प्रविधिमैत्री कृषि खेतीमा जोडिदैं जगन्नाथ

नजिक न्युज संवाददाता    

प्रविधिमैत्री कृषि खेतीमा जोडिदैं जगन्नाथ

बाजुरा: जगन्नाथ गाउँपालिकाले प्रविधी मैत्री कृषि खेती सञ्चालन गरेको छ । किसानलाई खेतीपाती लगाउन सहजताका लागि आधुनिक कृषि मेसिन सहीतको खेतीका लागि पहल सुरु गरेको छ । यान्त्रिक तथा प्रविधी मैत्री खेतीका लागि गाउँपालिकामा हाते ट्याक्टर ल्याएर प्रत्येक वडामा वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन् ।

खेती गर्न सहज र सस्तो हुनुका साथै मानव श्रम कम खर्च हुने हुँदा खेतीका लागि निर्माण भइरहेका प्रविधीलाई भित्र्याउन लागिएको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुरासँगको समन्वयमा जगन्नाथ गाउँपालिकाले कृषि औजार तथा उपकरण वितरण गरिएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन । राज्यले नै कृषिको आधुनिकरण र प्रविधी मैत्री बनाउन नीतिमै जोड दिएकोले त्यसको निरन्तरताका लागि सुरुमा हाते ट्याक्टर वितरण गरिएको हो ।

जिल्लाको तल्लो क्षेत्रमा भने विगत पाँच वर्ष यता हाते ट्याक्टरबाट खेती गर्नेक्रम बढेको छ । गाउँमा किसान समूह र व्यक्तिगत रुपमा पनि हाते ट्याक्टर खरिद गरेर खेती गरिदै आएको छ ।  नेपाल सरकारले पनि नीतिमै कृषि क्षेत्रलाई यान्त्रिकरणमा जोड दिएको छ । 

गाउँपालिकासँगको सहकार्यमा कृषि ज्ञान केन्द्र बाजुराले ५० प्रतिशत अनुदानमा कृषकहरुका लागि कृषि औजार खरिद गरि वितरण गरिएको छ । गाउँपालिकाले गरेको माग र सहकार्यका आधारमा अनुदानमा हाते ट्याक्टर खरिद गरेर दिएको ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

थप ५० प्रतिशत रकम पनि गाउँपालिकाले अनुदान दिएको र वडा कार्यालयसम्को ढुवानी समेत गाउँपालिकाले नै बेहोरेको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । अध्यक्ष शाहीले नै हाते ट्याक्टर ६ वटै वडाका कृषक समुहलाई औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

हाते ट्याक्टर गाउँपुगेपछि एक वडाका एक जना रोजगारी पाउने छन्, भने किसानलाई पनि काम गर्नमा सहज हुने भएको छ । मानव श्रम बचत हुने र काम छिटो छरितो हुने भएको छ । जिल्लामा पछिल्लो समय कृषि औजार भित्र्याउन क्रम बढेको छ ।
 



आइतबार ०७, मङि्सर २०७७ ०७:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.