रावलले प्रदेश सरकारबाट आउने योजना दलाली र व्यक्तिगत रुपमा आउने गरेको गुनासो गरेका छन् । बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले आफ्नो नगरले गरेको काम तथा प्रगति प्रस्तुत गर्दै तीन वटै तह बीचको सम्बन्ध प्रगाढ र विश्वासीलो हुनु पर्ने बताएका छन् । 

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले निर्माण व्यवसायीलाई मात्र दोष दिएर विकासले गति लिन नसक्ने बताएका छन् । आफूसँग सम्बन्धीत ठेकाबारे प्रश्न उठेपछि नगर प्रमुख गिरीले ठेकेदारलै भूमिका देखाएर काममा सबै पक्षको लापरवाही हुने भएकै कारण ठेकामा पनि घाटा बेहोर्नु परेको बताएका छन् ।

जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले योजनामा बजेट लगानीले मात्र विकास निर्माणले गति नलिने भएकोले लगानी भएको ठाउँको अनुगमन र निगरानी पनि सम्बन्धीत निकायबाट हुन जरुरी रहेको बताएका छन् । उहाँले स्थानीय तह पनि अधिकार सम्पन्न निकाय हो, भन्ने बुझाइ राख्नु पर्नेमा जोडदिएका छन् ।

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले योजनाको कार्यान्वयन पक्षलाई ध्यान दिन जरुरी रहेको र त्यसका लागि जिल्ला स्तरीय संयन्त्र बलियो हुनु पर्ने बताएका छन् । स्वामिकात्र्तिक खापर गाउँपालिकाका अध्यक्ष चिञ्जीवी शाहीले लगानीको अनुगमन गर्ने जिम्मा सम्बन्धीत पालिकाको हुने भएकोले बढी जिम्मेवार जनप्रतिनिधी नै हुनु पर्ने बताएका छन् । कार्यक्रममा हिमाली गाउँपालिकाका उपाध्यक्ष पत्रकार महासंघका अध्यक्ष लगायतले सुझाव मन्तव्य राखेका थिए । 

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको सयुक्त सहकार्यमा आयोजित जिल्ला स्तरीय समीक्षा गोष्ठीको स ञ्चालन प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले गर्नु भएको थियो । जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा सञ्चालन भएको समीक्षा गोष्ठीको प्रमुख अतिथि संघिय सभा सदस्य लालबहादुर थापा र विशिष्ठ अतिथि प्रदेश सभा सदस्य बल्देव रेग्मी रहनु भएको थियो ।

बडिमालिका नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा विषयगत कार्यालय र प्रदेश तथा संघिय सरकारको प्रतिनिधी निकायका प्रमुख प्रतिनिधीले कामको प्रगति विवरण पेश गरेका थिए । अधिकांश कार्यालयको प्रगति निकै कम र काममा पनि ढिला सुस्ती देखिएको छ । कामको गति बढाउनु पर्ने र बाहना देखाएर विकासमा अवरोध गर्न नहुने विषयमा गोष्ठीले निर्णय नै गरेको छ ।



बिहिबार ११, मङि्सर २०७७ ०८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.