राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य थापाले भने- उज्यालो बाजुरा अभियानले सार्थकता पायो !

नजिक न्युज संवाददाता    

राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य थापाले भने- उज्यालो बाजुरा अभियानले सार्थकता पायो !

बाजुरा : प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले उज्यालो बाजुरा अभियानले सार्थकता पाउने गरी गतिविधी बढाइएको बताएका छन् । केही प्राविधिक पक्ष र कोरोनाले गति सुस्त देखिएपनि उज्यालो अभियान गाउँ गाउँमा लैजाने नेकपाको प्रयास जारी रहेको बताएका छन् ।

राष्ट्रिय प्रशारण लाइनको बाजुरामा औपचारिक उद्घाटन गर्दै थापाले विद्युतीकरण हुन बाँकी बस्तीमा केन्द्रीय लाइन जडान कार्य थालनी गरिएको बताएका छन् । बुढीगंगा नगरपालिका १, २ र ३ नम्बर वडामा विद्युत बाल्ने कार्यमा केही नेता व्यवसायीका कारणले ढिलाइ भएपनि केन्द्रीय प्रशारण लाइन जडान हुनु ठुलो सफलता भएको बताएका छन् । 

विकास सबैका लागि साझा र आवश्यक विषय भएकोले यसमा पनि राजनीति गर्ने, आस्था र विचारका आधारमा पूर्वाग्रह राख्ने मानसिकताले साविक ब्रह्मतोलामा समस्या देखिए जस्तो भएपनि त्यो सफल नहुने र त्यसको अगुवाई आफूले गर्ने नेकपा केन्द्रीय सदस्य समेत रहेका थापाको भनाई थियो ।

कार्यक्रममा बुढीगंगा नगरपालिकाका उपप्रमुख तारा खाती थापाले विद्युत लाइन सबै बस्तीमा जडान गर्ने गरी नगरपालिकाले नीतिगत रुपमा प्रक्रिया थालनी गरेको बताएकी छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले विद्युत बत्ती बाल्नका लागि मात्र नभइ उद्योग व्यवसाय सञ्चालनका निम्ति उपयोग गर्न सुझाव दिएका छन् ।

वडा अध्यक्ष खडक अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा सचिव भरत बुढाले सिंगो जिल्लालाई नै उज्यालोमय बनाउने अभियानमा वर्तमान सरकार र सिंगो नेकपा पार्टी लागि परेकोले जनताको उज्यालो बाल्ने सपना पुरा गरेरै छोड्ने बताएका छन् ।

नेकपा कार्यालय सदस्य गगन रावलले विकास सबैको साझा सरोकारको विषय भएकोले सबै पक्ष र समुदाय बीच सहकार्य जरुरी रहेको बताएका छन् । उहाँले विकासमा राजनीतिक जस भन्दा जनताको हित सर्वोपरी हुने बताएका छन् ।

कार्यक्रममा नेकपा सचिवालय सदस्य काशी विकले विद्युत प्राधिकरणले काममा गति दिन जरुरी रहेको बताएका छन् । विद्युत जडानका नाममा हुने ढिला सुस्ती रोकिनु पर्ने र लाइन विस्तारले गति लिनु पर्ने सुझाव दिएका छन् ।

नेकपा सचिवालय सदस्य रामबहादुर बाँनीयाले उज्यालो बत्तीका लागि मात्र नभई उद्योग, उत्पादन र समृद्धीका लागि हुनु पर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेसका मंगल सेरालाले सबै बस्तीमा विद्युत जडान गर्न माग गरेका छन् । 

पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहले विद्युत लाइन विस्तार गर्ने व्यक्तिलाई बधाइ सहीत अँध्यरोमा रहेका बस्तीमा लाइन विस्तार गर्न ढिलाइ गर्न नहुने बताएका छन् । कृष्ण अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा सदस्य कल्लाने दमाइले स्वागत मन्तव्य राखेका हुन् ।

बसाली कोट आधारभुत विद्यालयमा आयोजना गरिएको विद्युत लाइन विस्तार तथा ग्रामिण विद्युतीकरण कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता सहीत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । 



शनिबार ०६, मङि्सर २०७७ ०९:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.